एसियाकै ठूलो बैकिङ ह्याकको धम्की, १५ वाणिज्य बैंकसहित राष्ट्र बैंकलाई फोन र इमेल



काठमाडौं । बुधबार राति एउटा बैंकको आइटी डिपार्टमेन्टमा काम गर्ने कर्मचारीहरुको ग्रुप च्याटमा एउटा फोटो आयो । जसमा नेपालका बैंकहरु ह्याक हुँदै गरेको भन्दै ४८ घण्टासम्म सेवा बन्द गर्न चेतावनी दिइएको थियो ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल, सह–प्रवक्ता नारायणप्रसाद पोखरेलका साथै नबिल बैंकका सीइओ अनिल केशरी शाहका नाममा पठाइएको इमेलको स्क्रिनसटले ती बैंकका कर्मचारीमा ठूलो आशंका पैदा गर्यो ।

पछिल्लो समय नेपालको बैंकिङ क्षेत्रमा भइरहेको ह्याकिङका घटना एकपछि अर्को गर्दै घटिरहेका बेलामा उक्त म्यासेज आउनु आफैमा ‘सुरक्षा चुनौती’ थियो ।

उक्त सन्देशमाा नेपालका १५ वटा बैंकका शाखा कार्यालय र सेवा ४८ घण्टाका लागि बन्द गर्न उक्त सन्देशमा भनिएको थियो ।

फोटोमा भनिए जस्तै उक्त ह्याकरको इमेल कसैलाई पनि आएको थिएन । राष्ट्र बैंकका प्रवक्ता ढकालले आफनो इमेलमा कुनै इमेल नआएको बताएका थिए ।

तर तिनै ढकाललाई बिहीबार विहानै एउटा अन्तर्राष्ट्रिय कल आयो । छोटो कलमा अंग्रेजीमा ‘युओर सिस्टम ह्याज बिन ह्याक्ड’ भनेर फोन काटियो ।

‘प्लस १३१२७६१५९३३ नम्बरबाट बिहीबार बिहान ७ बजे फोन आयो, कल रिसिभ गर्ने बित्तिकै उतैबाट ‘युओर सिस्टम ह्याज बिन ह्याक’ भनेर कल काटियो,’ प्रवक्ता ढकालले क्लिकमाण्डूसँग भने ‘त्यसको तुरुन्तै हाम्रो आइटी डिपार्ट, मेरो डेपुटी, गभर्नर सा,ब र अन्य विभागहरुमा केही बैंकरहरुसँग कुरा गरेर सिस्टम सेक्युरिटीबारे जानकारी लिए ।’

बुधबार साँझमा सामाजिक सञ्जानका विभिन्न आइटी गु्रपहरुमा राष्ट्र बैंकसहित १५ वटा वाणिज्य बैंकलाई ह्याक गर्ने धम्की सहितको इमेलको स्क्रीन सर्ट भाइरल भएको थियो ।

सो इमेल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल र सह–प्रवक्ता नारायण प्रसाद पोखरेल र नबिल बैंकका अनिल केशरी शाह पठाइएको देखाइएको छ । तर उक्त इमेल भने आफूहरुलाई प्राप्त नभएको, प्रवक्ता ढकाल र सह–प्रवक्ता पोखरेलले क्लिकमाण्डूलाई जानकारी दिए ।

बुधबार राति सामाजिक सञ्जालमार्फत् सो इमेलको स्क्रिन सर्ट आफू प्राप्त भएको र सो समय नै इमेल चेक गर्दा वास्तविकमा इमेल नआएको उनले बताए ।

‘त्यो फोटोसप प्रयोग गरी बनाइएको इमेलको स्क्रिन सर्ट हुन सक्छ तर बिहान अन्तर्राष्ट्रिय नम्बरबाट फोन आएपछि त्यो इमेलमा ह्याक गर्छु भनेर उल्लेख गरिएका सबै बैंक र बैंकर्स संघमा फोन गरेर जानकारी लिए,’ उनले थपे, ‘उक्त इमेल र फोन सम्बन्धी साइबर क्राइम ब्युरोमा समेत रिपोर्ट गरिसकिएको छ, कुनै पक्षले नियोजित रुपमा हामीलाई आतंकित बनाउन गरेको हो, यसको कुनै आधिकारीकता छैन ।’

राष्ट्र बैंक लगायत सबै बैंक तथा वित्तीय संस्थाको सिस्टम सुरक्षित रहेको हुँदा ह्याकरले आतंकित बनाउन खोजेपनि सोको पछि नलाग्न उनले सबैलाई आग्रह गरेका छन् ।

नेपाल राष्ट्र बैंकसहित १५ वटा वाणिज्य बैंकलाई २४ घण्टाभित्र ह्याक गर्छु भन्दै बुधबार नै ह्याकरले इमेल पठाएको इमेल सामाजिक सञ्जालमा भाइरल भएको थियो । जसमा पत्रमा नेपाल राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय बाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, एनआइसी एसिया बैंक, बैंक अफ काठमाण्डू, सिटिजन्स इन्टरनेशनल बैंक, सानिमा बैंक, नेपाल एसबीआइ, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट र हिमालय बैंकको नाम उल्लेख गरिएको छ । साथै, सो इमेलमा साउथ एसियाकै ठुलो बैंक ह्याक हुने भन्दै सो इमेललाई जोक नसम्झिन ह्याकरले सचेत गराएको छ ।


क्लिकमान्डु