राष्ट्र बैंकसहित १५ बैंक ह्याक गर्ने धम्की: छानविन गर्दै साइवर ब्यूरो



काठमाडौं । बुधबार राति नेपालका बैंकहरु ह्याक हुँदै गरेको भन्दै ४८ घण्टासम्म सेवा बन्द गर्न चेतावनी सहितको इमले नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल, सह-प्रवक्ता नारायणप्रसाद पोखरेलका साथै नबिल बैंकका सीइओ अनिल शाहका नाममा आएपछि थ्यसले बैंकिङ क्षेत्रमा ठूलो आतंक सिर्जना गर्यो ।

पछिल्लो समय नेपालको बैंकिङ क्षेत्रमा भइरहेको ह्याकिङका घटना एकपछि अर्को गर्दै घटिरहेका बेलामा उक्त म्यासेज आउनु आफैंमा ठूलो ‘सुरक्षा चुनौती’ थियो ।

उक्त इमेलमाा नेपालका १५ वटा बैंकका शाखा कार्यालय र सेवा ४८ घण्टाका लागि बन्द गर्न भनिएको थियो ।

बिहीबार बिहानै राष्ट्र बैंकका प्रवक्ता ढकाललाई प्लस १३१२७६१५९३३ नम्बरबाट फोन आयो । छोटो कलमा अंग्रेजीमा ‘युओर सिस्टम ह्याज बिन ह्याक्ड’ भनेर फोन काटियो ।

यस्तो समाचार बाहिर आएसँगै बैंकिङ क्षेत्र आतंकि भयो । राष्ट्र बैंकका उच्च अधिकारीहरु पनि निकै गंभीर भए । राष्ट्र बैंक र बैंकहरुले आफ्नो सिस्टलाई निरन्तर निगरानीमा राखिरहे ।

‘राष्ट्र बैंक र बैंकहरुले आफ्नो सिस्टममाथि निरन्तर निगरानी राखिरह्यौं,’ प्रवक्ता ढकालले क्लिकमाण्डूसँग भने, ‘ह्याकरले चेतावनी दिएको पनि २४ घन्टा कटिसकेको छ, अहिलेसम्म ह्याकरले हाम्रो सिस्टममा आक्रमण गरेको पाइएको छैन ।’

कुनै पक्षले नियोजित रुपमा आतंकित बनाउन यस्तो गरेको हुनसक्ने उनको भनाइ छ ।

‘यदि ह्याकरले सिस्टम ह्याक गर्दैथियो भने हामीलाई अग्रिम धम्की दिने नै थिएन, यसर्थ नियोजितरुपमा आतंकित बनाउन खोजेको देखिन्छ,’ ढकालले थपे, ‘यद्यपि हामी सचेत भएर काम गरिरहेका छौं । अहिलेसम्म नेपालको बैंकिङ सिस्टम सुरक्षित छ ।’

राष्ट्र बैंकले ह्याकर पहिचान गर्न नेपाल प्रहरीको साइबर ब्यूरोलाई जिम्मा दिइसकेको छ ।

‘प्रहरीले अनुसन्धान गरिरहेको छ, अहिलेसम्म ह्याकरको प्रष्ट पहिचान भइसकेको छैन,’ उनले भने ।

ह्याकरले इमलेमार्फत् नेपाल राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय बाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, एनआइसी एसिया बैंक, बैंक अफ काठमाण्डू, सिटिजन्स इन्टरनेशनल बैंक, सानिमा बैंक, नेपाल एसबीआइ, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट र हिमालय बैंकको नाम उल्लेख गर्दै दक्षिण एशियाकै ठुलो बैंक ह्याक हुने भन्दै सो इमेललाई जोक नसम्झिन धम्की दिएको थियो ।

राष्ट्र बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको आईटी विभागलाई दैनिक कारोबारको वान टु वान रिपोर्टिङ गर्न निर्देशन दिइसकेको डछ ।


पुष्प दुलाल