५ अर्बपतिको ७० करोड डुबाएको युटिएलले १५ करोड घरभाडा पनि तिरेन



काठमाडौं । चर्चित ५ नेपाली अर्बपतिको ७० करोड रुपैयाँ डुबाएको युटिएलले घरभाडा समेत नतिरेको तथ्य फेला परेको छ । युटिएलले पुतलीसडकस्थित त्रिवेणी ग्रुपको त्रिवेणी कम्प्लेक्सको भाडा नतिरेको हो ।

युटिएलले ६/७ वर्षखेखि भाडा नतिरेको र साँवाब्याज जोड्दा कम्पनीसँग अहिले घर भाडाबापत १५ करोड रुपैयाँ उठाउन बाँकी रहेको त्रिवेणी ग्रुपका एक सञ्चालकले जानकारी दिए ।

‘हामीले धेरै प्रयास गर्दा पनि युटिएलसँग घरभाडा उठाउन सकेका छैनौं,’ ती सञ्चालकले क्लिकमाण्डूसँग भने, ‘भाडा पछि मिलाउँदै गरौंला अहिले घर खाली गरिदिनुहोस् भन्दा पनि उहाँहरुले मान्नुभएको छैन ।’

युटिएलले भाडामा लिएको स्पेश खाली नगर्दा आफ्ना कम्पनीहरु अन्यत्र ठाउँमा भाडामा राख्नुपरेको त्रिवेणी ग्रुपका अधिकारीहरु बताउँछन् ।

‘युटिएलसँग भाडाबापतको १३ करोडजति सावाँ र २ करोड ब्याज गरेर १५ करोड रुपैयाँ उठाउन बाँकी छ,’ त्रिवेणी ग्रुपका अर्का सञ्चालकले भने, ‘उहाँहरु सम्पर्कमै आउन चाहनुहुन्न ।’

ठूलो कम्पनी भनेर घरभाडा दिँदा अहिले समस्या परेको उनले बताए ।

त्रिवेणी ग्रुप नेपालका ठूला ब्यावसायिक घरानामध्येको एक हो । यो ग्रुपका सञ्चालक रामचन्द्र संघाई निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका एसोसियट उपाध्यक्षसमेत छन् ।

युटिएलमा ८० प्रतिशत भारतीय लगानी र नेपाल भेञ्चरका नाममा २० प्रतिशत सेयर स्वामित्व भएको कागजात बैंकमा ऋण लिनका लागि बुझाइएको छ ।

महतोको व्यक्तिगत ग्यारेन्टीमा ३५ करोड ऋण

युटिएलमा भारतीय कम्पनीहरु टेलिकम्युनिकेसन्स कन्सल्ट्यान्ट इन्डिया लिमिटेड, महानगर टेलिकम लिमिटेड तथा टाटा कम्युनिकसेन लिमिटेडको सेयर थियो भने एनसेलको सेयर बिक्री गरेपछि अर्बपति ब्यवसायी उपेन्द्र महतोले युटिएलमा नेपाल भेञ्चरको २० प्रतिशत सेयर किनेका थिए ।

मेगा बैंकले युटिएललाई दिएको वित्तीय विवरणलाई विश्वास नमानेपछि व्यवसायी उपेन्द्र महतो आफैं युटिएलको ऋण लिन ग्यारेन्टी बसे । बैंक तथा वित्तीय संस्थाले ठूला नाम चलेका व्यवसायी पर्सनल ग्यारेन्टी बसेपछि बैंकको ऋण दिने गर्छन् ।

केही वर्षअघि सानिमा बैंकमा व्यवसायी अजेयराज सुमार्गीलाई ऋण दिनका लागि समेत महतो पर्सनल ग्यारेन्टीका रुपमा बसेका थिए । महतो ग्यारेन्टी बसेपछि मात्रै सुमार्गीले ऋण पाएका थिए । यसले बैंकहरुले उपेन्द्र महतो ग्यारेन्टी बस्दा ठूलो रकमको पैसा सजिलै दिने देखिन्छ ।

मोबाइल सेवाको लाइसेन्स पाए पनि व्यवसाय चलाउन नसकेको युटिएलले मेगा बैंकमा ऋण रहँदासम्म बैंकलाई तिर्नुपर्ने ब्याज भने समयमा तिरेको थियो । महतोको पर्सनल ग्यारेन्टी भने अहिले मेगा बैंकसँग छैन ।

युटिएलको ऋण मेगामा डेढ वर्ष जति थियो, गत वर्षदेखि ऋण ग्लोबलमा स्वाप भयो ।

युटिएल मोबाइल सेवाको लाइसेन्स पाएर पनि चलाउन नसक्ने असफल कम्पनी हो । लाइसेन्स होल्ड गर्ने तथा कम्पनी नचलाउने मोबाइल सेवा प्रदायक कम्पनीमा युटिएल पर्छ ।

युटिएलले सरकारलाई १ अर्ब १५ करोड रोयल्टी तिर्नुपर्ने छ । मोबाइल सेवा चलाउन नसकेको युटिएललाई दुरसञ्चार प्राधिकरणले अप्टिकल फाइबरको ठेक्का समेत दिएको थियो । ४० करोड रुपैयाँ प्राधिकरणबाट लिएको युटिएलले पैसा लिएपनि काम पूरा गरेको छैन ।

युटिएलको लाइसेन्स अहिले नेपाल दूरसञ्चार प्राधिकरणले खारेज गरेको छ । जसविरुद्ध युटिएल अदालत गएको छ । युटिएलले अहिले ८५०, ९०० र १८०० मेगाहर्ज ब्यान्डका फ्रिक्वेन्सी होल्ड गरेको छ ।

नेपालका चर्चित ५ अर्बपतिको ७० करोड फस्यो

५ वर्षअघि युटिएलमा ६० प्रतिशत लगानी गर्न नेपालका ५ वटा ठूला व्यवसायिक घराना तयार भए । भारतीय लगानीमा स्थापना भएको युटिएलले फोरजी लाइसेन्स लिने र लगानीकर्ता थप्ने योजना थियो उनीहरुको ।

युटिएलको योजनामा साथ दिन नेपालका व्यवसायिक घरानाहरु विशाल ग्रुप, ज्योति ग्रुप, आइएमइस ग्रुप र जावलाखेल ग्रुप अफ कम्पनी तयार भएका थिए ।

चार वटा व्यवसायिक घरानालाई लगानी गर्न मनाउने काम गरेका थिए गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले ।

भारतीय लगानी ८० प्रतिशत र नेपालको नेपाल भेञ्चरका नाममा २० प्रतिशत सेयर स्वामित्व भएर युटिएल स्थापना भएको थियो ।

युटिएलमा भारतीय कम्पनीहरु टेलिकम्युनिकेसन्स कन्सल्ट्यान्ट इन्डिया लिमिटेड, महानगर टेलिकम लिमिटेड तथा टाटा कम्युनिकसेन लिमिटेडको सेयर थियो । एनसेलको सेयर बिक्री गरेपछि युटिएलमा उपेन्द्र महतो नेपाल भेञ्चरको सेयर किने २० प्रतिशत स्वामित्वमा भित्रिएका थिए ।

युटिएलमा नेपालका ४ व्यवसायिक घरानाले पैसा लगानी गर्ने बेला महतो समूहको नाममा ५३ प्रतिशत सेयर स्वामित्व थियो भने भारतीय कम्पनीहरुको ४७ प्रतिशत थियो ।

कम्पनी चलाउन सक्ने राम्रो सम्भावना भएपनि युटिएल राम्रोसँग चलेको थिएन । फोरजीको लाइसेन्स पाएमा कम्पनी चलाउन सक्ने सम्भावना थियो ।

महतोले ४ जना व्यवसायिक घरानालाई युटिएल सेयर किन्ने प्रस्ताव गर्नुअघि अन्य ग्रुपसँग कुरा गरेका थिए । जसमा शंकर ग्रुपका शाहिल अग्रवाल, कान्तिपुर मिडिया ग्रुपका कैलाश सिरोहिया, आइएमई ग्रुपका चन्द्र ढकाल तथा प्रभु ग्रुपका देवी भट्टचन थिए ।

महतोको प्र्रस्तावमा शुरुमा उत्साहित भएका शंकर ग्रुपका साहिल अग्रवाल तथा सिरोहिया दुईरचार पटकको बैठकपछि पछाडि हटे । शाहिलले डिलमा रुची नदेखाएपछि सिरोहिया पनि बाहिरिए । त्यसको केही समयपछि आइएमई ग्रुपका ढकालले पनि रुची देखाएनन् ।

त्यसपछि महतोले विशाल ग्रुपका अनुज अग्रवाल, ज्योति ग्रुपका सौरभ ज्योति, आइएमएसका दीपक मलहोत्रा र जावलाखेल ग्रुप अफ कम्पनीका विजय शाहसँग डिल फाइनल गरे ।

महतोसँग नेपाली व्यवसायिक घरानाको भएको सहमतिअनुसार युटिएलमा ६० प्रतिशत ४ वटा व्यवसायिक घरानाको सेयर हुने थियो भने महतो समूहको ४० प्रतिशत सेयर हुने थियो । ४० प्रतिशत हिस्सामा पछि प्रभु ग्रुपका देवी भट्टचन पनि युटिएलको सेयर किन्न सहमत भए । १५ प्रतिशत स्वामित्व आइएमएससँग हुने थियो । ५ प्रतिशत स्वामित्व सौरभ ज्योतिसँग हुने थियो । २० प्रतिशत बिशाल ग्रुप र २० प्रतिशत जावलाखेल ग्रुपसँग हुने सहमति भएको थियो ।

सहमति अनुसार ६६ करोड रुपैयाँ ४ जना व्यवसायिक घरानाका प्रतिनिधिले पैसा हाले भने प्रभु ग्रुपका अध्यक्ष भट्टचनले ५ करोड रुपैयाँ पैसा लगानी गरे ।

२०७४ सालमा एनसेल सेयर खरिदबिक्रीमा भएको लाभकर विवादमा थियो । एनसेल कमजोर भएको अवस्थामा आक्रामक बजार विस्तार गरेर स्थापित हुने उनीहरुको योजना थियो ।

फोरजी लाइसेन्स टेलिकम र एनसेल दुबैले पाउन सकेका थिएनन् । युटिएलको युनिफाइड लाइसेन्स लिएर एकैपटक फोरजीमा सेवा बिस्तार गर्ने सोचका साथ नेपाली व्यवससायिक घरानाले पैसा लगानी गरेका थिए ।

२०७४ सालमा ६६ करोड रुपैयाँ सेयर किन्नका लागि युटिएलको सेयर स्वामित्व रहेको कम्पनी नेपाल भेन्चरमा खातामा पैसा ट्रान्सफर गरेका थिए ।

२०७४ सालमा पैसा ट्रान्सफर गरे पनि सेयर स्वामित्व भारतीय कम्पनीले नेपाली लगानीकर्ताको गरेन । त्यो बेलाको सहमति भारतीय लगानीकर्ता नेपाली लगानीकर्तालाई सेयर बिक्री गरेर बाहिरिने थियो ।

डेढ अर्ब रुपैयाँ पाए भारतीय लगानीकर्ता बाहिरिने अवस्था थियो । तर, युटिएलको सेयर स्वामित्व परिवर्तन भएन । यता एनसेल तथा नेपाल टेलिकमले फोरजीको लाइसेन्स पाए । एनसेलको पनि कर सम्बन्धी विवाद सकिने चरणमा पुग्यो ।

पैसा हालेको डेढ वर्षपछि नेपाली लगानीकर्ताको समूह युटिएलको डिलबाट बाहिरिने निर्णयमा पुग्यो । एनसेल र टेलिकमसँगै फोरजीको लाइसेन्स स्मार्टले पाएपछि चलाउन नसकिने निष्कर्ष नेपाली लगानीकर्ताको थियो ।

सेयर किन्न दिएको पैसा अहिलेसम्म उठेन

नेपाली लगानीकर्ताको समूहको सेयर किन्नका लागि दिएको ६६ करोड अहिलेसम्म उठ्न सकेको छैन । नेपाली कम्पनी नेपाल भेञ्चर प्रालिले अहिलेसम्म पैसा फिर्ता सकेको छैन ।

कर्पोरेट सेक्टरमा नेपाली लगानीकर्ताको पैसा फसेको चर्चा सबैलाई जानकारी छ । रमाइलो के छ भने पैसा फसाएका व्यवसायीहरु कोही पनि यसको बारेमा कुरा गर्न तयार भने छैनन् । युटिएलमा लगानीकर्ता भएर भित्रन खोजेका व्यवसायी दीपक मलहोत्रा आफूहरुले लगानी गरेको र सोअनुसार सेयर नआएको तथा पैसा फिर्ता आउने क्रममा रहेको बताउँछन् ।

औपचारिक तथा अनौपचारिक रुपमा कुरा नगरे पनि व्यवसायीहरु अन्य व्यवसायीहरुसँग भने युटिएलमा लगानी गरेर सेयरधनी बन्न खोज्दा आफूहरु फसेको बताउँछन् ।

युटिएलमा लगानी गर्न खोज्दा नेपाली लगानीकर्ताको पैसा फसे पनि आफ्नो आन्तरिक कारणले व्यवसायीहरु बोल्न खोजेका छैनन् ।

प्रभु ग्रुपका भट्चनले ५ करोड लगानी गरेको कुरा भने अन्य व्यवसायीहरुले धेरैपछि मात्रै थाहा पाए । कुनै समय युटिएलमा लगानीकर्ता भएर भित्रन खोजेका एक व्यवसायी उपेन्द्र महतोले देखाएको सपनाका कारण नेपालका ५ जना व्यवसायिक घरानाले ७० करोड फसाएको बताउँछन् । ब्याजसहित जोड्ने हो भने अर्ब रुपैयाँभन्दा फसेको छ ।

‘महतोजीको प्रस्ताव राम्रो भएपनि डिल फाइनल हुने खालको थिएन, डिलबाट बाहिरिएको कारण म पैसा बचाउन सफल भएपनि अरु साथीहरुको पैसा फस्यो,’ युटिएलमा प्रवेश गर्न खोजेका एक व्यवसायीले क्लिकमाण्डूसँग भने ।


क्लिकमान्डु