सातामा १३९ अंकले घट्यो सेयर बजार, उपसूचकमा कस्तो छ असर ?



काठमाडौं । यो साता सेयर बजारमा तीन दिन मात्रै कारोबार भएको छ । तीन दिनको अवधिमा सेयर बजार १३९.३६ अंकले घटेको छ । याे साता इन्डेक्सका साथै विभिन्न समूहकाे उपसूचकमा समेत गिरावट देखिएकाे छ ।

सोमबार २८२९.६५ अंकमा रहेको बजार मंगलबार ७९.७९ अंकले घटेको थियो । बजार एकै दिन ७९.७९ अंकले घटेर २७४९.८६ बिन्दुमा रोकिएको थियो ।

यस्तै सेयर कारोबारका लागि अन्तिम दिन बिहीबार बजार ५९.५७ अंकले घटेको छ । बजार ५९.५७ अंकले घटेर २६९०.२९ बिन्दुमा रोकिएको छ ।

यो साता बजारमा इन्डेक्स मात्रै घटेन । कम्पनीहरुको परिसूचकमा पनि गिरावट देखिएको छ । बैंकिङ समूहको उपसूचक यो साता ६५.०२ अंकले घटेर १८१८.१६ बिन्दुमा रोकिएको छ । साताको पहिलो कारोबारमा १८८३.१८ बिन्दुमा रहेको थियो ।

यस्तै जलविद्युत समूहको उपसूचक पनि ३१७३.१० बिन्दुबाट १७२.२९ अंकले घटेर ३०००.८१ बिन्दुमा रोकिएको छ । यस्तै विकास बैंक समूहको उपसूचक ५६८४.१६ अंक रहेकोमा साताको कारोबारमा ४९१.४२ अंकले घटेर ५१९२.७४ बिन्दुमा रोकिएको छ ।

यो साताको कारोबारमा निर्जीबन बीमा समूहको उपसूचक पनि ७५८.२३ अंकले घटेर १२ हजार ९६३.३२ अंकबाट १२ हजार २०५.०९ बिन्दुमा रहेको छ । जीवन बीमा समूहको उपसूचक १५ हजार ८१०.४२ बिन्दुमा रहेकोमा साताको कारोबारमा ६६६.२७ अंकले घटेर १५ हजार ११४.१९ बिन्दुमा रोकिएको छ । यस्तै माइक्रोफाइनान्स समूहको उपसूचक पनि २७१.४७ अंकले घटेर ५२४८.८३ बिन्दुमा रहेको छ ।


क्लिकमान्डु