आफैं प्रशिक्षक पाइलट बन्न जुहार्चनले नियम उल्लंघन गर्दै निवेदन दर्ता गरे, अख्तियारमा उजुरी



नेपाल वायुसेवा निगमका अपरेसन डाइरेक्टर दीपु जुहार्चनले आफू प्रशिक्षक पाइलट बन्न विज्ञापनमा तोकिएको मापदण्ड नै निलम्बन गराएका छन् ।

काठमाडौं । २०७७ साल माघ २५ गते नेपाल वायुसेवा निगमको ‘क्रु ट्रेनिङ डिपार्टमेन्ट’ले प्रशिक्षक पाइलट नियुक्त गर्न आन्तरिक विज्ञापन प्रकाशित गर्याे ।

सूचनामा निगमले एयरबस ३२० विमानमा ४ र एयरबस ३३० विमानमा २ प्रशिक्षक पाइटल नियुक्त गर्न लागेकाले निगमको अपरेसन म्यानुअलको पार्ट ‘ए’ र पार्ट ‘डी’ बमोजिम योग्यता पुगेका क्याप्टेनलाई २०७७ फागुन ७ गतेभित्र आवेदन दिन भनिएको थियो ।

न्यूनतम योग्यता तोक्दै प्रकाशित भएको विज्ञापनमा योग्यता नपुगेका व्यक्तिले आवेदन दर्ता गर्न मिल्छ ?

कानूनअनुसार विज्ञापनमा तोकिएको न्यून्तम योग्यता नपुगेका व्यक्तिको आवेदन गर्न मिल्दैन् । तर, नेपाल वायुसेवा निगमका अपरेसन तथा एयरबस ३२० विमानका क्याप्टेन डाइरेक्टर दीपु जुहार्चन र निगमको एयरबस ३२० कै क्याप्टेन सञ्जय ववैद्यको भने न्यूनतम योग्यता नपुगेपनि प्रशिक्षक पाइलट बन्न आवेदन दर्ता भयो ।

आवेदन दर्ता मात्रै होइन, प्रशिक्षक पाइटल बन्नका लागि गोल्वल ट्रेनिङ एभिएसन इण्डोनेशियाबाट उनीहरुले तालिम पनि लिइसेकेका छन् । अब, नेपाल नागरिक उड्डयन प्राधिकरणले लाइसेन्स दिन मात्रै बाँकी छ ।

जुहार्चनले योग्यता नपुगेपनि कानून विपरीत प्रशिक्षक पाइटल बन्न खोजेको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि प्राधिकरणको लाइसेन्स दिने प्रक्रिया रोकिएको छ ।

‘जहार्चनको विषयमा अख्तियारले हामीसँग पनि जवाफ मागेको थियो,’ प्राधिकरण स्रोतले भन्यो ‘हामीले जवाफ दिएका छौं । अख्तियारले क्लिन चिट दियो भने थप प्रक्रिया अगाडि बढ्छ ।’

आफ्नो हात जगन्नाथ
‘विज्ञापन गर्दा निगमको अपरेसन म्यानुअलको पार्ट ‘ए’ र पार्ट ‘डी’ बमोजिम योग्यता पुगेको हुनुपर्ने सर्त राखिएको थियो’ नेपाल वायुसेवा निगमका एक पाइलट भन्छन्, ‘प्रश्न योग्यता नै नपुगेका व्यक्तिको निवेदन कसरी दर्ता भयो भन्ने हो ?’

हुन पनि निगमको अपरेसन म्यानुअलको पार्ट डी ४.२.१ मा कुनै पनि जेट विमानमा प्रशिक्षक पाइटल हुन समग्रमा ६ हजार घण्टा र जेट विमानमै कम्तीमा ४ हजार घण्टा उडान भरेको हुनुपर्ने उल्लेख छ ।

त्यस्तै म्यानुअलको पार्ट ए, च्याप्टर ५ मा कुनै पनि व्यक्तिलाई प्रशिक्षक पाइलटको तालिममा पठाउनु पूर्वप्रशिक्षक पाइटलले मुल्यांकन गर्दै ३० नम्बर दिनुपर्ने उल्लेख छ । यदि प्रशिक्षक पाइटलको मूल्यांकनमा उत्तीर्ण भए मात्रै तालिम गर्न पाइने व्यवस्था म्यानुअलमा छ ।

तर, नेपाल वायुसेवा निगमका अपरेसन डाइरेक्टर दीपु जुहार्चन र सञ्जय वैद्यको हकमा म्यानुलको दुबै व्यवस्था लागू गरिएन् ।

एयरबस ३२० विमानमा क्याप्टेन रहेका जुहार्चन र वैद्यले प्रशिक्षक पाइलट बन्न निगमको अपरेसन म्यानुअल अनुसार मापदण्ड पूरा गरेका छैनन् । तर, म्यानुअलले अपरेसन डाइरेक्टरलाई अपरेसन म्यानुअलको केही प्रावधान निलम्बन गर्ने अधिकारी दिएको दाबी गर्दै जुहार्चनले वैद्यका हकमा म्यानुअलको पार्ट ‘ए’ र पार्ट ‘डि’ को व्यवस्था लागू नहुने निर्णय गरेका छन् । जसले गर्दा वैद्यसँग जेट विमान ४ हजार घण्टा उडाएको अनुभव नहुँदा नहुँदै प्रशिक्षक पाइटल बन्न तालिम गरिसकेका छन् । यस्तै तलिम लिनुपूर्व वैद्यको प्रशिक्षक पाइटलले मूल्यांकन पनि गरेको छैन् ।

आफ्ना विषयमा आफैँ म्यानुअलका व्यवस्था निलम्बन गर्ने निर्णय गर्दा स्वार्थ बाझिएको आरोप लाग्ने हुँदा जुहार्चनले आफ्ना विषयमा सञ्चालक समितिबाट प्रशिक्षक पाइलटको तालिम लिने निर्णय गराएका थिए ।

गत भदौमा नेपाल वायुसेवा निगम सञ्चालक समितिले आफ्नै अपरेसन म्यानुअलमा लेखिएको प्रावधान नजरअन्दाज गर्दै जुहार्चनलाई प्रशिक्षक पाइलटको तालिम लिन पठाउने निर्णय गरेको थियो । उक्त निर्णय गर्दा नेपाल वायुसेवा निगमका कार्यकारी प्रमुख डिमप्रकाश पौडेल थिए ।

जुहार्चनले समग्रमा मात्र ६ हजार घण्टा उडेको भए पनि जेट विमानमा भने ३ हजार ३ सय घण्टा मात्र उडान भरेका छन् ।

यस्तै तालिम लिनु पूर्व प्रशिक्षक पाइटलले मूल्यांकन गर्दै जुहार्चनलाई स्वीकृती पनि दिइएको छैन् । जसले गर्दा उनी निगमको वर्तमान म्यानुअलको व्यवस्था अनुसार प्रशिक्षक पाइलट बन्न योग्य छैनन् ।

कुनै पनि वायुसेवा कम्पनीले आप्mनो अपरेसन म्यानुअस आफैँ तयारी गरी उड्डयन क्षेत्रको नियामक निकायबाट पारित गराउनु पर्छ । नेपालमा पनि नेपाल वायुसेवा निगमले सञ्चालक समितिबाट पारित गरी नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत गराएर सन् २०१४ देखि नयाँ अपरेसन्स म्यानुअल कार्यान्वयनमा ल्याएको छ ।

त्यसैले अपरेसन म्यानुअसको प्रावधान विपरीत हुने गरी सञ्चालक समितिले निर्णय गर्दा उक्त निर्णय प्राधिकरणबाट स्वीकृत गराउने गरिएको छ । तर, जुहार्चन र वैद्यको हकमा अपरेसन म्यानुअल विपरीत निर्णय हुदाँ पनि प्राधिकरणबाट स्वीकृत गराइएको छैन ।

जुहार्चन आफूले नियम अनुसार नै प्रशिक्षक पाइलट बन्न तालिम लिएको दाबी गर्छन् ।

‘हाम्रो नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको नियममा प्रशिक्षक पाइटल बन्न सम्बन्धित विमानमा १०० घण्टा र समग्रमा १ हजार घण्टा उडान गरेको हुनुपर्ने व्यवस्था छ,’ जुहार्चनले क्लिकमाण्डूसँग भने, ‘यस्तै निगमको अपरेसन म्यानुअलले म्यानुअलका तालिम सम्बन्धी व्यवस्था निलम्बन गर्ने अधिकार अपरेसन डाइरेक्टरलाई दिएको छ । उक्त व्यवस्था अनुसार नै सञ्चालक समितिको निर्णयबाट म्यानुअलका केही प्रावधानमा छुट दिएर सञ्चालक समितिले मलाई प्रशिक्षक पाइलटको तालिम लिन पठाएको हो । मैले कानून विपरीत प्रशिक्षक पाइलट बन्न खोजेको भन्न मिल्दैन ।’

जुहार्चनले कानून अनुसार काम भएको दाबी गरेपनि तालिम लिन जुहार्चनले आप्mना लागि म्यानुअलको व्यवस्था निलम्बन गरेका हुन् ।

‘संस्थामा स्वदेशी प्रशिक्षक, पाइटल बढाउने नीति अनुसार नै म्यानुअलको व्यवस्था निलम्बन गरिएको हो ’, उनी भन्छन् ।

‘जुहार्चनका लागि अपरेसन्स म्यानुअलको व्यवस्था निलम्बन गर्नुमा स्वदेशी पाइटल बढाउने तर्क औचित्यपूर्ण छैन’ निगमका एक अधिकारी भन्छन् ,‘ एयरबस ३३० मा क्याप्टेन बन्ने योग्यता पुगेका ६ जना को–पाइलटलाई विभिन्न सर्त राखेर क्याप्टेन बनाइएको छैन । जसले गर्दा विदेशी क्याप्टेन ल्याउन लागिएको छ । त्यस्तै ३३० मा प्रशिक्षक पाइलट बन्ने योग्यता पुगेका व्यक्तिलाई ‘डम्फ’ गरिएको छ । आफ्ना लागि नियम निलम्बन गर्दा देशको आवश्यकता भनिन्छ । यो मिल्ने तर्क होइन् ।’

निगमको म्यानुअलस मात्रै होइन जुहार्चनलाई तालिममा पठाउँदा नेपाल नागरिक उड्डयन प्राधिकरणको फ्लाइट अपरेसन्स रिक्वायरमेन्टको व्यवस्था पनि पालना भएको छैन् ।

फ्लाइट अपरेसन्स रिक्वायरमेन्टको दफा ९ को उपदफा ९.०.१ को खण्ड ३ मा कुनै पनि लाइसेन्स प्राप्त क्याप्टेनलाई प्रशिक्षक पाइलट बनाउँदा मूल्यांकन उडान गर्नुपर्ने व्यवस्था छ । तर, अहिलेसम्म जुहार्चनको मूल्यांकन उडान भएको छैन् ।

जुहार्चनले प्राधिकरणले रिक्वायरमेन्ट उल्लघंन गर्दै प्रशिक्षक पाइलटको लाइसेन्स लिने प्रयास गरिरहेका छन् ।

गत असोज २८ गते इण्डोनेसिबाट तालिम सम्पन्न गरी जुहार्चन नेपाल फर्किएका थिए । त्यसपछि दशैं विदा सक्किए लगत्तै जुहार्चनले प्रशिक्षक पाइटलको लाइसेन्स माग गर्दै प्राधिकरणमा निवेदन दिएका थिए ।

जुहार्चन र वैद्यसँगै रबीन्द्रकुमार शेरचन र नरबहादुर विश्वकर्माले पनि निगमको ३२० विमानको प्रशिक्षक पाइटल बन्न तालिम लिएका छन् ।

रचन र विश्वकर्माले जेट विमानमै ७ हजार ५ हजार घण्टाभन्दा बढी उडान गरेका छन् । हाल निगगको एयरबस ३२० मा सुवास रिजाल मात्रै प्रशिक्षक पाइलट छन् ।

‘अरिबिन्द पहाडी, प्रशान्त राई र मुकेश गुप्ता पनि दीपु बराबर नै उडेका हुन्,’ निगममा एक कर्मचारी भन्छन्, ‘यदि सबैलाई समान अवसर दिएको भए राम्रो नियतले काम गरेका मान्न सकिन्छ । तर, आप्mना लागि नियम निलम्बन गरेर कानूनअनुसार काम गरे भन्न मिल्दैन् ।’


शरद ओझा