बुध्द एयरले वैशाख २ गतेदेखि भद्रपुर-पोखरा रुटमा हवाई उडान गर्ने



काठमाडौं । बुध्द एयरले आगामी वैशाख २ गतेदेखि भद्रपुर–पोखरा रुटमा हवाई उडान शुरु गर्ने भएको छ । बुध्द एयरले दैनिक सिधा उडान तालिका सार्वजनिक गरेको छ ।

यस रुटका लागि बुध्द एयरले शुरुवाती भाडादर ६ हजार ९ सय रुपैयाँ कायम गरेको छ ।

पोखराबाट भद्रपुर दिउँसो १ः२५ बजे र पोखराबाट दिउँसो ३ बजे उडान हुनेछ ।

यस उडानबाट दुबै प्रदेशका वासिन्दाका साथै सीमापारी सिलिगढी, दार्जिलिङ, सिक्किमबाट पनि पर्यटकहरु भित्रिन सजिलो हुने अपेक्षा गरिएको छ ।

सिमापारिबाट आएका पर्यटकहरु भद्रपुरबाट पोखराको सिधा उडान भर्न सक्नेछन् । भद्रपुर वरिपरि रहेको विभिन्न पर्यटकीय तथा धार्मिक गन्तव्यका साथै इलामका चियावगान, हिमश्रृंखलाहरुको पनि पर्यटकहरुले अवलोकन गर्न सक्नेछन् ।

बुध्द एयरको भगिनी संस्था बुध्द होलिडेजले यी दुवै गन्तव्यका लागि आकर्षक होलिडी प्याकेजहरु पनि ल्याएको छ । भद्रपुर–पोखरा प्याकेजका लागि १५ हजार रुपैयाँमा २ रात ३ दिनको प्याकेज उपलब्ध हुनेछ ।

जसमा दुईतर्फी हवाई टिकट, पोखरा एयरपोर्टबाट होटल तथा होटलबाट पोखरा एयरपोर्ट गाडी सुविधा, वातानुकुलित ट्वीन शेयरिङ रुम र बिहानको ब्रेकफास्ट संलग्न रहेको छ ।

बुध्द एयर काठमाडौं बाहेक पोखरालाई देशको विभिन्न प्रदेशहरुसँग सिधा उडानले जोडेको छ । यसअघि नै पोखरालाई भैरहवा, भरतपुर, नेपालगञ्ज, सिमरा, धनगढी र जनकपुरबाट सिधा उडान विस्तार गरिसकेको छ ।

बुध्द एयरसँग ७२ सिटे एटीआर–७२ जहाज ११ वटा, ४२ सिटे एटीआर–४२ जहाज ३ वटा र दुईवटा बीचक्राफ्ट जहाहरु छन् ।


क्लिकमान्डु