बीमा कम्पनीको लगानी ४०६ अर्ब, प्राथमिकता प्राप्त क्षेत्रमा ०.९५%, बैंकको मुद्दतिमा ८१.१५ प्रतिशत



काठमाडौं । बीमा कम्पनीहरुले लगानी निर्देशिका विपरीत लगानी गरेका छन् । नियामक बीमा समितिले ल्याएको ‘बीमकको लगानी निर्देशिका २०७५’ मा उल्लेख गरिएका क्षेत्रमा तोकिएको सीमाको विपरित गएर कम्पनीहरुले लगानी गरेका हुन् ।

समितिद्वारा उपलब्ध तथ्यांकअनुसार सञ्चालनमा रहेको ३९ वटा बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा ४ खर्ब ६ अर्ब ७६ करोड रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेका छन् । जसमध्ये जीवन बीमा कम्पनीहरुले ३ खर्ब ४३ अर्ब ३७ करोड रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुले ६३ अर्ब ३९ करोड ९४ लाख रुपैयाँ लगानी गरेका हुन् ।

समितिले कम्पनीहरुलाई लगानीको दायरा फराकिलो बनाईदिँदै ‘लगानी निर्देशिका २०७५’ जारी गरी सकेको गरेको छ । यो निर्देशिका जारी गर्नुअघि बीमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा मात्र लगानी गर्न पाइरहेका थिए ।

लगानी निर्देशिका जारी भएपछि बीमा कम्पनीहरुले समितिले तोकिदिएको दायरामा रहेर कृषि, पर्यटन, जलस्रोत, घरजग्गा, पूर्वाधार, नागरिक लगानी कोष तथा म्यूचुअल फण्डमा पनि लगानी गर्न सक्ने व्यवस्था समितिले गरेको हो । लगानी निर्देशिका जारी गर्दै समितिले प्राथमिकता प्राप्त क्षेत्रहरु कृषि, पर्यटन, जलस्रोत र पुर्वाधारमा तोकिएको दायरासम्मै लगानी गर्न भनेको छ ।

तर, समितिले लगानीको दायरा फराकिलो बनाएर प्राथमिकता प्राप्त क्षेत्रलाई फोकस गर्न भनेपनि कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा मात्र बढी लगानी गर्ने तथ्यांकले देखाएको छ ।

सो अवधिमा बीमा कम्पनीहरुले गरेको कुल लगानीमा बैंक तथा वित्त कम्पनीहरुको मुद्दति निक्षेपको हिस्सा ८१.१५ प्रतिशत छ भने प्राथमिकता प्राप्त क्षेत्रमा गरिएको लगानीको हिस्सा ०.९५ प्रतिशत मात्र छ ।

बीमा कम्पनीहरुले गत आवमा ३ खर्ब ३० अर्ब ९ करोड ७२ लाख रुपैयाँ बैंक तथा वित्त कम्पनीहरुको मुद्दति निक्षेपमा मात्र लगानी गरेका गर्दा प्राथमिकता प्राप्त क्षेत्रमा ३ अर्ब ८६ करोड ८६ लाख रुपैयाँमात्र लगानी गरेका हुन् ।

समितिद्वारा उपलब्ध तथ्यांकअनुसार गत आवमा बीमा कम्पनीहरुले गरेको कुल लगानीमा सबैभन्दा बढी वाणिज्य बैंकहरुको मुद्दति निक्षेपमा रहेको छ ।

कुल लगानीको ७१.०६ प्रतिशत वाणिज्य बैंकहरुको मुद्दतिमा, विकास बैंकहरुको मुद्दतिमा ९.१५ प्रतिशत र वित्त कम्पनीहरुको मुद्दतिमा ०.९३ प्रतिशत लगानीको हिस्सा छ ।

सो अवधिमा गरिएको कुल लगानीमध्ये बीमा कम्पनीहरुले कृषि, पर्यटन, जलस्रोत लगायत पूर्वाधारका क्षेत्रमा ०.९५ प्रतिशत मात्र लगानीको हिस्सा छ ।

साथै, कुल लगानीमध्ये नागरिक लगानी कोष तथा म्यूचुअल फण्डमा ०.३४ प्रतिशत, घरजग्गामा ०.१० प्रतिशत, सुचिकृत कम्पनीको साधारण सेयरमा ३.५५ प्रतिशत, बैंक तथा वित्त कम्पनीको अग्रधिकार सेयरमा र ऋणपत्रमा ५.०५ प्रतिशत र अन्य क्षेत्रमा २.४८ प्रतिशत लगानीको हिस्सा रहेको छ ।

यसरी हेर्दा बीमा कम्पनीहरुले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको मुद्दति निक्षेपलाई नै आफ्नो लगानीको प्रमुख क्षेत्र बनाएका छन् ।

तर, सरकारले नै प्राथमिकता प्राप्त क्षेत्र भनेर वर्गिकरण गरेको कृषि, पर्यटन, जलस्रोतमा भने तोकिएभन्दा कम अर्थात् नगन्य लगानी कम्पनीहरुले सो अवधिमा गरेका छन् ।

लगानी निर्देशिकामा के छ ?

लगानी निर्देशिका अनुसार घरजग्गा व्यवसायमा कुल टेक्निकल रिजर्भको ५ प्रतिशतसम्म, वाणिज्य बैंक मुद्दतिमा ४० प्रतिशत, विकास बैंकको मुद्दति निक्षेपमा २० प्रतिशत र वित्त कम्पनीको मुद्दति निक्षेपमा १० प्रतिशत लगानी गर्न पाउँछन् ।
साथै, राष्ट्र बैंकबाट अनुमति पाएका ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तको अग्राधिकार सेयरमा कुल टेक्निकल रिजर्भको २० प्रतिशत लागनी गर्न पाउछन् ।

सो लगानी निर्देशिका अनुसार बीमा कम्पनीहरुले कुल टेक्निकल रिजर्भको २० प्रतिशत डिबेञ्चरमा, २० प्रतिशत कृषि, पर्यटन र जलस्रोत वा ऋणपत्रमा, सुचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा १० प्रतिशत र ५ प्रतिशत नागरिक लगानी कोष र म्यूचुअल फण्डमा लगानी गर्न पाउने व्यवस्था गरेको छ ।

यसरी कम्पनीहरुले बीमा समितिले तोकेको लगानीको सीमाअनुसार प्राथमिकता प्राप्त क्षेत्रमा लगानी नपुर्याउनेलाई अन्य क्षेत्रमा लगानी गर्न नदिने तयारी समितिले थालेको छ ।

बीमा कम्पनीहरुले लगानी निर्देशिका अनुसार लगानी नगरेपछि केही समयअघि समितिका अध्यक्ष सुर्यप्रसाद शिलवालले सोमा कडाई गरेका छन् । उनले कम्पनीलाई पत्राचार गर्दै तोकिएको प्राथमिकता प्राप्त क्षेत्रमा निर्देशिकामा उल्लेख गरे बमोजिम लगानी नगरेसम्म अन्य क्षेत्रमा लगानीको स्वीकृति नदिने निर्णय गरेका हुन् ।

गत वर्ष नै कम्पनीहरुले लगानी निर्देशिका अनुसार लगानी नगरेपछि समितिका अध्यक्ष सुर्यप्रसाद शिलवालले कम्पनीलाई पत्राचार गर्दै तोकिएको प्राथमिकता प्राप्त क्षेत्रमा निर्देशिकामा उल्लेख गरे बमोजिम लगानी नगरेसम्म अन्य क्षेत्रमा लगानीको स्वीकृति नदिने निर्णय गरेका थिए । जसको कार्यान्यवन समितिले चालु आवको पहिलो त्रैमासदेखि गर्न लागेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

कुन क्षेत्रमा कति लगानी ?

कम्पनीहरुले गत आवमा कृषि, पर्यटन, जलस्रोत, लगायत पूर्वाधारका क्षेत्रमा ३ अर्ब ८६ करोड ८६ लाख रुपैयाँ लागनी गरेका छन् । जसमा निर्जीवन बीमा कम्पनीहरुले ७७ करोड ४ लाख रुपैयाँ र जीवन बीमा कम्पनीहरुले ३ अर्ब ९ करोड ८१ लाख रुपैयाँ सो क्षेत्रमा गत आवमा लगानी गरेका हुन् ।

गत आवको असार मसान्तसम्म बीमा कम्पनीहरुले वाणिज्य बैंकको मुद्दति निक्षेपमा २ खर्ब ८९ अर्ब ६ करोड ६४ लाख रुपैयाँ लगानी गरेका छन् । जसमध्ये निर्जीवन बीमा कम्पनीहरुले ४५ अर्ब ५१ करोड १२ लाख रुपैयाँ र जीवन बीमा कम्पनीहरुले २ खर्ब ४३ अर्ब ५५ करोड ५२ लाख रुपैयाँ लगानी सो शिर्षकमा गरेका हुन् ।

सो अवधिमा विकास बैंकहरुको मुद्दति निक्षेपमा ३७ अर्ब २२ करोड १० लाख रुपैयाँ लगानी गरेका छन् । जसमध्ये निर्जीवन बीमा कम्पनीहरुले ५ अर्ब ३५ करोड ४८ लाख रुपैयाँ र जीवन बीमा कम्पनीहरुले ३१ अर्ब ८६ करोड ६२ लाख रुपैयाँ लगानी गरेका छन् ।

साथै, वित्त कम्पनीहरुको मुद्दति निक्षेपमा बीमाकम्पनीहरुले ३ अर्ब ८० करोड ९७ लाख रुपैयाँ लगानी गरेका छन् । जसमध्ये ६७ करोड २७ लाख रुपैयाँ निर्जीवन बीमा कम्पनीले र ३ अर्ब १३ करोड ७० लाख रुपैयाँ जीवन बीमा कम्पनीहरुले गरेका हुन् ।

यस्तै, सो अवधिमा राष्ट्र बैंकबाट अनुमति पाएका ‘क’,‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्त कम्पनीको अग्राधिकार सेयर र ऋणपत्रमा कम्पनीहरुले २० अर्ब ५५ करोड ७ लाख रुपैयाँ लगानी गरेका छन् । जसमध्ये निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब २५ करोड २७ लाख रुपैयाँ र जीवन बीमा कम्पनीहरुले १८ अर्ब २९ करोड ७९ रुपैयाँ लगानी गरेका हुन् ।

साथै, सो अवधिमा सुचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा १४ अर्ब ४४ करोड ६८ लाख रुपैयाँ लगानी गरेका छन् । जसमध्ये निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड ९९ लाख रुपैयाँ र जीवन बीमा कम्पनीले ११ अर्ब ९३ करोड ६८ लाख रुपैयाँ लगानी गरेका हुन् ।

यसैगरी, सो अवधिमा कम्पनीहरुले घरजग्गामा ४१ करोड ६२ लाख रुपैयाँ लगानी गरेका छन् । जसमा जीवन बीमा कम्पनीहरुले घरजग्गामा कुल लगानीको ०.११ प्रतिशत अर्थात् ३६ करोड २४ लाख रुपैयाँ लगानी गरेका छन् ।

निर्जीवन बीमा कम्पनीहरुले गत आवमा गरेको कुल लगानीको ०.०८ प्रतिशत अर्थात् ५ करोड ३७ लाख रुपैयाँ लगानी गरेका छन् ।

साथै, सो अवधिमा सुचीकृत पब्लिक कम्पनीको डिबेञ्चरमा बीमा कम्पनीहरुले २३ अर्ब १० करोड ४२ लाख रुपैयाँ लगानी गरेका छन् । जसमा जीवन बीमा कम्पनीले २१ अर्ब ५४ करोड ९५ लाख रुपैयाँ र निर्जीवन कम्पनीहरुले १ अर्ब ५५ करोड ४६ लाख रुपैयाँ लगानी गरेका छन् ।

सो अवधिमा पुर्वाधार विकास बैंकको मुद्दति निक्षेपमा भने जीवन बीमा कम्पनीहरुले मात्र कुल लगानीको ०.०६ प्रतिशत अर्थात् २० करोड रुपैयाँ लगानी गरेको छन्


पुष्प दुलाल