२० करोडमा उपत्यका नजिकै आयुर्वेद रिसोर्ट शुरू, ६ हजारदेखि साढे ३ लाखसम्मको प्याकेज



काठमाडौं । पूर्वीय दर्शन अनुसार आयुर्वेदको इतिहास मानव सभ्यतासँगै शुरु भएको हो । आयुर्वेदको सबैभन्दा उत्कृष्ट पञ्चकर्ममार्फत् गरिने उपचार विधि पछिल्लो समयमा निकै लोकप्रिय छ ।

विभिन्न देशबाट आयुर्वेदको पञ्चकर्म विधिमार्फत् उपचार गराउनका लागि विदेशी नागरिकहरु नेपाल आउँछन् । पञ्चकर्म विधिमार्फत् उपचार गराउन आउने स्वदेशी र विदेशी नागरिकलाई लक्षित गरी काठमाडौं उपत्यका नजिकै रिसोर्ट सञ्चालनमा आएको छ ।

लामो समयदेखि आयुर्वेद उपचारमा सेवा दिइरहेको ‘आयुर्वेद हेल्थ होमले काठमाडौं उपत्यका नजिकै आयुर्वेदमार्फत् उपचार गराउने उद्देश्यले रिसोर्ट सञ्चालनमा ल्याएको छ ।

बालाजु बाइपासबाट झण्डै ७ किलोमिटर नुवाकोटतर्फ जंगलको बीचमा निर्माण गरिएको रिसोर्टले हालै ‘सफ्ट ओपिनङ’ गरेको छ । प्राकृतिक छटाले भरिपूर्ण उक्त स्थानमा अवस्थित रिसोर्ट शिवपुरी राष्ट्रिय निकुञ्ज र सामूदायिक वनले घेरिएको छ ।

कुल ३२ रोपनीमा फैलिएको उक्त क्षेत्रफलमा रिसोर्टको भव्य भवन निर्माण भइसकेको छ भने बाँकी क्षेत्रफलमा जडिबुटी, अर्ग्यानिक तरकारी उब्जाउने लक्ष्य राखिएको छ ।

कोरोना महामारीका कारण एक वर्षयता मुलुकको पर्यटन क्षेत्र नराम्ररी थलियो । अन्तर्राष्ट्रिय सीमा बन्द हुँदा विदेशी पर्यटक आउन पाएका छैनन् भने अधिकांश होटलहरु अझै पनि सञ्चालनमा आउन नसकेको अवस्था छ ।

तर यही बीचमा ‘हेल्थ टुरिजम’लाई आकर्षित गर्ने उद्देश्यले रिसोर्ट सञ्चालनमा आएको हो ।

‘कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय सीमा बन्द हुँदा उपचारका लागि आउने विदेशी नागरिकको संख्या घटेको थियो तर पछिल्लो समय हवाई उडान खुकुलो हुँदा उपचार लिन आउनेको संख्या बढ्न थालेको छ,’ कम्पनीका प्रबन्धक निर्देशक बद्री कोइरालालले भने ।

कम्पनीमा विगत ४ दशकदेखि चिकित्सा क्षेत्रमा कार्यरत रहेका डा. ऋषिराम कोइराला मेडिकल निर्देशक हुन् । कम्पनीले काठमाडौंको धापासी र पोखरामा लामो समयदेखि आयुर्वेद हेल्थ होम सञ्चालन गरिरहेको छ ।

रिसोर्टमा पञ्चकर्म अन्तर्गतका विभिन्न १२० प्रकारको थेरापीबाट उपचार गरिन्छ । त्यसका साथै ३ घण्टा प्याकेजदेखि २८ दिनसम्मको प्याकेज रिसोर्टको समावेश गरिएको प्रबन्ध निर्देशक बद्री कोइरालाले जानकारी दिए ।

संस्थामा कार्यरत कन्सलटेन्ट डाक्टर व्योम कोइरालाका अनुसार आयुर्वेद होममा ‘प्रिभेन्टिभ थेरापी’ र ‘क्यूरेटिभ थेरापी’ गरी दुई प्रकारका थेरापीमार्फत् उपचार गरिन्छ । प्रिभेन्टिभ थेरापी अन्तर्गत रोग लाग्नुभन्दा पहिले नै शारीरिक र मानिसक रुपमा स्वस्थ बनाउनका लागि गरिने उपचार विधि पर्दछ भने क्यूरेटभ थेरापीमा कुनै रोग लागेपछि त्यसलाई निको बनाउनका लागि अपनाइने विधि पर्छ ।

हाल रिसोर्टमा २८ वटा रुम बस्नका लागि तयार बनाइएको छ भने बाँकी रुममा विभिन्न प्रकारका थेरापीका लागि प्रयोग गरिएको छ । पछिल्लो समय हेल्थ टुरिजमलाई लक्षित गरी रिसोर्टले प्याकेज तयार पारेको छ ।

कोइरालाका अनुसार कर्पोरेट क्षेत्रलाई आकर्षित गर्नका लागि पनि प्याकेजको व्यवस्था गरिएको छ ।

काठमाडौं उपत्यकाबाट नजिकै शान्त र सौम्य स्थान, त्यसमाथि प्राकृतिक रुपमा हरियालीले भरिएको स्थानमा अवस्थित रिसोर्टमा व्यक्तिगत वा सामूहिक रुपमा प्याकेज खरिद गरी लाभ लिन सकिने व्यवस्था गरिएको छ । जस्तै, कुनै पनि कर्पोरेट संस्थाले आफ्ना कर्मचारीको तनाव कम गर्न, ध्यान तथा योगा गराउन भन्ने उद्देश्यले रिसोर्टमा व्यवस्था गरिएको छ ।

रिसोर्टमा मदिरा तथा धुम्रपानका साथै ननभेज परिकार निषेध गरिएको छ भने रिसोर्टमा पाइने परिकारमा सकेसम्म अग्र्यानिक उत्पादनको प्रयोगलाई प्राथमिकता दिइएको छ ।

रिसोर्टमा व्यक्तिको शारीरिक बनोट, शरीरमा उत्पन्न रोगका आधारमा उपचार शुरु गरिन्छ भने प्राकृतिक उपचारको विधि पनि सिकाइन्छ । रिसोर्टमा शारीरिक दुखाई, मानसिक तनावबाट उत्पन्न रोगलगायतका रोगहरुको प्राकृतिक विधिमार्फत् उपचार गरिन्छ ।

त्यसबाहेक रिसोर्टमा जोर्नीहरु, मांसपेशी, पेट, पाचन, नशा, छाला, छाती, मुटुलगायतका विभिन्न शारीरिक समस्याका साथै अन्य मनोवैज्ञानिक र त्यससम्बन्धि समस्याको परामर्श तथा उपचार पनि गरिन्छ । यहाँ स्वस्थ जीवनशैलीका लागि परामर्श तथा कोचिङको पनि व्यवस्था छ ।

कोइरालाका अनुसार रिसोर्टमा २० करोड लगानी भइसकेको छ भने हाल ६० भन्दा बढीले रोजगारी पाएका छन् । आगामी दिनमा डाक्टर, नर्स, हाउसकिपिङलगायत गरी १ सय जनाले रोजगारी पाउने प्रबन्धक निर्देशक बद्री कोइरालाको भनाइ छ ।

यस्तो छ प्याकेज
आयुर्वेदतर्फ ३ घण्टाको सामान्य प्याकेजदेखि एक दिने, ३ दिने, ५ दिने, ७ दिने १० दिने र १४ दिने प्याकेज तयार पारिएको छ भने पञ्चकर्मतर्फ न्यूनतम ७ दिनेदेखि १० दिने, १४ दिने, २१ दिने र २८ दिने प्याकेज पनि छ ।

जसमा नेपालीका लागि न्यूनतम ६ हजाररुपैयाँदेखि ३ लाख ५० हजार रुपैयाँसम्मको प्याकेज उपलब्ध गराइएको छ भने विदेशी नागरिकका लागि शुल्क थप गरिएको छ ।

रिसोर्टमा सबैभन्दा महंगो प्याकेज २८ दिने आयुर्वेद क्लासिकल फूल पञ्चकर्म प्याकेज तय गरिएको छ । प्याकेजमा २८ दिनसम्म रिसोर्टमै बसेर पञ्चकर्म विधिबाट उपचारको व्यवस्था गरिएको छ ।


क्लिकमान्डु