एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुदेश खालिङ नियुक्त



काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा सुदेश खालिङ नियुक्त भएका छन् ।

‘आज (आइतबार) नियुक्तिपत्र हात परेको छ, अबको केही दिनमा कार्यभार सम्हाल्छु,’ खालिङले क्लिकमाण्डूसँग भने ।

यो बैंकले २५ वर्षदेखि भारतीयलाई सीइओ बनाउँदै आएको थियो । खालिङ पहिलोपटक एभरेष्ट बैंकमा नेपाली सीइओ बनेका हुन् ।

एभरेष्ट बैंकमा पञ्जाव नेशनल बैंकको २० प्रतिशत लगानी छ । यसअघि सँधै २० प्रतिशत लगानी भएको लगानीकर्ताले आफ्नो कर्मचारीलाई एभरेष्ट बैंकको सीइओ बनाएर पठाउँदै आएको थियो ।

तर, यस पटक भने नेपाली सञ्चालकहरुले भारतीय नागरिकको सीइओको प्रफर्मेन्स कमजोर भएको भन्दै आलोचना गरेका थिए । र, पञ्जाव नेशनल बैंकले पठाएका गजेन्द्रकुमार नेगीलाई १७ महिनामै हटाएर खालिङलाई सीइओ बनाइएको हो ।

सिटिजन्स बैंकको संचालक रहेका खालिङले एभरेष्टको सीइओ बन्ने भएपछि १५ दिनअघि पदबाट राजीनामा दिएका थिए । सिटिजन्स बैंकको संचालक हुनुअघि खालिङ लक्ष्मी बैंकको सीइओ थिए ।

लक्ष्मी बैंकको सीइओ रहँदा खालिङले एभरेष्ट र लक्ष्मी बैंकलाई मर्जर गराउन सक्रिय भूमिका खेलेका थिए । यद्यपि दुई बैंकबीच मर्ज हुन सकेन । उनीसँग ३० वर्षभन्दा बढी बैंकिङ गरेको अनुभव छ ।


क्लिकमान्डु