५ विकास बैंकले कति दिए लाभांश ?



काठमाडौं । सञ्चालनमा रहेका वाणिज्य बैंकमध्ये तिहारअघि नै आधाभन्दा बढी बैंकले लगानीकर्तालाई लाभांश घोषणा गरिसकेका छन् । यता विकास बैंकतर्फ भने ५ वटाले मात्रै सेयरधनीका लागि लाभांश घोषणा गरेका छन् ।

अहिलेसम्म साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, लुम्बिनी विकास बैंक, कामना सेवा विकास बैंक र साग्रिला डेभलपमेन्ट र्बैंकले लाभांश घोषणा गरेका छन् ।

लाभांश घोषणा गरेका विकास बैंकमा सबैभन्दा बढी कामना सेवा विकास बैंकले लाभांश दिने भएको छ । बैंकले सेयरधनीहरुलाई १९.४७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस १८.५० र नगद करसहित ०.९७ प्रतिशत रहेको छ ।

यस्तै मुक्तिनाथ विकास बैंकले १८.५१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस १७.५८ र नगद ०.९३ प्रतिशत रहेको छ । लुम्बिनी विकास बैंकले सेयरधनीहरुलाई १३.७१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेकोमा बोनस १० प्रतिशत रहेको छ भने नगद ३.७१ प्रतिशत रहेको छ ।

यस्तै साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लगानीकर्ताले ११.५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेकोमा १०.९५ प्रतिशत बोनस सेयर र ०.५७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

अहिलेसम्म लाभांश घोषणा गरेका विकास बैंकमध्ये सबैभन्दा कम सांग्रिला डेभलपमेन्ट र्बैंकको रहेको छ । बेंकले १० प्रतिशत बोनस र ०.५३ प्रतिशत नगदसहित १०.५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

लाभांश घोषणा गरेका बैंकमध्ये सांग्रिला डेभलपमेन्ट बैंकको साधारणसभा सकिएको छ । बैंकको कात्तिक १६ गते सभा सम्पन्न भइसकेको छ । उक्त सभाले लाभांश पनि पारित गरिसकेको छ ।

कामना सेवाले कात्तिक २३ गते (भोलि मंगलबार)का लागि १५औं साधारणसभा बोलाएको छ । पार्क भिलेज रिसोर्ट बुढानिलकण्ठमा बैंकको सभा हुनेछ । उक्त सभाले प्रस्ताव गरेको लाभांश पारित भएपछि लगानीकर्ताले पाउनेछन् । अन्य बैंकले भने बुक क्लोजको मिति तय गरेका छैनन् ।


क्लिकमान्डु