छोइनसक्नु भो तरकारीको मूल्य, भान्साको बजेट कम्तीमा ६ हजारले बढ्यो



काठमाडौं । तीन महिनाअघि चार जनाको परिवार दैनिक २ देखि ३ सय रुपैयाँ तरकारीमा खर्च गरे पुग्थ्यो भने अहिले त्यो रकम बढेर ४ सयदेखि ५ सय रुपैयाँ पुगेको छ ।

अर्थात् यदि उक्त परिवारले मासिकरुपमा तरकारीमा मात्रै ६ हजारदेखि ९ हजार रुपैयाँ खर्च गर्दथ्यो भने अहिले त्यो मूल्य बढेर १२ हजार रुपैयाँदेखि १५ हजार रुपैयाँ पुगेको छ ।

यसको सोझो अर्थ के हो भने तपाईंले भान्साका लागि छुट्याउने बजेट कम्तीमा ६ हजार रुपैयाँ बढेको छ ।

कालिमाटी तरकारी बजार समितिका अनुसार तीन महिनामा मात्रै अधिकांश तरकारीको मूल्य दोब्बरले बढेको हो ।

समितिका सूचना अधिकारी विनय श्रेष्ठले वर्षाको समयमा उत्पादन कम हुने र बाढी पहिरोले गर्दा ढुवानी सहज नहुँदा तरकारीको मूल्य बढेको बताए । वर्षाका कारण गर्दा साउन, भदौदेखि तरकारीको भाउ निरन्तर बढ्दै गएको छ । तर हिउँद लाग्दा पनि घट्न भने सकेको छैन ।

‘वर्षा सकिने वित्तिकै बिस्तारै मूल्य घट्ने समितिको अनुमान थियो । तर, वर्षा सकेर हिँउद लाग्दा समेत तरकारीको मूल्य घट्न सकेको छैन । उल्टै दिन प्रतिदिन बढ्दै गएको छ,’ श्रेष्ठले भने ।

सामान्यतया भान्सामा दैनिक जसो खपत हुने आलु, प्याज, गोलभेडालगायतका तरकारीको मूल्य अत्यधिक बढेको छ । गोलभेडा मूल्य त तीन महिनामा तेब्बर भएको छ ।

उपत्यकालगायत अन्य सीमित जिल्लामा मात्रै उत्पादन भएको तरकारी मात्रै उपत्यकामा आइरहेको छ । साथै, भारतबाट आयात नभएको र तराईबाट पनि आयात हुन नसक्दा मूल्य बढेको उनको दाबी छ । त्यसैगरी, तराईको गोलभेडा आउन थालेपछि मूल्य घट्ने उनको दाबी छ ।

‘अहिले उपत्यका वरिपरी रहेका जिल्लामा उत्पादन भएको तरकारी आइरहेको छ । माग बढ्दो क्रममा छ । तर आपूर्ति सीमित छ,’ उनले भने, ‘जसकारण तरकारीको भाउ महंगिएको छ ।’

कुन तरकारीको मूल्य कतिले बढ्यो
३ महिनाको अवधिमा तरकारीको भाउ हेर्ने हो भने अधिकांशको भाउ बढेको छ भने सीमित तरकारीहरुको मूल्य सामान्य घटेको देखिन्छ ।
गत भदौ ७ गते औसतमा प्रतिकेजी ५३ रुपैयाँमा पाइने रातो आलु अहिले ५७ रुपैयाँ पुगेको छ । भारतीय रातो आलु २९ रुपैयाँबाट बढेर प्रतिकेजी ३१ रुपैयाँ र सेतो आलु ४० रुपैयाँबाट बढेर प्रतिकेजी आलु अहिले ४७ रुपैयाँ पुगेको छ ।

भान्सामा धेरै खपत हुने गोलभेडा पनि हो । गत भदौमा प्रतिकेजी ५५ रुपैयाँ रहेको ठूलो गोलभेडाको मूल्य अहिले बढेर १३५ रुपैयाँ पुगेको छ भने प्रतिकेजी १९ रुपैयाँ पर्ने टनेलको गोलभेडाको मूल्य बढेर अहिले १०५ रुपैयाँ र प्रतिकेजी १४ रुपैयाँ मूल्य रहेको लोकल सानो गोलभेडाको मूल्य अहिले ९० रुपैयाँ पुगेको छ ।

गत भदौमा ५५ रुपैयाँ रहेको लोकल घिउ सिमी र हाइब्रिड घिउसिमीको मूल्य बढेर अहिले ११० रुपैयाँ र १०५ रुपैयाँ तोकिएको छ ।

त्यस्तै, २२ रुपैयाँ रहेको घिरौलाको मूल्य अहिले ८५ रुपैयाँ, १९ रुपैयाँ रहेको चिचिण्डो ५५ रुपैयाँ, २२ रुपैयाँ रहेको तितो करेला १०५ रुपैयाँ पुगेको छ । साथै, ४६ रुपैयाँ रहेको भारतीय प्याजको मूल्य ५१ रुपैयाँ, ३५ रुपैयाँ रहेको तने बोडीको मूल्य ७५ रुपैयाँ, ३५ रुपैयाँ रहेको डल्लो भन्टाको अहिले ५५ रुपैयाँ र भदौमा भन्दा लाम्चो र भिण्डीको प्रतिकेजी २५ रुपैयाँ रहेकामा अहिले ५५ रुपैयाँ र ९५ रुपैयाँ मूल्य कायम भएको छ ।

त्यसैगरी, ३५ रुपैयाँ रहेको रातो मुला अहिले ५५ रुपैयाँ, १७ रुपैयाँ रहेको सेतो मूला अहिले ३५ रुपैयाँ, सुकेको चाइनिज लसुन २०५ रहेकोमा अहिले २२५ रुपैयाँ, १५५ रुपैयाँ रहेको सुकेको नेपाली लसुन अहिले १८५ रुपैयाँ र २२ रुपैयाँ रहेको लौकाको मूल्य ४५ रुपैयाँ पुगेको छ । साथै भदौमा औसम मूल्य प्रति केजी १ हजार ५० रुपैयाँ रहेको कुरिलो अहिले २६ सय ५० रुपैयाँ पुगेको छ ।

फलफूलको मूल्य पनि बढ्यो
तरकारीको मात्रै नभएर फलफूलको मूल्य पनि अत्यधिक बढेको छ । गत भदौ ७ गते २३५ रहेको फूजी स्याउ अहिले २९० रुपैयाँ पुगेको छ भने ७५ रुपैयाँ पर्ने एक केजी मेवाको मूल्य ८५ रुपैयाँ पुगेको छ । साथै, १३५ रुपैयाँ पर्ने मौसम अहिले १४५ रुपैयाँ र २२५ रुपैयाँ रहेको चाइनिज नासपाति अहिले २३५ रुपैयाँ पुगेको छ ।


क्लिकमान्डु