लेखा समिति सदस्यमा बाँस्कोटालाई नियुक्ती गर्ने निर्णय फिर्ता लिन ट्रान्सपरेन्सी इन्टरनेशनलको माग



काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनले नेपालले सार्वजनिक लेखासमितिको सदस्यमा गोकुल बाँस्कोटालाई तोकिएको भन्दै उक्त निर्णय तत्काल फिर्ता गर्न माग गरेको छ ।

७० करोड रुपैयाँको घुस काण्डमा मुछिएका बाँस्कोटाको मुद्दा अहिले छिनोफानो नभइसकेकाले सदस्यमा सिफारिस गरिनु गलत भएको बताएको छ ।

‘सेक्युरिटी प्रेस खरिद प्रकरणमा मन्त्रीको हैसियतमा बाँस्कोटाले ७० करोड रुपैयाँ घूस मागेको ‘अडियो टेप’ सम्बन्धी प्रकरणको छिनोफानो भइसकेको छैन । लेखासमितिले सेक्युरिटी खरिद प्रक्रिया र अडियो टेपका विषयमा थप छानबिन गरी भ्रष्टाचार मुद्दा लगाउन २०७६ फागुन ३० मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई फाइल पठाएको थियो । लेखासमितिले छानबिन गरी मुद्दा नचलाएको विषयमा आयोगसँग जानकारी मागिरहेको अवस्था छ । बाँस्कोटालाई लेखासमितिकै सदस्य बनाएपछि यो प्रकरणमा पदीय प्रभाव पर्ने निश्चित भएकाले बाँस्कोटालाई लेखासमितिमा पठाइनु सर्वथा अनुचित छ ।’

ट्रान्सपरेन्सी इन्टरनेशनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो सिफारिस नेपाल सरकारको भ्रष्टाचार विरुद्धको ‘शून्य सहनशिलता’ नीतिको प्रतिकूल छ । बाँस्कोटालाई लेखासमितिको सदस्य बनाइनु संसदीय मान्यता, पद्धति र स्वार्थको द्वन्द्व सिद्धान्त प्रतिकूल भएको हुँदा यो विषयमा संसद् र एमाले संसदीय दल दुवै गम्भीर हुनुपर्छ । एमाले संसदीय दलको नेता प्रधानमन्त्री स्वयम् भएको हुँदा आफ्नै मान्यता विपरीतको यो निर्णय सच्याउनेतर्फ अग्रसर हुन जरुरी छ । मुलुककै ठूलो र जिम्मेवार सत्तारुढ पार्टीले आरोपित व्यक्तिलाई लेखासमितिमा पठाउने कार्य सुशासनविरुद्ध भएको हुँदा त्यो निर्णय तत्काल फिर्ता लिन ट्रान्सपरेन्सी इन्टरनेशनल ९टीआई० नेपाल माग गर्दछ ।’


क्लिकमान्डु