ग्राउन्ड जिरो: पाथीभरामा केबलकार बन्दा के हुन्छ, नबन्दा के हुन्छ ? विशेष भिडियो रिपोर्ट

126
Shares

काठमाडौं (ताप्लेजुङबाट फर्केपछि) । पूर्वी नेपालको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल पाथीभरामा केबलकार बनाउनु पर्छ र केबलकार बनाउनु हुँदैन भनेर अहिले बहस भइरहेको छ ।

स्थानीयको मागअनुसार राज्यका सबै निकायले केबलकार निर्माणको अनुमति दिएसकेपछि पाथीभरामा केबलकार निर्माणको काम सुरु भयो । तर, यही बेला ‘नो केबरकार समूह’ नै गठन गरेर बिरोध भइरहेको छ ।

यसैबीच, त्यहाँको वास्तविकता बुझ्न क्लिकमान्डुको पाँच सदस्यीय टोली पाथीभरामा पुगेको थियो । पाथीभरा क्षेत्रको अवस्था, दर्शनार्थी, सरोकारवाला, स्थानीय व्यवसायी र राजनीतिक दलसँग कुराकानी गरेर स्थलगत भिडियो रिपोर्ट तयार गरिएको छ ।

प्रस्तुत छ स्थलगत भिडियो रिपोर्ट-

केबलकार बनेपछि के हुन्छ फाइदा ?

ताप्लेजुङको पाथीभरामा केबलकार बन्नु भनेको समग्र पूर्वी नेपालले विकास निर्माणमा गति लिनु भएको यस क्षेत्रका स्थानीय व्यवसायी बताउँछन् । यस क्षेत्रमा केबलकार बन्दा पर्यटन व्यवसाय फस्टाउने उनीहरुको भनाइ छ । धार्मिक सांस्कृतिक पर्यटनको उत्कृष्ट गन्तव्य पूर्वी नेपालकै पाथीभरा भएकोले यो ठाउँमा आउने तीर्थालु, भक्तजनदेखि स्वदेशी र विदेशी पर्यटक थप आकर्षित गर्न सक्ने गन्तव्य बन्ने उनीहरुको भनाइ छ ।

पर्यटन व्यवसायीका अनुसार केबलकार निर्माणपछि पर्यटकीय गन्तव्यको रुपमा ट्राभल तथा टुर एजेन्सीले प्याकेज बिक्री गर्छन् । ट्राभल व्यवसायसँगै पर्यटन सवारीको आवागमन बढ्छ । स्थानीय उत्पादनको खपत तथा बिक्री वितरण बढ्ने उनीहरुको विश्वास छ ।

स्थानीय व्यवसायीका अनुसार यो ठाउँमा सिजनमा ५ सय वटा सवारी साधनले सेवा दिने गरेका छन् भने केबलकार बनेपछि यातायात व्यवसायीको संख्यामा वृद्धि हुने अपेक्षा छ ।

ताप्लेजुङ सदरमुकाम फुङलिङदेखि पाथीभराको प्रस्थान विन्दु मानिने काफ्लेपाटीको बेस स्टेसनसम्मको सडक कालोपत्रे हुँदै गरेको छ । यो बाटो कालोपत्रेसँगै यातायात व्यवसायीले सहजता पाउने छन् भने स्थानीयलाई सहज हुने छ ।

पाथीभरा केबलकार बनेको अवस्थामा बाहिरी जिल्लाबाट आउने, विभिन्न सहर तथा विदेशी पर्यटकसम्मको चाप बढ्ने हुन्छ । जसका कारण हाल संकलन भएको विदेशी मुद्रासहितको आम्दानी समेत बढ्छ । पाथीभरा जाने धार्मिक पर्यटक बढ्ने हुँदा यसको आम्दानी पनि वृद्धि हुने पाथीभरा क्षेत्र विकास कोषले जनाएको छ ।

ताप्लेजुङ उद्योग वाणिज्य संघका उपाध्यक्ष दावा शेर्पा पूर्वी नेपालकै विकासका लागि केबलकार मियो हुने बताउँछन् । उनले भने, ‘ताप्लेजुङको पाथीभरा जाने केबलकार बनाउने विषयमा विवाद चर्किएको भए पनि ताप्लेजुङ उद्योग वाणिज्य संघ भने केबलकार बनाउने विषयमा सकारात्मक छन् ।’ यहाँका व्यवसायी केबलकार बनाएर ताप्लेजुङमा विकासको सुरुवात गर्नुपर्ने तर्क गर्छन् भने पर्यटन प्रवद्र्धन समेत हुन्छ ।

ताप्लेजुङको विकास र पर्यटकीय गन्तव्यको विकास गर्न पनि केबलकार आवश्यक भएको उनको भनाइ छ । उनी भन्छन्, ‘बाहिरी पर्यटक जान गाह्रो हुने, टाढा टाढाबाट आउने भक्तजनलाई सहज हुने र ताप्लेजुङको विकासको खुड्किलोसमेत हुने भएकोले पनि पाथीभरामा केबलकार आवश्यक देखिन्छ ।’

ताप्लेजुङ धेरै तीर्थयात्री पुग्नु भनेको पाँचथरदेखि इलामसम्मले लाभ लिन सक्नु भएको यस क्षेत्रका व्यवसायीको भनाइ छ । अहिले ताप्लेजुङ पुग्ने धार्मिक पर्यटकले सदरमुकाम फुङलिङ र सोभन्दा अगाडि गएर बास बस्ने गरेका छन् । सिजनमा ताप्लेजुङमा मात्रै बास बस्न नपाइने हुँदा पाँचथर र इलामसम्म नै पर्यटक रोक्नुपर्ने अवस्था थप बढेर जान्छ । केबलकार बन्दा मात्रै पर्यटकीय आकर्षण बढाउने र स्थानीय क्षेत्रले लाभ पाउँछन् ।
पाथीभरामा क्षेत्र विकास कोषका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार अफ सिजन मानिने माघ महिनामा नै पाथीभरामा ४ हजार तीर्थयात्री पुगेको र उनीहरुले श्रद्धापूर्वक चढाएको भेटीघाटी १० लाख रुपैयाँ देखिएको छ । केबलकार बनेको अवस्थामा यहाँ आउने पर्यटकको संख्या बढ्नुका साथै आम्दानीको स्रोत मासिक रुपमै अनपेक्षित रुपमा बढ्न सक्ने अपेक्षा गरिएको उनी बताउँछन् ।

पाथीभरामा गत वर्ष सन् २०२४ मा तीन लाख १० हजार भक्तजन पुगेका छन् । केबलकार बनेपछि यो संख्या एकै वर्षमा दोब्बर हुने अनुमान पाथीभरा क्षेत्रविकास कोषले गरेको छ ।
पाथीभरा केबलकार बन्दा तीर्थयात्रीसँगै आम्दानी पनि बढ्ने भएकोले पाथीभरा क्षेत्र विकास समिति भने यहाँ भइरहेको विकास निर्माणको विषयमा सकारात्मक छ ।

पाथीभरा देवीको मन्दिर ३७९४ मिटर उचाईमा भएको र यहाँबाट आँखै अगाडि देखिने कुम्भकर्णसहितका हिमशृङ्खलाको दृश्यावलोक गर्ने पर्यटक बढ्छन् । यहीबाट देखिने आकर्षक दृश्यलाई केबलकार बनेपछि दिनभर लाग्ने समय एक घण्टाको मात्रै हुन्छ । जसले पाथीभरामा भक्तजन तथा पर्यटकको गति बढ्ने अपेक्षा छ ।

यो क्षेत्रमा केबलकार बन्नु भनेको निर्माणमा संलग्न व्यवसायीलाई मात्रै लाभ नभएर स्थानीय व्यवसायीदेखि यहीका अन्य स्थानीयले पनि भरपुर लाभ लिन सक्छन् । पाथीभरा केबलकारसँगै खर्चालु पर्यटक बन्ने व्यवस्था पनि हुन सक्छ । खर्चालु पर्यटक राख्न स्थानीयले बनाएका पूर्वाधार पर्याप्त नहुन सक्छ । यो अवस्थामा यस क्षेत्रमा नयाँ पर्यटकीय पूर्वाधार बन्नेछन्, होटल रेस्टुरेन्ट थप हुने छ । जसले गर्दा स्थानीयले रोजगारी पाउने, स्थानीयलेसमेत सेयर पाउने, यहीका व्यापारीको व्यापार बढ्नेदेखि वरिपरिका जिल्लाले समेत लाभ पाउँछ भने सरकारले राजस्व पाउने छ ।

केबलकार बन्दा स्थानीय तहले पाउने लाभ बढ्ने फुङलिङ नगरपालिकाका मेयर अमिर मादेन बताउँछन् । ‘स्थानीयले नै लाभ पाउने र आफ्नै क्षेत्रको विकास हुने भएकोले केबलकार बन्नुपर्ने हुन्छ,’ उनले भने ।

केबलकार निर्माणले पाथीभराको महत्व झन बढ्ने र मुकुम्लुङको संस्कृति जोगाउन सकिने दाबी मादेनको छ । केबलकार बन्दा यहाँको स्थानीय संस्कृति मासिने नभएर जोगाउन सहयोग गर्ने उनको भनाइ छ ।