युटिएलको सेयर किन्न खोज्दा नेपालका चर्चित ५ अर्बपतिको ७० करोड फस्यो



काठमाडौं । ५ वर्षअघि युटिएलमा ६० प्रतिशत लगानी गर्न नेपालका ५ वटा ठूला व्यवसायिक घराना तयार भए । भारतीय लगानीमा स्थापना भएको युटिएलले फोरजी लाइसेन्स लिने र लगानीकर्ता थप्ने योजना थियो उनीहरुको ।

युटिएलको योजनामा साथ दिन नेपालका व्यवसायिक घरानाहरु विशाल ग्रुप, ज्योति ग्रुप, आइएमइस ग्रुप र जावलाखेल ग्रुप अफ कम्पनी तयार भएका थिए ।

चार वटा व्यवसायिक घरानालाई लगानी गर्न मनाउने काम गरेका थिए गैरआवासीय नेपाली संघ (एनआरएनए)का संस्थापक अध्यक्ष उपेन्द्र महतोले ।

भारतीय लगानी ८० प्रतिशत र नेपालको नेपाल भेञ्चरका नाममा २० प्रतिशत सेयर स्वामित्व भएर युटिएल स्थापना भएको थियो ।

युटिएलमा भारतीय कम्पनीहरु टेलिकम्युनिकेसन्स कन्सल्ट्यान्ट इन्डिया लिमिटेड, महानगर टेलिकम लिमिटेड तथा टाटा कम्युनिकसेन लिमिटेडको सेयर थियो । एनसेलको सेयर बिक्री गरेपछि युटिएलमा उपेन्द्र महतो नेपाल भेञ्चरको सेयर किने २० प्रतिशत स्वामित्वमा भित्रिएका थिए ।

युटिएलमा नेपालका ४ व्यवसायिक घरानाले पैसा लगानी गर्ने बेला महतो समूहको नाममा ५३ प्रतिशत सेयर स्वामित्व थियो भने भारतीय कम्पनीहरुको ४७ प्रतिशत थियो ।

कम्पनी चलाउन सक्ने राम्रो सम्भावना भएपनि युटिएल राम्रोसँग चलेको थिएन । फोरजीको लाइसेन्स पाएमा कम्पनी चलाउन सक्ने सम्भावना थियो ।

महतोले ४ जना व्यवसायिक घरानालाई युटिएल सेयर किन्ने प्रस्ताव गर्नुअघि अन्य ग्रुपसँग कुरा गरेका थिए । जसमा शंकर ग्रुपका शाहिल अग्रवाल, कान्तिपुर मिडिया ग्रुपका कैलाश सिरोहिया, आइएमई ग्रुपका चन्द्र ढकाल तथा प्रभु ग्रुपका देवी भट्टचन थिए ।

महतोको प्र्रस्तावमा शुरुमा उत्साहित भएका शंकर ग्रुपका साहिल अग्रवाल तथा सिरोहिया दुई/चार पटकको बैठकपछि पछाडि हटे । शाहिलले डिलमा रुची नदेखाएपछि सिरोहिया पनि बाहिरिए । त्यसको केही समयपछि आइएमई ग्रुपका ढकालले पनि रुची देखाएनन् ।

त्यसपछि महतोले विशाल ग्रुपका अनुज अग्रवाल, ज्योति ग्रुपका सौरभ ज्योति, आइएमएसका दीपक मलहोत्रा र जावलाखेल ग्रुप अफ कम्पनीका विजय शाहसँग डिल फाइनल गरे ।

महतोसँग नेपाली व्यवसायिक घरानाको भएको सहमतिअनुसार युटिएलमा ६० प्रतिशत ४ वटा व्यवसायिक घरानाको सेयर हुने थियो भने महतो समूहको ४० प्रतिशत सेयर हुने थियो । ४० प्रतिशत हिस्सामा पछि प्रभु ग्रुपका देवी भट्टचन पनि युटिएलको सेयर किन्न सहमत भए ।१५ प्रतिशत स्वामित्व आइएमएससँग हुने थियो । ५ प्रतिशत स्वामित्व सौरभ ज्योतिसँग हुने थियो । २० प्रतिशत बिशाल ग्रुप र २० प्रतिशत जावलाखेल ग्रुपसँग हुने सहमति भएको थियो ।

सहमति अनुसार ६६ करोड रुपैयाँ ४ जना व्यवसायिक घरानाका प्रतिनिधिले पैसा हाले भने प्रभु ग्रुपका अध्यक्ष भट्टचनले ५ करोड रुपैयाँ पैसा लगानी गरे ।

२०७४ सालमा एनसेल सेयर खरिदबिक्रीमा भएको लाभकर विवादमा थियो । एनसेल कमजोर भएको अवस्थामा आक्रामक बजार विस्तार गरेर स्थापित हुने उनीहरुको योजना थियो ।

फोरजी लाइसेन्स टेलिकम र एनसेल दुबैले पाउन सकेका थिएनन् । युटिएलको युनिफाइड लाइसेन्स लिएर एकैपटक फोरजीमा सेवा बिस्तार गर्ने सोचका साथ नेपाली व्यवससायिक घरानाले पैसा लगानी गरेका थिए ।

२०७४ सालमा ६६ करोड रुपैयाँ सेयर किन्नका लागि युटिएलको सेयर स्वामित्व रहेको कम्पनी नेपाल भेन्चरमा खातामा पैसा ट्रान्सफर गरेका थिए ।

२०७४ सालमा पैसा ट्रान्सफर गरे पनि सेयर स्वामित्व भारतीय कम्पनीले नेपाली लगानीकर्ताको गरेन । त्यो बेलाको सहमति भारतीय लगानीकर्ता नेपाली लगानीकर्तालाई सेयर बिक्री गरेर बाहिरिने थियो ।

डेढ अर्ब रुपैयाँ पाए भारतीय लगानीकर्ता बाहिरिने अवस्था थियो । तर, युटिएलको सेयर स्वामित्व परिवर्तन भएन । यता एनसेल तथा नेपाल टेलिकमले फोरजीको लाइसेन्स पाए । एनसेलको पनि कर सम्बन्धी विवाद सकिने चरणमा पुग्यो ।

पैसा हालेको डेढ वर्षपछि नेपाली लगानीकर्ताको समूह युटिएलको डिलबाट बाहिरिने निर्णयमा पुग्यो । एनसेल र टेलिकमसँगै फोरजीको लाइसेन्स स्मार्टले पाएपछि चलाउन नसकिने निष्कर्ष नेपाली लगानीकर्ताको थियो ।

सेयर किन्न दिएको पैसा अहिलेसम्म उठेन

नेपाली लगानीकर्ताको समूहको सेयर किन्नका लागि दिएको ६६ करोड अहिलेसम्म उठ्न सकेको छैन । नेपाली कम्पनी नेपाल भेञ्चर प्रालिले अहिलेसम्म पैसा फिर्ता सकेको छैन ।

कर्पोरेट सेक्टरमा नेपाली लगानीकर्ताको पैसा फसेको चर्चा सबैलाई जानकारी छ । रमाइलो के छ भने पैसा फसाएका व्यवसायीहरु कोही पनि यसको बारेमा कुरा गर्न तयार भने छैनन् । युटिएलमा लगानीकर्ता भएर भित्रन खोजेका व्यवसायी दीपक मलहोत्रा आफूहरुले लगानी गरेको र सोअनुसार सेयर नआएको तथा पैसा फिर्ता आउने क्रममा रहेको बताउँछन् ।

‘युटिएलमा लगानी गरेर टेलिकम व्यवसायमा प्रवेश गर्न खोजेको भएपनि विभिन्न कारणले सम्भव भएन, हामीले लगानी गरेको पैसा फिर्ता आउने क्रममा छ, योभन्दा थप कुरा नगरौं,’ मलहोत्राले क्लिकमाण्डूसँग भने ।

औपचारिक तथा अनौपचारिक रुपमा कुरा नगरे पनि व्यवसायीहरु अन्य व्यवसायीहरुसँग भने युटिएलमा लगानी गरेर सेयरधनी बन्न खोज्दा आफूहरु फसेको बताउँछन् ।

युटिएलमा लगानी गर्न खोज्दा नेपाली लगानीकर्ताको पैसा फसे पनि आफ्नो आन्तरिक कारणले व्यवसायीहरु बोल्न खोजेका छैनन् ।

प्रभु ग्रुपका भट्चनले ५ करोड लगानी गरेको कुरा भने अन्य व्यवसायीहरुले धेरैपछि मात्रै थाहा पाए । कुनै समय युटिएलमा लगानीकर्ता भएर भित्रन खोजेका एक व्यवसायी उपेन्द्र महतोले देखाएको सपनाका कारण नेपालका ५ जना व्यवसायिक घरानाले ७० करोड फसाएको बताउँछन् । ब्याजसहित जोड्ने हो भने अर्ब रुपैयाँभन्दा फसेको छ ।

‘महतोजीको प्रस्ताव राम्रो भएपनि डिल फाइनल हुने खालको थिएन, डिलबाट बाहिरिएको कारण म पैसा बचाउन सफल भएपनि अरु साथीहरुको पैसा फस्यो,’ युटिएलमा प्रवेश गर्न खोजेका एक व्यवसायीले नाम नबताउने सर्तमा क्लिकमाण्डूसँग भने ।

युटिएलको लाइसेन्स अहिले नेपाल दूरसञ्चार प्राधिकरणले खारेज गरेको छ । जसविरुद्ध युटिएल अदालत गएको छ । युटिएलले अहिले ८५०, ९०० र १८०० मेगाहर्ज ब्यान्डका फ्रिक्वेन्सी होल्ड गरेको छ । सरकारको स्पष्ट नीति नभएका कारण चल्न नसक्ने कम्पनीले फ्रिक्वेन्सी होल्ड गर्ने तथा नयाँ कम्पनी आउन नसक्ने स्थिति छ ।

‘टेलिकम बिजनेश धेरै नै रिस्की बिजनेश रहेछ भन्ने बुझियो । तर, अहिले पनि किन टेलिकमको लाइसेन्स लिन साथीरु मरिहत्ते गरिरहनु भएको छ ?’ करोडौं फसाएका ती व्यवसायीले भने ।


आशीष ज्ञवाली