‘नम्बर वान’को ताज जोगाउन नबिल बैंक ‘बिग एक्विजेशन’को अन्तिम तयारीमा, छिट्टै सम्झौता



काठमाडौं । नम्बर वानको ताज जोगाउनका लागि नबिल बैंकले बिग एक्विजेशनको तयारी गरेको छ । सबै कुरा मिले एक महिनाभित्र एक्विजेशनको गुड न्यूज सुनाउन सकिने नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले बताए ।

नेपालको वाणिज्य बैंकहरुमा बोनस सेयरबाट मात्रै अहिलेको आकारको पूँजी पुर्याउने संस्थामा नबिल बैंक हो । तर, पछिल्ला वर्षहरुमा नबिल बैंक विभिन्न सूचकमा पछाडि पर्न थालेको छ ।

अरु वाणिज्य बैंकहरु मर्जर तथा एक्विजेशनबाट अगाडि आएपछि नबिल बैंकले पनि आफ्नो रणनीतिलाई परिवर्तन गरेर एक्विजेशन गर्ने तयारी थालेको छ ।

नबिल बैंकले एक्विजेशनको सोच बनाएसँगै विभिन्न बैंक तथा वित्तीय संस्थासँग हल्ला चल्ने गरेको छ । बिहीबार सेयर बजारमा नबिल बैंकले नेपाल बंगलादेश (एनबी) बैंकलाई गाभ्ने भनेर हल्ला चल्यो । एनबी बैंकको सेयर मूल्य करिब १० प्रतिशतले बढ्यो ।

नविल बैंकलाई ‘नम्बर वान’ बनाइराख्ने विनोद चौधरीको रणनीतिः अब ‘एग्रेसन’ र ‘एक्वायर’

नबिल बैंकले एनबी बैंकलाई गाभ्ने हल्ला चलेको यो पहिलो पटक भने होइन । पछिल्लो ६ महिनामा नबिल बैंकले एनसीसी, सेन्चुरीलाई गाभ्दै छ भने धेरै नै हल्ला भए । नबिल बैंकमा चौधरी ग्रुपको बढी हिस्सा छ । यस्तै चौधरी ग्रुपकै बढी हिस्सा भएको युनाइटेड फाइनान्सपनि संचालनमा छ । युनाइटेड पनि नबिल बैंकमा गाभिने हल्ला सेयर बजारमा चल्ने गरेको छ ।

नबिल बैंकको साधारणसभाले उपयुक्त बैंक तथा वित्तीय संस्था एक्विजेशन गर्ने निर्णय गरेको छ ।

नबिल बैंकका अध्यक्ष पौडेलका अनुसार बैंकले अहिलेसम्म कुनैपनि बैंक तथा वित्तीय संस्थालाई आफुमा गाभ्ने वा प्राप्ति गर्ने निर्णय गरेको छैन । तर, केही संस्थासँग भित्रभित्रै कुराकानी भने निकै अघि बढाइसकेको छ ।

अध्यक्ष पौडेल

‘नबिल बैंकसँग नाम जोड्ने अनि सेयर मूल्य बढाउने खेल बजारमा देखिएको छ, हामीले अहिलेसम्म केहीपनि निर्णय गरेका छैनौं,’ उनले क्लिकमाण्डूसँग भने, ‘विभिन्न संस्थाहरुसँग कुराकानी भइरहेको छ । सबै कुरा मिल्यो भने एक महिनाभित्रै खुसीको समाचार सुनाउँछौं ।’

नबिल बैंकले एक्विजेशन गर्नका लागि बैंक तथा वित्तीय संस्थासँग कुराकारी गरेपनि अहिलेसम्म कुनै निचोड नस्किएको उनको भनाइ छ ।

‘नबिल बैंकले बैंक तथा वित्तीय संस्थालाई मर्जर होइन, एक्विजेशन गर्ने हो, नबिल हिँजोका दिनमा पनि बेटर थियो, आजपनि बेटर छ, एक्विजेशन पनि बेटर हुनकै लागि गर्ने हो,’ पौडेलले थपे ।

नविल बैंकले विनोद चौधरीलाई मात्रै अर्बपति होइन, ६ हजार रुपैयाँ लगानी गर्नेलाई करोडपति बनायो

नबिल बैंकले दीर्घकालिन बैंकिङ व्यवसाय गरेको बताउँदै अध्यक्ष पौडेलले प्रुडेन्ट बैंकिङमा आफुहरुको केन्द्रित हुने बताए ।

नबिलले कस्ता संस्थालाई एक्विजेशन गर्न खोजेको हो ? भन्ने प्रश्नमा अध्यक्ष पौडेलले पु्रडेन्ट बैंकिङ गरेको र नबिलसँग बिचार मिल्ने संस्थालाई एक्वायर गर्ने बताए ।

‘हामीसँग वाणिज्य बैैंक, विकास बैंक र फाइनान्स कम्पनीले विभिन्न प्रस्ताव लिएर आएका छन्, नबिलसँग सोच मिल्ने र मूल्य मिलेमा एक्विजेशन गर्ने हो,’ उनले भने ।

२ ठूला बैंक नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंक अहिले मर्जरको अन्तिम तयारीमा छन् । सम्पत्ति र दायित्वको मूल्याकन(डीडीए) समेत गरेका नेपाल इन्भेष्टमेन्ट र हिमालयनबीचमा कुनै विवाद नभएमा मर्जरमा जाने पक्का छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक मर्जरमा गए भने नबिल बैंकलाई दवाव पर्छ । पहिलो नम्बर ताज जोगाउनको लागि नबिलले एक्विजेशन गर्नुपर्ने नै हुन्छ ।

बजारमा भएको चर्चा अनुसार नविलले पनि पार्टनर खोजेर तयारी अवस्थामा छ । खाली हिमालयन र इन्भेष्टमेन्ट बैंकको निर्णय कुरेर बसेको छ ।

पहिलो नम्बरमा आउनको लागि कुनै बैंक तथा वित्तीय संस्थालाई भित्राउनु परेपनि दवावको लागि नबिलले एक्विजेशन नगर्ने पौडेलल बताउँछन् ।

‘सबै सूचकमा एक नम्बरमा पुर्याउनको लागि एक्विजेशन गर्नु नै पर्छ, नम्बर एक हुनका लागि अनैतिक सम्झौता गरेर एक्विजेन गर्दैनौं,’ पौडेलले भने ।

बैंकमा लगानीकर्ताको १० देखि १२ प्रतिशतमात्र लगानी हुन्छ । बाँकी लगानी सर्वसाधारणको हुन्छ । यो विषयमा नबिल बैंक संवेदनशिल रहेको बताउँदै पौडेललेनबिलसँग मर्जर एक्विजेशनको हल्ला बढी भएको बताए ।

‘नबिल बैंक राम्रो बैंक हो, योसँग जोडिन चाहने बैंक तथा वित्तीय संस्था धेरै छन्, सामान्य कुरा भएको हुँदैन त्यो भन्दा बढी हल्ला भएर सेयर मूल्य बढाउने खेल मात्रभयो,’ उनले भने ।

मर्जर तथा एक्विजेशनका अलावा विदेशी साझेदार भित्र्याउने विषयमा पनि नविलले कुराकानी गरिरहेको उनको भनाइ थियो ।


पुष्प दुलाल