एक दशकमा १०० खर्बको अर्थतन्त्र बनाउने महासंघको यस्तो छ भिजन पेपर



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले शनिबार ५५औं वार्षिक उत्सवको अवसरमा १० वर्षे भिजन पेपर सार्वजनिक गर्यो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेको उक्त भिजन पेपरमा सन् २०३० सम्ममा मुलुकको अर्थतन्त्र १०० अर्ब डलरको पुर्याउने परिकल्पना गरिएको छ । जसमा निजी क्षेत्रले १०८ अर्ब थप लगानी गर्ने परिकल्पना गरिएको छ ।

जसबाट २२ लाख थप रोजगारी सिर्जना हुने र प्रत्येक वर्ष ४ लाखले रोजगारी पाउने उल्लेख छ । दिगो विकासका लक्ष्य पूरा गर्ने समय पनि सन् २०३० नै भएको भन्दै प्रधानमन्त्री ओलीले यसका लागि सरकार निजी क्षेत्रको साथमा रहेको बताए ।

उनले यो परिकल्पना महासंघको मात्रै नभइ सम्पूर्ण निजी क्षेत्र र सरकारको पनि भएको बताए ।

महासंघले तयार पारेको परिकल्पनामा १० अंकको आर्थिक वृद्धिदर हुने उल्लेख छ । यसका लागि विभिन्न नीतिगत सुधारदेखि आवश्यक सुझावहरु उल्लेख गरिएको छ ।

भिजन पेपरमा कोरोनापछिको अर्थतन्त्र रिभाइभदेखि विद्युतीय टेन्डर, युवा उद्यम, महिला उद्यम, सहुलियतपूर्ण कर्जा, डिजिटल इकोनोमीका साथै अन्तर्राष्ट्रिय व्यापार, निर्यातमा वृद्धिदर, कृषि क्षेत्रको व्यवसायिकताका विषय उल्लेख गरिएको छ ।


क्लिकमान्डु