सर्वोत्तम सेयर खरिद विवाद: अर्थमन्त्रालयले छानबिन समिति गठन गर्ने



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र नेप्सेका सीइओका चन्द्रसिंह साउदका परिवारका सदस्यले सर्वोत्तम सिमेन्टको सेयर किनेको विषयमा छानबिन गर्ने संकेत दिएका छन् ।

बुक बिल्डिङमार्फत आइपीओ ल्याउन लागेको सर्वोत्तम सिमेन्टको सेयर ढुंगानाको छोरी रेबिका ढुंगाना र साउदको श्रीमति शुसीला बोहराको नाममा १० हजार कित्ता सेयर किनिएको थियो ।

पब्लिकलाई प्रतिकित्ता ७५० को दरले आइपीओ ल्याउन लागेको सर्वोत्तम सिमेन्टका प्रमुख लगानीकर्ता बिष्णु न्यौपानेले ढुंगानाको छोरी र साउद श्रीमतिलाई प्रतिकित्ता साढे २ सयको दरले बिक्री गरेका थिए ।

नियामक निकायको रुपमा रहने धितोपत्र बोर्ड र सेयर कारोबार हुने कम्पनी नेप्सेको सीइओले व्यवसायिक स्वार्थ गासिने कम्पनीको सेयर परिवारका सदस्यको नाममा किन्न लगाएका हुन् ।

‘नियामक निकायमा बसेका जिम्मेवार व्यक्तिले व्यक्तिगत फाइदा लिने काम अत्यन्त अव्यसायिक हो, अर्थमन्त्रीज्यूले यसमा अध्ययन गरेर छानबिन समिति गठन गर्नुहुने छ,’ अर्थमन्त्री निकट स्रोतले भन्यो ।

संचार माध्यमहरुमा ढुंगाना साउदको परिवारले सदस्यले सर्वोत्तमको सेयर किनेको विषय सार्वजनिक भएपछि अर्थमन्त्री शर्माले यसलाई गम्भिर रुपमा लिदै छानबिनको प्रक्रिया थाल्ने तयारी गर्न भनेका छन् ।

अर्थमन्त्री निकट स्रोतका अनुसार केही दिनमा समिति गठन हुने छ । धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नियुक्त भएका थिए । नेप्सेका सीइओ साउदलाई भने शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा नियुक्त भएका थिए । साउदको भने कार्यकाल सकिन लागेको छ ।


क्लिकमान्डु