सर्वोत्तम सिमेन्टबाट ‘गोल्डेन सेयर’ लिएको छैन, सेयर किन्न छोरीलाई १० लाख दिएको चैं होः ढुंगाना



धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना गम्भिर विवादमा परेका छन् । बुक बिल्डिङ प्रणालीमार्फत् आइपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टको सेयर ढुंगानाकी छोरी रेविका ढुंगानाले खरिद गरेको पाइएको हो । जसलाई ढुंगाना आफुले पनि स्विकार गरेका छन् । सर्वोत्तम सिमेन्टले बुक बिल्डिङमार्फत् आइपीओ जारी प्रक्रिया शुरु भएपछि अमेरिका बस्ने ढुंगानाको छोरी रेबिकाले १० हजार कित्ता सेयर किनेको भेटिएको हो ।

बुक बिल्डिङमार्फत् साढे ७ सय रुपैयाँमा सेयर बेच्ने घोषणा गरेको सर्वोत्तमले रेबिकासहित स्वार्थ गासिने व्यक्तिहरुलाई भने २५० रुपैयाँमा सेयर बेचेको छ । सर्वोत्तम सिमेन्टका प्रमुख सेयरधनी बिष्णु न्यौपानेको नाममा रहेको सेयर रेबिकाले खरिद गरेकी हुन् । उक्त सेयर किन्दा छोरीलाई आफूले १० लाख रुपैयाँ सापटी दिएको पनि ढुंगानाले स्वीकारेका छन् ।

सेयर बजारको नियामक निकाय धितोपत्र बोर्डको अध्यक्ष ढुंगानाको छोरीले आइपीओ ल्याउन लागेको कम्पनीको सेयर किन्नुलाई ढुंगानको बिचलनको रुपमा धेरैले लिएका छन् । ढुंगानाले भने बालिक भइसकेको छोरी सेयर किन्न पाउने अधिकार उनको भएको र यसलाई समाचार बनाउनुपर्ने आवश्यक नभएको बताउँछन् । अध्यक्ष ढुंगानासँग सर्वोत्तम सिमेन्टको सेयर खरिदका विषयमा क्लिकमाण्डूले गरेको कुराकानीः

तपाईंले आफ्नो पदको दुरुपयोग गरी सर्वोत्तम सिमेन्टको सेयर छोरीका नाममा राख्नुभयो भन्ने आरोप लागेको छ । वास्तविकता के हो ?

केही साताअघि जब धितोपत्र बोर्डले सेयर कर्नरिङ भएको आशंकामा ५१ वटा कम्पनीको सूचि प्रकाशित भयो । त्यसपछि केही मिडियामा बोर्डलाई लक्षित गर्दै नकारात्मक समाचारहरु आएका छन् । त्यही सन्दर्भमा पछिल्लो समाचार आएको हो । यसमा गैरकानूनी क्रियाकलाप भएको छैन । कानूनसम्मत भएको विषय हो ।

तपाईंको छोरीले सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको त हो नि ?

हो ।

तपाईंलाई यसबारेमा पहिलै थाहा थियो कि थिएन ?

आजभन्दा करिब २ वर्षअघि सर्वोत्तम सिमेन्टका सञ्चालक विष्णु न्यौपानेजीले अमेरिका जाँदा कम्पनीको केही सेयर बिक्री गर्न लागेका छौं भनेर भन्नु भएको रहेछ । त्यसमा मेरो छोरी पनि रहिछन् । र, सोही समयमा मेरो छोरीले यदि त्यसो हो भने मैले पनि केही सेयर खरिद गर्छु भनेकी रहिछन् । तत्कालीन समयमा विष्णुजीले कम्पनीको ३० हजार कित्ता सेयर बिक्री गर्ने र कोही मानिस भए सजिलो हुन्छ भन्नु भएको रहेछ । सोही क्रममा उहाँहरुबीच कुरा पनि भएको छ । उहाँ र छोरीको पारिवारिक सम्बन्ध त होइन । तर, चिनजान भने हो ।

तपाईं धितोपत्र बोर्डको अध्यक्ष हुँदा छोरीका नाममा र नेप्सेका सीइओ चन्द्र साउदले श्रीमतिका नाममा सेयर लिनु र सेयर निष्काशन तथा बिक्री प्रवन्धकको जिम्मेवारी पाएको कम्पनीसँग सम्बन्धित व्यक्तिले पनि सेयर खरिद गरेको देखिएको छ । यो सब संयोग मात्रै हो भनेर कसरी पत्याउने ?

पक्कै पनि किनबेच भइसकेपछि प्रश्न उठ्नु स्वभाविक नै हो । तर, किनबेच गर्दा प्रक्रियागत तरिकाले किनबेच भएको हो वा होइन भन्ने हो । यो कम्पनीले बिक्री गरेको भन्दा पनि कम्पनीका संस्थापकले अरुलाई बिक्री गरेको हो । कसैलाई सेयर बिक्री गर्न मन लागेमा किन्ने पक्ष र बिक्री गर्ने पक्षबीच कुरा मिलेपछि किनबेच हुनु स्वभाविक हो । त्यसरी डिल हुँदा दुबै पक्षले स्वीकृति पाएपछि कारोबार हुने हो । दुबै पक्षको मूल्य मिलेपछि न कारोबार हुने हो ।

पाईंको छोरीले सर्वोत्तम सिमेन्टको सेयर प्रतिकित्ता २५० रुपैयाँका दरले खरिदबिक्री भएको देखिन्छ । १० हजार कित्ताका दरले हेर्दा २५ लाख रुपैयाँ भयो । त्यो पैसा पठाएको कुनै आधार छ वा त्यसको कुनै विवरण छ ?

सेयर खरिदबिक्रीको विवरण कम्पनी रजिष्ट्रार कार्यालयमा होला । यसमा खरिद गर्ने र बिक्री गर्ने दुबैको विवरण हुनुपर्छ । मेरो छोरीको खाताबाट चेक काटेको पनि देखिनुपर्छ । यसमा त कसैले लुकाउनै सक्दैन । यो त पारदर्शी नै छ ।

यहाँ त तपाईंलाई कम्पनीले गोल्डेन सेयर दिएको र तपाईंले आफ्नो नाममा राख्न नमिलेर छोरीको नाममा राखेको भन्ने आरोप पनि छ नि ?

त्यो होइन । भन्न त जे भन्दिए पनि हुन्छ । भन्नलाई त कसैले राक्न सक्ने कुरा भएन । यो आरोप शतप्रतिशत गलत हो । छोरीलाई मैले सोधेको थिएँ । मैले आफ्नै बैंकबाट आफैंले चेक काटेर पैसा दिएको हो भनेर छोरीले मलाई भनेको छ । उनले यो मेरो अधिकार हो । र, केही परेमा म मुद्दा लड्छु भनिसकेकी छन् । मसँग छुट्टिएर गइसकेको छोरीमा त यो अधिकार पनि होला नि त । उसले कानूनको अधिनमा रहेर काम गर्न त उसको पनि त संवैधानिक अधिकार होला नि होइन र ?

जहाँसम्म मेरो कुरा त म धितोपत्र बोर्डको अध्यक्षकारुपमा के गर्न पाउँछु । र, के गर्न पाउँदिन भन्नेमा आफ्नै आचारसंहिता पनि छन् ।

ञ्चालकहरुले पालना गर्नुपर्ने कार्यविधि छ । मैले आइपीओमा भाग लिन पाउँछु । आफूसँग भएको सेयर बिक्री गर्न पाउँछु । तर, दोस्रो बजारमा गएर सेयर खरिद गर्न पाउँदिन । त्यसबाहेक मसँग परिवारबाट छुट्टिएर गइसकेका परिवारका सदस्यलाई त कारोबार गर्न अधिकार दिएको छ । मैले कुनै पनि कुरा गर्दा कानून सम्मत् गर्नुपर्छ । मेरो नियन्त्रणभित्र भएको कुरा मैले हेर्ने हो त्यसबाहेकमा म जिम्मेवार हुँदैन ।

तपाईंको छोरीलाई संविधानले नै दिएको अधिकार छ । तर, सर्वोत्तम सिमेन्ट यतिबेला बुक बिडिङको प्रक्रियामै रहेको अवस्थामा छ । यस्तो अवस्थामा सेयर खरिदबिक्रीको विषय बाहिर आइसकेपछि प्रश्न उठ्नु अस्वाभाविक हो र ?

त्यसलाई त्यसरी प्रश्न उठाउन मिल्दैन । आजका दिनमा पनि त खरिदबिक्री हुनसक्छ । जो सेयर खरिद गर्नका लागि योग्य छ उसले आजका दिनमा पनि जो पनि स्वतन्छ छ नि होइन र ?

तर, बुक बिल्डिङमा प्रतिकित्ता ७५० रुपैयाँ भनिए पनि तपाईंको छोरी लागयतले त २५० रुपैयाँमै पाउनुभयो नि । यो एकप्रकारको भ्रष्टचार होइन र ?

कम्पनीको सेयर प्रतिकित्ता ७५० रुपैयाँ भन्ने कुरा आएको हो । यो यकिन नभइसकेको विषय हो । बजारमा ७५० रुपैयाँको कुरा चलेको हो । यो विभिन्न मिडियामा पनि आइसकेको छ । जहाँसम्म २५० रुपैयाँको कुरा छ त्यो मेरो छोरीले मात्रै होइन अरुले पनि २५० रुपैयाँमै खरिद गरेका छन् । अरुले पनि खरिद गरेका छन् । २५० मा किन दियो भन्ने कुरामा त कम्पनीको सेयर मूल्य त १०० रुपैयाँ हो नि होइन र ?

बुकबिल्डिङ प्रक्रियामा रहेको कम्पनीको सेयर खरिदमा सेबोनको अध्यक्ष, नेप्सेको सीइओ र इन्सू म्यानेजर कम्पनीले नै पहिले खरिद गर्नु संयोगमात्रै हुनसक्छ ?

कसले कसरी किन्यो भन्ने मलाई थाहा छैन । सर्वोत्त कम्पनीका सञ्चालक विष्णु न्यौपानेको मामा मणि ढुंगाना हुनुहुन्छ । उहाँलाई म तपाईं र तपाईंका साथीहरुलाई ३० हजार कित्ता सेयर दिन्छु । भोलिका दिनमा पनि चाहिन्छ । लिन सक्नुहुन्छ भने लिनुहोस भनेपछि मेरो छोरीसँग कुरा गर्नु भएको रहेछ । त्यही अनुसार नै मिलाउनु भएको हो । मणीजीसँग मेरो नाता पर्ने होइन । तर, हामी २०औं वर्षदेखि काम गरेका थियौं । मणीजीको परिवार र हाम्रो एउटै परिवारजस्तै हो । उहाँले छोरीले लिए पनि हुन्छ भन्ने अनुरोध गरेपछिको कुरा हो । म राष्ट्र बैंकबाट अवकास भइसकेपछि अमेरिका गएको बेलामा विष्णुजीहरुसँग अमेरिकामा भेट भएको थियो । त्यो बेलामा यो कुरा आएको हो । म धितोपत्र बोर्डमा नभएको भए मैले नै सर्वोत्तम कम्पनीको सेयर किन्थेँ होला । म धितोपत्र बोर्डमा नआउँदै छोरीले लिएको हो । कम्पनी लिमिटेड भएपछि सेयर कारोबार भएको हो ।

कम्पनीमा छोरीको लगानी हुँदा तपाईं कम्पनीप्रति अति ‘इन्फ्लुएन्स’ नभइरहन सक्नुहुन्छ ?

म त्यसरी हुँनै सक्दैन । र, मिल्दैन पनि । कम्पनीको मूल्य घटाउन वा बढाउनका लागि कुनै भूमिका हुँदैन ।

सर्वोत्तम सिमेन्टले बुक बिल्डिङको सम्झौता गर्दा नै ३० प्रतिशत लभांश नै दिन्छु भन्दा पनि त धितोपत्र बोर्डले केही कारबाही पनि त गरेको देखिए न नि होइन र ? के त्यो बजारलाई प्रभावित पार्ने उद्देश्यले गरिएको घोषणा थिएन र ?

हामीकहाँ सूचिकृत भएर आइसकेको कम्पनीमा मात्रै हामीले जिम्मेवारी लिने हो । सूचिकृत भइसकेको कम्पनीको हकमा हामीले हेर्ने क्षेत्राधिकार हुन्थ्यो । जहाँसम्म पहिले नै लाभांश घोषणा गर्दा त्यसले कसलाई मर्का पर्यो त भन्ने पनि हो । कम्पनी सूचिकृत भइसकेको छैन । यसले पहिले घोषणा गरेको कुरा पहिले नै सकिसक्यो । कम्पनीले पहिले के गर्यो भन्ने कुरा अब अर्थ रहन्न ।

भोलिका दिनमा तपाईं यस्तै प्रक्रियामा सहभागी भएको, साच्चिकै गोल्डेन सेयर लिएको पुष्टि भयो भने त गाह्रो हुने भयो नि है ?

गोल्डेन सेयर भनेको के हो म बुझ्दिन । जहाँसम्म कानूनविपरीत सेयर लिने भन्ने कुरा हो भने यसमा मेरो छोरीले २५ लाख रुपैयाँ पैसा चेक काटेर खरिद गरेको हो । छोरीले पैसा पुगेन भनेपछि मैले पनि इन्भेष्टमेन्ट बैंकको खाताबाट झिकेर १० लाख रुपैयाँ पठाइदिएको थिएँ । यो गोल्डेन सेयर होइन भन्ने स्पष्ट हुनुहोस् ।

अहिले कारोबार गर्दा पनि बैंकिङ प्रणालीबाट नै कारोबार हुनुपर्छ । मेरो छोरीका नाममा कस्को सेयर आएको हो भन्ने पनि मलाई थाहा छैन । मैले आफैंले जानेर वा नजानेर काम गरेको छैन । र, थाहा भएसम्म त्यसरी अनैतिक काम गर्न पनि दिएन् ।

तपाईंमाथि बारम्बार आर्थिक अनियमितता सम्बन्धी प्रश्नहरु किन उठेका होलान् ?

राम्रो काम गर्दा ह्यारेसमेन्ट गर्ने काम हुँदो रहेछ । अहिले भएको पनि त्यही हो । फेरि यो वर्ष मेरो दशाग्रह पनि अलि बिग्रिएको छ । बुवा पनि वित्नुभयो । बुबा वितेको वर्ष राशी पनि बिग्रिन्छ भन्छन् । तर, मैले केही बिराएको छैन । त्यसैले केही दिन दुखः पाउन सक्छु । अन्तिममा सत्यको जित हुन्छ ।

४ वर्षे कार्यकालका लागि बोर्डको अध्यक्ष हुनुहुन्छ । तपाईंको कार्यकालमा सबैभन्दा राम्रो काममध्येको बुक बिल्डिङको विधि पनि हो । फेरि पनि यस्तै प्रकारका घटना आए भने के भन्ने ?

अहिले पनि त विभिन्न कम्पनीका सेयरहरु कारोबार भइरहेको होला नि । भएकै छैन भन्ने त पक्कै पनि होइन होला । यही सर्वोत्तम सिमेन्टले पनि कहिले आइपीओ जारी गर्ने भन्ने यकिन छैन । यसले आजका दिनमा पनि आइपीओ प्रक्रिया खारेज गर्नसक्छ ।


पुष्प दुलाल