भन्सार एजेन्टको परीक्षा रोक्न नहुने माग गर्दै शुक्रबार विभाग पुगे परीक्षार्थी, डिजीले भेट्न मानेनन्



काठमाडौं । भन्सार एजेन्टको परीक्षा पटक-पटक स्थगित भएपछि आक्रोशित बनेका परीक्षार्थीहर शुक्रबार विहानै भन्सार विभाग पुगेका छन् ।

उनीहरुले निर्धारित समय अर्थात् वैशाख १७ गते नै परीक्षा हुनुपर्ने अडान राखेका छन् । बिहीबार विभाग र निर्वाचन आयोग पुगेर आफ्ना माग राखेका उनीहरु शुक्रबार विहानै विभाग पुगेका हुन् ।

‘भन्सार एजेन्टको परीक्षा फेरि स्थगित भएको समाचार पढेपछि हामी विभाग पुगेका थियौं, विभागमका डिजीले निर्वाचन आयोग जान भन्नु भयो,’ परीक्षार्थी देव श्रेष्ठले भने, ‘निर्वाचन आयोगले विभागले नै पत्र पठाउनु पर्ने बताएपछि शुक्रबार विहानै हामी विभागमा आइपुगेका हौं ।’

उनका अनुसार करिब ४० जना परीक्षार्थीहरु परीक्षाको माग गर्दै विभाग परिसरमा जम्मा भएका छन् । तर डिजीले भने कुरै गर्न नमानेको श्रेष्ठको भनाइ छ ।

‘निर्वाचन आयोगले विभागले पत्र लेखेर परीक्षा गर्छौ भन्नुपर्छ भन्यो, त्यही कुरा गर्न आज विभागमा आएको डिजीले हामीसँग कुरै गर्न मान्नु भएको छैन,’ उनले भने ।

श्रेष्ठका अनुसार अन्य परीक्षा हुने तर भन्सार एजेन्टको परीक्षा मात्रै आचारसंहिताका कारणले रोक्नुपर्ने कारण बुझ्न सकिएन ।

‘हामीलाई यो कारणले परीक्षा हुन सक्दैन भन्नु पर्यो वा परीक्षा हुनुपर्यो,’ उनले भने, ‘पटक पटक परीक्षा स्थगित गर्न पाइँदैन ।’


क्लिकमान्डु