भन्सार एजेण्टको परीक्षा नरोक्न माग गर्दै निर्वाचन आयोगमा परीक्षार्थीले दिए धर्ना



काठमाडौं । निर्वाचन आयोगले भन्सार एजेण्टको परीक्षा रोक्न भन्सार विभागलाई निर्देशन दिएपछि परिक्षाको तयारी गरेका व्यक्तिले आयोगमा धर्ना दिएका छन् ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन आचार संहिता लागू भएको भन्दै विभागलाई परीक्षा सञ्चालन नगर्न पत्र पठाइसकेको छ ।

आयोगको निर्देशनले परीक्षा रोकिने भएपछि २०७७ चैतमा भन्सार एजेण्टको परीक्षामा सहभागी हुन भन्दै आवेदन दिएका परीक्षार्थीहरु आयोगको निर्णय बदर गर्न माग गर्दै धर्ना दिएका हुन् ।

विगत १ वर्षदेखि परीक्षाको तयारी गर्दै आएपनि पटक पटक परीक्षा स्थगित हुँदा आफूहरुको भविष्यमा असर परिरहेको बताउँदै आयोगसँग परीक्षा नरोक्न माग गर्दै धर्ना दिन बाध्य भएको भन्सार एजेन्ट परीक्षार्थी संघर्ष समितिका सदस्य चन्द्र थापा मगरले बताए ।

‘पटक–पटक परीक्षा स्थागित हुँदा हामीहरु मारमा परेका छौं, आज पनि आयोगले परीक्षा नगर्न भन्दै विभागलाई पत्र काटेपछि करिब ४० जना आयोगमा उपस्थित भएका छौं,’ उनले भने ।

आयोगले भने विभागले परीक्षा सञ्चालन गर्दा आचासंहिता विपरीत हुने भन्दै परीक्षा रोक्न निर्देशन दिएको थियो । उनले अन्य परीक्षा नरोकिने भन्सार एजेन्टको मात्रै किन रोक्ने भन्दै प्रश्न समेत गरेका छ्न् ।

‘लोकसेवा आयोग सञ्चालन गर्ने परीक्षा आयोगले रोकेको छैन,’ निर्वाचन आयोगका एक अधिकारीले भने, ‘भन्सार विभाग अर्थमन्त्रालय मातहतको निकाय हो । त्यसैले निर्वाचन आचार संहिता अनुसार विभागले परीक्षा सञ्चालन गर्न मिल्दैन् ।’

लोकसेवा संवैधानिक आयोग भएकाले निर्वाचन आयोगले परीक्षा रोक्ने निर्देशन दिन मिल्दैन तर कार्यपालिका मातहतको भन्सार विभागले निर्वाचनको समयमा परीक्षा सञ्चालन गर्दा निष्पक्ष नहुने भएकाले परीक्षा रोक्न निर्देशन दिएको आयोगका एक अधिकारी बताउँछन् ।

यसअघि गत फागुन २८ गते सञ्चालन गर्ने गरी तय भएको परीक्षा उच्च अदालत पाटनले फागुन २६ गते अन्तरिम आदेश जारी गरेपछि रोकिएको थियो । उच्च अदालत पाटनको संयुक्त इजलासले परीक्षा रोक्न अन्तरिम आदेश जारी गर्नु नपर्ने निर्णय गरेपछि भन्सार विभागले बैशाख १७ गते परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

भन्सार विभागले स्थानीय तह निर्वाचन हुने १३ दिनअघि परीक्षा सञ्चालन गर्ने गरी सूचना प्रकाशित गर्नु नै गलत भएको आयोगका अधिकारी बताउँछन् ।

‘निर्वाचनको समयमा सरकारी निकायले कुनै पनि नयाँ काम गर्न पाउँदैन् भन्ने भन्सार विभागले बुझ्नु पर्ने थियाे,’ निर्वाचन आयोगका एक अधिकारीले भने, ‘आयोगले परीक्षा रोक्ने निर्णय गरिसकेकाले अब विभागले निर्वाचनपछि मात्रै सञ्चालन गर्न सक्छ ।’


क्लिकमान्डु