ह्याकरको धम्कीपछि राष्ट्र बैंकको बैंकहरुलाई निर्देशन- ७ दिनसम्म हरेक कारोबारको रिपोर्टिङ गर्नु



काठमाडौं । ह्याकरहरुले राष्ट्र बैंकसहित १५ वटा बैंक ह्याक गर्ने धम्की दिएपछि केन्द्रीय बैंकले उच्च सतर्कता अपनाएको छ । राष्ट्र बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको आईटी विभागलाई दैनिक कारोबारको वान टु वान रिपोर्टिङ गर्न निर्देशन दिएको छ ।

बुधबार राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल, सह–प्रवक्ता नारायणप्रसाद पोखरेल र नबिल बैंकका सीइओ अनिल केशरी शाहको नाममा इमेल गरिएको भनिएको स्क्रिनसट भाइरल भएको थियो । त्यसैगरी बिहीबार विहानै राष्ट्र बैंकका प्रवक्ता ढकालको मोबाइलमा ह्याकरको धम्कीपूर्ण फोन समेत आएको थियो ।

हालसम्म इनेसियल सेक्युरिटी असिस्मेन्ट (आइएसए)का आधारमा राष्ट्र बैंकको जीएल, आरटिजीएस, एनसीएचएलमको प्रणाली र वाणिज्य बैंक र विकास बैंकहरुको कोर बैंकिङ प्रणाली सुरक्षित रहेको राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले जानकारी दिए ।

‘भोलिका दिनमा के हुन्छ आजै भन्न सकिन्दैन तर, आगामी एक साता जति वान टु वान ट्रान्ज्याक्सन मोनिटरिङ गर्नुपर्छ भनिएको छ,’ उनले क्लिकमाण्डूसँग भने, ‘बैंकहरुलाई समेत वान टु वान ट्रान्जेक्सन मोनिटरिङ गर्दै रिपोर्टिङ गर्न निर्देशन दिइएको छ ।’

बैंकहरु वान टु वान ट्रान्ज्याक्सन मोनिटरिङ यसअघि पनि गरिरहेको भएपनि अहिले त्यसमा राष्ट्र बैंकले समेत निगरानी गर्ने उनको भनाइ छ ।

‘खासगरी राष्ट्र बैंकले समेत आरटिजीएसको ट्रान्ज्याक्सन मोनिटरिङ एक सातासम्म वान टु वान गर्छ, तर हाम्रो सिस्टम, फाइभरमा कुनै पनि ह्याकिङ ठोकिएको छैन,’ उनले थपे, ‘अहिले आइएसए कुनै पनि समस्या देखिएको छैन, यसमा थप अध्ययन समेत आइटी विभागले गरिरहेका छन् ।

विश्वको कुनै पनि कुनामा बसेर ह्याकरले सिस्टम ह्याक गरेपनि नेपाली मुद्रा अन्तर्राष्ट्रिय मुद्रामा परिवर्तित नहुने भएकाले पैसा नै ह्याक गर्न भने नसक्ने उनले बताए ।

‘हाम्रो मुद्रा अन्य देशमा बिक्री नहुने भएकाले पैसा नै झिकिने डर भने त्यति धेरै हुँदैन,’ उनले भने, ‘नेपाल मै आएर पैसा भिक्नु अलग कुरा हो तर बाहिरबाट भने सिस्टम ह्याक गर्नमात्र सम्भव हुन्छ ।’


क्लिकमान्डु