क्रिप्टोकरेन्सीको मूल्यमा व्यापक उछाल, बिटक्वाइनको मूल्य फेरि ५० हजार डलर माथि



बिटक्वाइनको मूल्य तीन महिनामा फेरि ५० हजार डलरभन्दा माथि पुगेको छ । २०२१ मे महिनापछि पहिलोपटक एउटा बिटक्वाइनको मूल्य ५० हजार डलरभन्दामाथि पुगेको हो ।

यसले मे महिनाको मध्यतिर चलिरहेको दरभन्दा २.५ प्रतिशतले बढी कारोबार गरिरहेको छ । जबकि बिटक्वाइनको हालसम्मकै उच्च मूल्य ६५ हजार डलर हो । जुन गत मध्य अप्रिलमा पुगेको थियो ।

उच्च-वर्गीय लगानीकर्ताहरुको समर्थन

तत्कालीन समयमा इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाले बिटक्वाइनको समर्थन गरेको थियो । टेस्लाका मालिक एलन मस्कले टेस्ला कार खरिदमा बिटक्वाइन प्रयोग गर्न सक्ने बताएसँगै बिटक्वाइनको मूल्यमा उछाल देखिएको थियो ।

त्यसपछि ट्विटरका संस्थापक ज्याक डोर्सीलगायत अन्य उच्च-वर्गीय लगानीकर्ताले पनि यसमा रुचि देखाएका थिए । जसका कारण तत्कालीन समयमा बिटक्वाइनको मूल्य अकासिएको थियो ।

बिटक्वाइनको मूल्य अघिल्ला केही हप्तादेखि ३० हजार डलरदेखि ४० हजार डलरमा दैनिक कारोबार भएको देखिएको छ ।

यसअघि अप्रिल २०२१ भन्दापछि बिटक्वाइनको मूल्य लगातार खस्किइरहेको थियो । चीनले फाइनान्सियल इन्स्टिट्युसन र पेमेन्ट कम्पनीमा क्रिप्टोकरेन्सीको कारोबारमा रोक लगाएको थियो । जुनमा एक बिटक्वाइनको मूल्य २९ हजार डलरसम्म झरेको थियो ।

बिटक्वाइनको मूल्य एकलाख डलरसम्म पुग्ने आशा
विज्ञहरुका अनुसार आउँदा दिनहरुमा एउटा बिटक्वाइनको मूल्य एकलाख डलरसम्म पुग्न सक्नेछ । उच्च वर्गीय लगानीकर्ताहरुको रुचि सँगसँगै ‘पे–पल यूके’ले आफ्ना ग्राहकलाई ब्रिटेनमा बिटक्वाइनसँगै अन्य क्रिप्टोकरेन्सीको खरिद, बिक्री गर्न एवम् होल्डमा राख्न अनुमति दिएको छ । यो सुविधा यही हप्तादेखि शुरु हुँदैछ ।

बिटक्वाइनबाहेक अन्य क्रिप्टोकरेन्सीहरुको मूल्यमा पनि तीव्रता आएको छ । इथेरियम ब्ल्याकचेनको मुद्रा इथर ३.४३ प्रतिशतभन्दामाथि ३ हजार ३४२ डलरमा कारोबार भइरहेको छ । २०२१ मा यसको मूल्य ३४८ प्रतिशतले बढेको हो । यसैगरी क्वाइनडेस्क, डजक्वाइनले पनि सामान्य बढोत्तरीसँगै कारोबार गरिरहेका छन् ।

‘ब्ल्याकचेन डेटा प्लेफर्म चेनलिसिस ग्लोबल क्रिप्टो एडप्सन इन्डेक्स’का अनुसार संसारभर जुन २०२० देखि जुलाई २०२१ सम्म क्रिप्टो अधिग्रहण ८८० प्रतिशतले बढेको देखिएको छ ।


पुष्प दुलाल