किन हुन्छ हवाई जहाज डिले ?



समयक्रम अनुसार देशमा राजनीतिक परिवर्तन धेरै भए । राज्यका शक्तिहरु विकेन्द्रिकृत भए । नयाँ–नयाँ संरचनाहरु थपिए । तर भएका पूर्वाधारहरुको स्तरोन्नती गरिएन । यसैको उदाहरण हो, देशको एकमात्र अन्तर्राष्ट्रिय ‘त्रिभुवन विमानस्थल’ । यो विमानस्थल सञ्चालनमा आएको करिब ८० वर्ष भइसकेको छ । तर पूर्वाधारको कमी अझैपनि छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको बेला मुलुकको जनसंख्या लाखमा सीमित थियो । महिनामा केही उडान मात्रै हुन्थे ।

समयक्रम बदलियो जनसंख्या करिब तीन करोड पुग्यो । समय परिवर्तन भए । तर खासै परिवर्तन भएन त्रिभुवन विमानस्थल ।

हुस्सु र कुहिरोका कारण कुन विमानस्थल कतिखेर खुल्ने अनिश्चित हुने हुँदा उडान क्रमशः ढिला हुँदै जानु स्वभाविक र स्वीकार गर्नैपर्ने अवस्था छ ।

त्रिभुवन विमानस्थलको समयसापेक्ष अनुसार जे जति पूर्वाधार परिवर्तन वा विकास गरिनुपथ्र्यो, त्यो भएन । राष्ट्रको अर्थतन्त्र, जनसंख्या एवं आवश्यकताको विकास हुन थालेपछि कैयौं गुणा बढी दैनिक उडानहरु सञ्चालनमा आएका छन् । अन्तर्राष्ट्रियका साथै आन्तरिक वायुसेवाको बिस्तार पनि त्यत्तिनै बढेको छ ।

करोनो कालको १६ महिने बन्दाबन्दीमा ८ महिना जत्ति उडान सेवा स्थगितनै भए । तर त्यसपछि यात्रुको आउजाउ भने उत्साहजजकरुपमा बढेको छ । कारण वायुसेवाहरुको संक्रमणरहित उडानको प्रतिवद्धता र त्यसै अनुसारको उडान सेवा । मास्कको अनिवार्य प्रयोग, जहाजको सेनिटाइजेशन आदिइत्यादिले पनि अनिवार्यताका साथ लागू गरिएको छ ।

आन्तरिक उडानमा अहिले उडान र अवतरण गरी दैनिक ३०० वटा भइरहेको छ । विदेशी पाहुना आउने क्रम बढेपछि उडान संख्या अझ थपिनेनै छ र त्यसैअनुसार यात्रुको संख्या पनि ।

यदि हामीले मौसमको कारण सम्बन्धित उडान ढिलो हुने अवस्थालाई मध्यनजर गरेर उडान संख्या घटायौं भने निश्चितरुपले नै हवाई भाडा बढ्नेछ, जुनखुला बजारको आवश्यकता र पूर्तिको सिद्दान्त अनुसार हो ।

हरेक वर्ष मंसिरदेखि फागुनको दोस्रो सातासम्म हुस्सु कुहिरो लाग्छ । तराईमा अझ साता, दुई सातासम्म शित लहरको आक्रान्तनै चल्छ । यो समय बडो कष्टप्रद हुन्छन् । चोक चोकमा आगो ताप्न धुनी लगाइएका हुन्छन् ।

जाडो याममा विमानस्थलहरु के कतिबेला खुल्ने हो यकिनका साथ भन्नै सकिदैन । बिहान हुनुपर्ने उडानहरु मध्यदिन वा १ बजेपछि मात्र सञ्चालनमा आउने अवस्था हुन आउँछ । तर यस्तो अवस्था कुन–कुन दिन हुन्छ भन्ने ठोकुवाका साथ यकिन गर्न सकिदैन । कुनै दिन बिहान सबेरै सबै विमानस्थलहरु सञ्चालनमा आइसक्छन् भने कुनै दिन विमानस्थल खुल्न दिउँसो भइसक्छ ।

वायुसेवाले जति धेरै सिट सिर्जना गरेको छ त्यतिनै सस्तो दरका टिकट उपलब्ध हुन्छन् । सिट संख्याको वृद्धि अनुसार हवाई उडान सञ्चालन खर्चको लागत पनि घट्छ । त्यही सिद्दान्त अनुरुप बुध्द एयरले हाल वार्षिक ३०औं लाख सिट सिर्जना गरिरहेको छ । अर्को वर्षको मध्यसम्ममा यो संख्या ४० लाखको हाराहारीमा पुग्नेछ । बुध्द एयरले यसका लागि अर्को ४ जहाज ल्याउने प्रक्रिया शुरु गरिसकेको छ ।

२५ वर्षको तुलनामा नेपालको आन्तरिक वायुसेवाको भाडा सबैभन्दा न्यून छ । यदि हामीले मौसमको कारण सम्बन्धित उडान ढिलो हुने अवस्थालाई मध्यनजर गरेर उडान संख्या घटायौं भने निश्चितरुपले नै हवाई भाडा बढ्नेछ, जुनखुला बजारको आवश्यकता र पूर्तिको सिद्दान्त अनुसार हो ।

पहिले एउटै जहाजबाट ७ वटा आवतजावतका उडान हुन्थ्यो र सबै समयमै उड्थे । तर अहिले परिस्थिति फेरिएको छ । एउटा जहाजलाई जम्माजम्मी ४ उडान राखिएको छ तर पनि समयमा उडान भर्न मुस्किल छ । कारणहरु माथि भनिएझैं मौसमको गडबढी, बढ्दो हवाई ट्राफिक र अपुग पूर्वाधारनै हुन् ।

त्यसैकारण उडानहरु केही ढिलो भए पनि सस्तो भाडामा धेरैभन्दा धेरै नेपाली यात्रुहरुलाई आफ्नो गन्तव्यमा अलि ढिलै भएपनि पुर्याउने जमर्को गरेका छौं ।

राष्ट्रिय राजमार्गमा निर्माणका काम भइरहेका छन् । कतै जारी छ, कतै अलपत्र पारिएको छ । यस्तो विषम् परिस्थितिमा पनि हामी एक्लैले दैनिक करिब ९ हजार नेपाली यात्रुहरुलाई गन्तव्यसम्म पुर्याइ रहेका छौं ।

यो पक्कै पनि व्यसायिकताभन्दा पनि आमजनको आवश्यकता ठानेका छौं । मौसमको कारणले कुनै दिन उडान १–२ घण्टा ढिलो भएको खण्डमा पनि यति धेरै यात्रुहरुलाई सुलभ भाडा दरमा गन्तव्य पुर्याउनु नै उचित हो ।

(बस्नेत बुध्द एयरका प्रबन्ध निर्देशक हुन्)