भान्साको बजेट बढ्यो, खानेतेलको मूल्य प्रतिलिटर २५० देखि ४०० रुपैयाँसम्म वृद्धि



काठमाडौं । कोरोना महामारीको त्रासदी खेपेको विश्वले यतिबेला महंगीको मार खेपिरहेको छ । अकासिँदो खाद्यान्नको मूल्यका कारण उपभोक्ताको बजेट बढेको छ ।

मागको अनुपातमा उत्पादनमा आएको कमी, पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिलगायतका विविध कारणले मूल्यवृद्धिको ग्राफ उकालो यात्रामा छ ।

संयुक्त राष्ट्र संघको फूड एण्ड एग्रिकल्चर अर्गनाइजेसनले गत नोभेम्बर ४ मा विश्वभर खाद्यान्नको मूल्य पछिल्लो एक दशकमा ३० प्रतिशतले बढेको बताएको छ । त्यसमध्ये पनि खानेतेलको मूल्य कम्तीमा १० प्रतिशतले विश्वभर बढेको अर्गनाइजेसनको भनाइ छ ।

नेपालमा पनि दैनिक उपभोग्य सामग्रीमा भारी मूल्यवृद्धि भएको छ । नेपालमा तरकारीको मूल्य ६ महिनामा २ देखि ३ गुणासम्म बढेको छ । साथै, पेट्रोल, डिजल, मट्टितेल तथा एलपी ग्यासको मूल्यमा पनि वृद्धि भएको छ । यसको असर अन्य खाद्यान्नमा पनि देखिएको छ । खासगरी खाने तेलको मूल्यमा भारी मात्राले मूल्यवृद्धि भएको छ । जसको असर उपभोक्ताको बजेटमा परेको छ ।

६ महिनामा करिब दोब्बरले बढ्यो खाने तेलको मूल्य
नेपालमा खानेतेलको मूल्य पछिल्लो ६ महिनामा करिब दोब्बरले बढाइएको छ । कोरोना महामारीका कारण लागू लकडाउन तथा निषेधाज्ञाका कारण सप्लाइ चेनमा असर गर्दा मूल्य बढेको उद्योगीहरुको भनाइ छ ।

उद्योगीहरूले अन्तर्राष्ट्रिय बजारमै तेलको मूल्यको बढेको भन्दै त्यसको असर नेपालमा पनि परेको दाबी गर्दै आएका छन् ।

हाल नेपालमा बजारमा करिब डेढ दर्जन ब्राण्डमा खाने तेल बिक्री हुँदै आएका छन् । जसमा औषतमा खाने तेलको मूल्य प्रतिलिटर २५० रुपैयाँदेखि ४०० रुपैयाँसम्म मूल्य कायम गरिएको छ ।

बजारमा सनफ्लो, अमृत, फरच्यून, सेफ, धारा, सफोला, हेल्थ धारा, मेइजनलगायत कम्पनीले आफ्नो ब्रान्डअनुसार मूल्य कायम गरेको नेपाल खुद्रा किराना व्यापार संघका महासचिव अमुलकाजी तुलाधारको भनाइ छ ।

उनका अनुसार कम्पनीहरूले बजारमा आफ्नो प्याकेजिङ र ब्राण्डका आधारमा तेलको मूल्य प्रतिलिटर २५० देखि ४०० बढीसम्म मूल्य कायम गरेका छन् ।

करिब ५ महिनाअधिसम्म अधिकांश तेलको मूल्य प्रतिलिटर २ सयदेखि ३५० रुपैयाँसम्म मूल्य कायम भएकोमा अहिले अधिकांश तेल कम्पनीले मूल्य बढाएको उनको भनाइ छ । साथै, बोतलमा बिक्री गर्ने तेलको मूल्य करिब दोब्बरले बढेको तुलाधारले जानकारी दिए ।

उनका अनुसार गत असारसम्ममा प्रतिलिटर २२० रुपैयाँ पर्ने भट्मासको तेल अहिले २६० रुपैयाँ पुगेको छ । साथै, प्रतिलिटर २४० रुपैयाँ पर्ने सन्फ्लावर र तोरीको तेलको मूल्य हाल प्रतिलिटर २७० र २८० रुपैयाँ कायम भएको संघको भनाइ छ ।

कुन तेलको मूल्य कतिले बढ्यो
बजारमा एउटै कम्पनीको तेल विभिन्न प्याकेजिङमा पाइन्छ । त्यसमा कम्पनीले प्याकेजिङमा १ लिटरदेखि ५ लिटरसम्मको तेलको बोतलमा बिक्री गर्दै आएका छन् ।

बजारमा उपलब्धमध्ये बोतलमा सबैभन्दा बढी बिक्री हुने तेल हो मेइजन सनफ्लावर तेल । उक्त तेलको मूल्य ६ महिना अघिसम्म प्रतिबोतल १ लिटरको मूल्य २३५ देखि २५० रुपैयाँ कायम भएको थियो । अहिले सो बोटलको मूल्य प्रतिलिटर डेढ सय रुपैयाँ बढेर करिब ४ सय रुपैयाँ कायम भएको छ ।

उक्त ब्राण्डका तेलका बजारमा बोतलमा बिक्री हुँदै आएको छ । जसमा कम्पनीले १ लिटरदेखि ५ लिटरसम्मको बोटलमा प्याकेजिङ बिक्री गर्दै आएका छन् ।

त्यसैगरी, धारा गोल्ड तोरीको तेलको मूल्य गत असारसम्ममा प्रतिलिटर ३१५ रुपैयाँ कायम भएको मूल्य अहिले ३८० रुपैयाँ कायम भएको छ ।

६ महिनाअघि मरिको सफोला गोल्ड तेलको मूल्य प्रतिलिटर २४० रुपैयाँ थियो । अहिले उक्त मूल्य बढेर ४२० रुपैयाँदेखि ५३० रुपैयाँ मूल्य कायम भएको छ । उक्त ब्राण्डमा विभिन्न प्रकारका तेल उपलब्ध भएकाले सोहीअनुसार तेलको मूल्य ५३० रुपैयाँसम्म कायम गरिएको छ ।

त्यस्तै, फर्च्यून तेलको मूल्य ६ महिना अघिसम्म २६० रुपैयाँ थियो । अहिले बढेर ३९० रुपैयाँ कायम भएको छ । साथै, धारा हेल्थको मूल्य प्रतिलिटर ३१० रुपैयाँ रहेकोमा अहिले ३२५ रुपैयाँ मूल्य कायम भएको छ ।

साथै, अन्य कम्पनीको जस्तै अमृत, बाबा, सनफ्लो, सेफ, रामदेवलगायत अन्य कम्पनीको प्रतिलिटर २ सयदेखि २५० रुपैयाँ रहेकोमा अहिले मूल्यवृद्धि भई ३ सय रुपैयाँसम्म मूल्य कायम भएको छ ।

यता उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष मावध तिलम्सिनाले सरकारले प्रभावकारी अनुगमन गर्न नसक्दा तेलको मूल्यमा उपभोक्ताहरू ठगिन बाध्य भएको आरोप लगाए ।

‘तेलको मूल्य अप्रत्याशित रुपमा बढ्दै गएपछि उपभोक्ताकर्मीहरूले अनुमगन गरी कारबाहीको माग गर्न बारम्बार विभागलाई पत्रचार गरेका थियौं तर विभागले ध्यान नै दिएन,’ उनले भने ।

सरकार उपभोक्ताप्रति गैरजिम्मेवार हुुँदा आज तेलको मूल्य दोब्बरमा खरिद गरेर खानुपर्ने बाध्यता सिर्जना भएको उनको भनाइ छ ।


अरिष्मा मोक्तान