स्वीकृत भएको ५५ मध्ये २ आयोजना निर्माणमा जानु लाजमर्दो भन्दै वाग्लेले गरे मान्छे र कानुन फेर्ने उद्घोष

2.8k
Shares

काठमाडौं । लगानी बोर्डको अनुगमन तथा सहजीकरण समितिको १३ औं बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वैदेशिक लगानी स्वीकृत भएका आयोजनाहरूको प्रगति अत्यन्तै सुस्त रहेको भन्दै कडा असन्तुष्टि व्यक्त गरेका छन् । मंगलबार अर्थ मन्त्रालयमा आयोजित समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री वाग्लेले लगानी बोर्ड जस्तो शक्तिशाली निकाय निरीह देखिनुले गलत सन्देश प्रवाह भएको बताए ।

बैठकमा अर्थमन्त्री वाग्लेले लगानी स्वीकृत भएका ५५ वटा आयोजनामध्ये हालसम्म २ वटा मात्रै निर्माणको चरणमा जानु ‘लाजै मर्दो’ विषय भएको टिप्पणी गरे । ‘विदेशी लगानी स्वीकृत भएको लामो समयसम्म पनि काम सुरु नहुनुका कारणबारे अब निर्मम समीक्षा हुनुपर्छ,’ उनले भने, ‘आयोजना निर्माणमा अवरोध पुर्‍याउने को हो? यदि मान्छे भए मान्छे र कानुन भए कानुन नै फेर्नुपर्ने अवस्था आएको छ ।’

मन्त्री वाग्लेले आयोजनाका समस्याहरू तत्काल पहिचान गरी आगामी १४ औं बैठकसम्ममा ठोस प्रगति नभए सरकारले कडा कदम चाल्ने चेतावनी समेत दिए । उनले तत्काल कम्तीमा १० वटा परियोजनामा देखिने गरी प्रगति हासिल गर्न निर्देशन दिँदै केही ‘फेन्सी’ आयोजनाहरूका बारेमा पुनर्विचार गर्नुपर्ने आवश्यकता औंल्याए ।

सोही अवसरमा प्रधानमन्त्रीका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालले देशको भविष्य बोकेका विकास आयोजनाहरूको अवस्था दयनीय देखिनु चिन्ताको विषय भएको बताए । उनले कुन निकाय वा व्यक्तिका कारण समन्वय हुन नसकेको हो, त्यसको पहिचान गरी तत्काल अनुगमन गरिने र बाधक तत्वहरूलाई सम्बोधन गरिने स्पष्ट पारे ।

बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बोर्डको कार्यक्षेत्र, अधिकार र हाल बोर्डमार्फत सहजीकरण भइरहेका आयोजनाहरूको अवस्थाबारे जानकारी गराए । साथै, उनले समितिको १२ औँ बैठकले गरेका निर्णयहरूको कार्यान्वयनको अवस्थाबारे पनि स्पष्ट पारेका थिए ।

बैठकमा अर्थ मन्त्रालय, लगानी बोर्ड र अन्य सम्बन्धित निकायका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

Skip This