५ वर्षभित्रमा निर्यात ७ गुणा बढाउन मिलेर काम गर्न सरकार र निजी क्षेत्र सहमत



काठमाडौं । आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि नीतिगत सुधार गर्दै निर्यात प्रवद्र्धनका लागि साझा प्रयास गर्न सरकार र निजी क्षेत्र सहमत भएका छन् ।

निर्यात व्यवसायी महासंघको आज यहाँ आयोजित समुद्घाटन समारोहमा सहभागी नेपाल सरकार वरिष्ठ मन्त्री एवम् निजी क्षेत्रका प्रतिनिधिले साझा प्रयास गर्ने हो भने आगामी पाँच वर्षभित्र निर्यातलाई साता गुणामा वृद्धि गर्न सकिनेमा जोड दिए ।

नेपाल उपभोक्ता मात्रै नभई लाई उत्पादक र निर्यातक समेत हुनुपर्नेमा साझा धारणा राख्दै त्यसमा सरकारको तर्फबाट सुधार गर्नुपर्ने सबै कानूनी, नीतिगत एवम् प्रक्रियागत झन्झट हटाउने प्रतिवद्धता समेत व्यक्त भएको छ ।

आयातका तुलनामा निर्यात असाध्यै न्यून भएको, व्यापार घाटा बढीरहेको सन्दर्भमा त्यसलाई सुधार गर्न सबैको साझा प्रयासको खाँचो रहेको समेत उनीहरुको भनाइ छ ।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिस मोरले व्यवसायको प्रवद्र्धन गर्दै निर्यातमूलक उद्योगको विकास र विस्तारका लागि आफूहरु प्रतिवद्ध रहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड पछिको अर्थतन्त्रको सुधारका लागि चालु आवको बजेट र मौद्रिक नीतिमा छुटेका विषयलाई आगामी आवमा समावेश गर्न आग्रह गरे ।

उनले आर्थिक कुटनीतिका माध्यमबाट निर्यात प्रवद्र्धन गर्न र नेपालको प्रतिनिधित्व गरेर विदेशमा जाने कुटनीतिक अधिकारी तथा मिशन प्रमुखलाई सोही अनुसारको भूमिका दिन र मूल्यांकनको आधार बनाउन आग्रह गरे । ।

उनले व्यापार मात्रै गर्ने भन्दा पनि उद्यमी बन्नेतर्फ, उपभोक्ता मात्रै नभई उत्पादक बन्ने सोचका साथ काम गर्नुपर्ने भन्दै त्यसका लागि सरकार र निजी क्षेत्रको साझा प्रयास जरुरी रहेको बताए ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले निर्यात बढाउनका लागि सरकारले सम्भाव्यताको अध्ययन गरेर योजनावद्ध रुपमा काम गरिरहेको र त्यसलाई अझै विस्तार गर्ने उल्लेख गरे । नेपाल उपभोक्ता मात्रै नभई उत्पादक समेत हुने दिशामा अग्रसर रहेको भन्दै व्यापार तथा वाणिज्यका क्षेत्रमा रहेका समस्यालाई क्रमशः समाधान गर्दै जाने स्पष्ट पारे ।

अल्पविकसित देशको हिसाबले हामीले धेरै सुविधा पाएको भएपनि त्यसलाई के कति मात्रामा हामीले उपभोग ग¥यौ भन्ने विषय महत्वपूर्ण रहेको उनको भनाइ छ । नेपाललाई चीन, भारत, यूरोपेली संघ तथा अमेरिकाले विशेष सहुलियत दिएको भएपनि हामीले त्यसलाई पूर्ण रुपमा सदुपयोग गर्न नसकेको परराष्ट्रमन्त्रीको भनाइ छ ।

सरकारले विभिन्न देशसँग गरेको वाणिज्य सन्धीको पुनरावलोकन गर्न लागेको र भारतसँग पनि मिहिन तरिकाले सम्वाद भइरहेको जानकारी दिए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सूचना प्रविधिको अधिकतम उपभोग गर्दै इ कमर्स तथा इ विजनेशनको क्षेत्रमा लाग्न उद्योगी व्यवसायीलाई आग्रह गरे ।

उनले सरकार डिजिटल नेपालको फ्रेमवर्क बनाएर अगाडि बढीरहेको र छिट्टै डिजिटल पेमेन्ट कम्पनी सञ्चालनमा आउने उल्लेख गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त कम्पनीको उद्घाटन गर्नुहुने जानकारी दिदैं  मन्त्री गुरुङले निर्यात हुने सामानमा गुणस्तरलाई समेत ध्यान दिन अनुरोध गरे ।

उनले निर्यात बढाउनका लागि मन्त्रिपरिषद्बाट हल गर्न सकिने विषयलाई त्यही सम्बोधन गरिने र त्यो भन्दा पनि उच्च तहमा गर्नुपर्ने भए पनि सरकार तयार रहेको भन्दै व्यवसायीको साथमा सरकार रहेको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रको मनोबल बढाएर आर्थिक समृद्धिको मार्गमा सरकार अगाडि बढीरहेको बताए ।

उनले समृद्धिका लागि निर्यात पनि एउटा महत्वपूर्ण औजार भएकाले सरकारको तर्फबाट आवश्यक सहयोग र सहजीकरण हुने विश्वास दिलाए । । उनले महासंघको तर्फबाट प्राप्त हुने सुझावलाई कार्यान्वयन गर्न सरकार सदा सर्वदा तयार रहेको समेत बताए ।

उनले निर्यात प्रवद्र्धनका लागि सरकारले के कस्ता विषयलाई सम्बोधन गर्नुपर्ने हो, त्यसको एकमुष्ठ खाका पेश गर्न उद्योगी व्यवसायीलाई आग्रह गरे । सरकार निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्न तयार रहेको र व्यवसायीको मनोबल उच्च बनाउन समेत लागिपरेकाले सबै खालका समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कोभिड महामारीपछि मुलुकको अर्थतन्त्र पुनरोत्थान हुने दिशामा अगाडि बढीरहेको भन्दै सरकारको नीति तथा कार्यक्रम र बजेटका भएका कतिपय विषय कार्यान्वयन भएको र केही बाँकी भएका विषय रहे आगामी आवको बजेटमा सम्बोधन गरिने अर्थमन्त्रीको भनाइ थियो ।
आफूहरु मुलुकको प्रगतिका लागि दृढ विश्वासका साथ जनताको समस्या समाधान गर्दै अगाडि बढेकाले अवाच्छित तत्वले सरकार परिवर्तन गर्ने भन्दै लाएको हल्ला समेत पानीको फोका सावित हुने उनको भनाइ थियो ।

कार्यक्रममा महासंघका अध्यक्ष रामबहादुर गुरुङले निर्यात बढाउनका लागि सरकार र निजी क्षेत्रले लक्ष्य नै निर्धारण गरेर अगाडि बढ्नुपर्ने बताए । वैदेशिक मुद्रा आर्जन गर्ने व्यवसायीलाई महासंघ मार्फत समेटिएको र यसलाई अझै विस्तार गरेर लैजाने उनले सो अवसरमा प्रतिवद्धता व्यक्त गरे ।


क्लिकमान्डु