भोलिदेखि भन्सार विभागले एकद्वार प्रणाली लागू गर्ने



काठमाडौं । भन्सार विभागले भोलि (मंगलबार)बाट राष्ट्रिय एकद्वार प्रणाली लागू गर्ने भएको छ । अन्तर्राष्ट्रिय व्यापार सहजीकरण गर्ने उद्देश्यका साथ तयार गरिएको नेपाल राष्ट्रिय एकद्वार प्रणाली भोलिबाट विभागले सञ्चालनमा ल्याउने भएको हो ।

विभागले अन्तर्राािष्ट्रय व्यापार तथा पारवहनसँग सम्बन्धित सबै पक्षहरूले सम्पूर्ण कागजात तथा सूचनाहरू एकैपटक एउटै बिन्दुबाट प्रस्तुत गर्न सक्ने भन्सार विभागले जनाएको छ । साथै, एकद्वार प्रणाली सञ्चालनपछि कागज पत्र र सेवाग्राही स्वयम् उपस्थित भई गरिने कामहरु कम्प्युटर प्रणालीबाट हुने विभागको भनाइ छ ।

विगतको दिनमा विभिन्न कार्यालयमा कागज बोकेर जानुपर्ने अवस्था थियो । तर, मंगलबारबाट एकद्वार प्रणाली लागू भएसँगै सेवाग्राहीहरू कार्यालयमा पुग्नुपर्ने बाध्यता हट्ने भन्सार विभागका महानिर्देशक सुमन दाहाल बताउँछन् । उनका अनुसार नेपाल अन्र्राष्ट्रिय व्यापारलाई अझ सहज, छिटो र व्यवस्थित बनाउन उक्त डिजिटल प्लेटफर्म कार्यन्वयनमा ल्याएको बताए ।

‘विगतको दिनमा कागजबाट सबै काम कार्य हुन्थ्यो भने अबका दिनमा उक्त काम डिजिटल मार्फत हुने भएको छ,’ उनले भने, ‘यसले गर्दा भन्सारको प्रशासन र कानुनको कार्यन्वयनको परिपालनामा इट्टा थप्छ । र भन्सार प्रणालीलाई अझ सहज, सरल र मितव्ययी, छिटो बनाउनेछ ।’

उक्त प्रणाली सञ्चालनमा आउने वित्तिकै भन्सार विभागसँग जोडिएका धेरै निकायहरू अनलाइन सिस्टममा जोडिने उनको विश्वास छ । यसका साथै, सरकार पनि एक हिसाबले डिजिटाइज गभर्नेन्सको रुपमा अगाडि बढ्ने र भन्सार डिजिटल, पेपरलेल भन्सार हुने उनले दाबी गरे ।

विभागले ई–पेमेन्टको कार्य पनि अगाडि बढाएको जनाएको छ । यसले गर्दा आगामी दिनमा भन्सारका धेरै काम कारबाहीहरू अनलाइन सिस्टममार्फतबाट सहज हुने उनको भनाइ छ ।

भन्सार विभागले आफ्नो सेवालाई व्यवस्थित तथा पेपरलेस गर्नको लागि सबैको सहकार्य हुनुपर्ने बताए । यस्तै, भन्सार प्रशासन र अन्तर्राष्ट्रिय व्यापारलाई कागज र भिडभाडरहित बनाउने उद्देश्यका उक्त प्रणली सञ्चालनमा ल्याएको विभागले जनाएको छ ।

दुई विभाग र एक कार्यलयबीच समझदारीपत्रमा हस्ताक्षर

नेपाल राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयन गर्न २ वटा विभाग र एक कार्यालयबीच समझदारी पत्रमा हस्ताक्षर गरेको छ । विभागले कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मातहतको दुई विभाग र एक कार्यालयबीच समझादारीपत्रमा हस्ताक्षर गरेको हो ।

आइतबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आयोजित एक कार्यक्रममा भन्सार विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र प्लान्ट क्वारेन्टाइन तथा विषादि व्यवस्थापन केन्द्रबीच नेपाल राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयन गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको विभागले जनाएको छ ।

साथै, अन्तर्राष्ट्रिय व्यापारसँग जोडिने अन्तर सरकारीसहित निजी तथा अन्य गरी ४० भन्दा बढी निकायहरु आगामी साउनसम्म प्रणालीमा आबद्ध भइसक्ने विभागको भनाइ छ ।

नेपाल-भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजना अन्तर्गत सन् २०१३ जुलाईमा नेपाल सरकार र विश्व बैंकबीच भएको सहयोग समझदारीपछि आयोजनाको काम अघि बढेको थियो । सोही अनुसार आयोजनाको काम अन्तिम चरणमा पुगी पहिलो चरणको कार्य सुरू भएको विभागले जनाएको छ ।


क्लिकमान्डु