साढे ८० अर्बको सवारीसाधन र पार्टपुर्जा आयात



काठमाडौं । नेपालमा सवारीसाधन र पार्टपुर्जाको आयात बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो ८ महिनामा ८० अर्ब ४४ करोड रुपैयाँको सवारी तथा पार्टपुर्जा भित्रिएका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा ८.५ प्रतिशत बढी हो । गत वर्षको सोही अवधिमा ७२ अर्ब ८१ करोड सवारी तथा पार्टपुर्जा नेपाल भित्रिएको थियो ।

बैंकहरुमा लगानी योग्य पूँजी (तरलता) बढेको छ । कोभिडका कारण लगानी योग्य क्षेत्र संकुचन भएका छन् । बैंकहरुले लगानीका लागि उपयुक्त क्षेत्र भेट्न मुस्किल छ । यस्तो अवस्थामा बैंकहरु सवारी कर्जातर्फ आकर्षित भएका छन् ।

बैंकहरुले सस्तो ब्याजमा अटो लोन उपलब्ध गराई रहेका छन् । विगतमा सवारी कर्जाको ब्याजदर ११/१२ प्रतिशतसम्म पर्नेगर्थो । अहिले बैंकहरुले २÷३ प्रतिशत विन्दुसम्मले सवारी कर्जाको ब्याजदर घटाएका छन् । कोभिड–१९ को प्रकोपका कारण उपभोक्ताहरु सार्वजनिक सवारीसाधनमा भन्दा निजीमा आकर्षित भएका छन् । सस्तो ब्याजदर र सहज फाइनान्सिङको व्यवस्थाले गर्दा निजी सवारी चढ्ने बढिरहेका छन् ।

नेपालमा सबैभन्दा बढी सवारी भारतबाट आयात हुन्छ । ८ महिनाको अवधिमा भारतबाट ६६ अर्ब ३१ करोड रुपैयाँको सवारी, पार्टपुर्जा र टायर ट्युव भित्रिएको छ । यस्तै चीनबाट ३ अर्ब ५ करोड, अन्य मुलुकबाट ६ अर्ब ६४ करोड रुपैयाँको सवारी र पार्टपुर्जा भित्रिएको छ ।

यातायात व्यवस्था विभागको अनुसार आर्थिक वर्ष २०७६/७७ मा मुलुकभर करिब ४० लाख सवारी दर्ता भइ सञ्चालनमा रहेका छन् । यसमा दुई पांग्रे सवारीको हिस्सा धेरै छ । कुल सवारीमध्येमा दुई पांग्रेले ८० प्रतिशत बजार ओगटेको छ । पछिल्लो समय चीनबाट विद्युतीय स्कुटरहरु भित्रिने क्रम बढेको छ ।

नेपालमा सार्वजनिक सवारीको भरपर्दो व्यवस्था छैन । यसले पनि निजी सवारी चढ्ने परिपाटी बढेको हो । साँघुरो र खाल्डाखुल्डी सडक भएकोले बढी मोटरसाइकल÷स्कुटर बिक्री हुने व्यवसायी बताउँछन् । सरकारले नेपाल भित्रिने गाडीमा चर्को भन्सार लगाएको छ । यसले पनि मोटरसाइकल र स्कुटरमा बढी आकर्षण देखिएको हो ।

नेपालमा सस्ता सवारी भारतबाट भित्रिँदै आएको छ । महंगा कार र मोटरसाइकल तेस्रो मुलुकबाट भित्रिन्छन् । कुल सवारीको कबिर ३ चौथाई आयात भारतबाटै हुने गरेको छ । केही सवारी साधन चीनबाट पनि भित्रिन्छन् । पछिल्लो समय चीनबाट डटबाइक र इलेक्ट्रीक स्कुटर भित्रिने क्रम बाक्लिएको छ । कार र अन्य गाडी पनि चीनबाट भित्रिन्छन् ।

नेपालमा सवारी आयात बढ्नुमा बैंक तथा वित्तीय संस्थाले सहजै उपलब्ध गराउने सस्तो ब्याजदरको ऋण पनि हो । बैंक तथा वित्तीय संस्थाहरु अटोलोन उपलब्ध गराउन होडबाजीमा उत्रिएका छन् । सस्तो ब्याजमा ऋण पाइएपछि थोरै आम्दानी हुनेहरु पनि निजी सवारी चढ्न सक्ने भएका छन् ।


पुष्प दुलाल