व्यवसाय विस्तारमा एभरेष्ट र एनएमबिबीच तीब्र प्रतिस्पर्धा, बिजनेस घटाउँदै एनआईसी एशिया

फागुनमा बैंकको व्यवसायः कर्जाको तुलनामा निक्षेप वृद्धि दोब्बर

1.2k
Shares

काठमाडौं । वाणिज्य बैंकहरुले एक महिनामा निक्षेप ३९ अर्ब ९९ करोड रुपैयाँले बढाउँदा कर्जा भने मात्रै करिब २३ अर्बले विस्तार भएको छ । नेपाल बैंकर्स संघका अनुसार वाणिज्य बैंकहरूले ४० अर्ब रूपैयाँ थप निक्षेप परिचालन गरी २२ अर्ब ७४ करोड रुपैयाँ बराबरको थप कर्जा लगानी गरेका हुन् ।

वाणिज्य बैंकहरुको छाता संस्था संघले उपलब्ध गराएको तथ्यांक अनुसार फागुनमसान्तसम्म कुल कर्जा ४८ खर्ब ५० अर्ब ५९ करोड पुगेको छ । गत माघ मसान्तमा २० वाणिज्य बैंकले ४८ खर्ब २७ अर्ब ८५ करोड रूपैयाँ निक्षेप परिचालन गरेका थिए ।

यससँगै वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको ८ महिनामा २ खर्ब ७९ अर्ब ६८ करोड रुपैयाँले कर्जा विस्तार गरेका छन् । गत असार मसान्तमा ४५ खर्ब ७० अर्ब ९१ करोड रहेको वाणिज्य बैंकहरुको कुल कर्जा चालु आर्थिक वर्ष लागेपछि ६.१२ प्रतिशतले बढेको हो ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले निजी क्षेत्रमा प्रवाह हुने कर्जा १२.५ प्रतिशतले विस्तार गर्ने लक्ष्य लिएको थियो । आर्थिक वर्षको ८ महिना सकिँदा मौद्रिक नीतिको अनुमानित लक्ष्यको आधा मात्रै दरमा कर्जा विस्तार भएको छ । पछिल्लो २ आर्थिक वर्षको तुलनामा कर्जा विस्तारमा केही सुधार देखिए पनि मौद्रिक नीतिको अपेक्षा अनुसार चालु आर्थिक वर्षमा कर्जा विस्तार नहुने देखिएको छ ।

आर्थिक वर्षको सुरुवातबाट नै कर्जाको तुलनामा निक्षेपका वृद्धिदर न्युन देखिएकोमा फागुनमा भने उच्च देखिएको छ । फागुनमा मात्रै ३९ अर्ब ९९ करोडले निक्षेप बढेकोमा चालु आर्थिक वर्षमा २ खर्ब ८२ अर्ब २७ करोडले वाणिज्य बैंकहरुको निक्षेप बढेको नेपाल बैंकर्स संघले जनाएको छ ।

गत असार मसान्तमा वाणिज्य बैंकहरुको कुल निक्षेप ५७ खर्ब ५४ अर्ब ७७ करोडमा फागुन मसान्तमा आउँदा ४.९० प्रतिशतले वृद्धि भएर ६० खर्ब ३७ अर्ब ४ करोड पुगेको छ । माघमा रेमिट्यान्समा देखिएको वृद्धि र फागुनमा पनि वृद्धि नै देखिएकोले पनि फागुनमा निक्षेप बढ्न सहयोग पुगेको बैंकरहरु बताउँछन् ।

चालु आर्थिक वर्षमा चालु खाता र शोधनान्तर स्थिति सुरुवातबाट नै बचतमा छ । तर, ब्याजदर घटेका कारण निक्षेपको वृद्धिदर भने न्युन देखिन्छ । ब्याजदर घट्दा बैंकहरुमा निक्षेपकर्ताले मुद्दती निक्षेप नवीकरण गर्ने क्रम नै कम भएको र बचतमा राख्नेको पैसा उपभोग्य क्षेत्रमा खर्च हुन लागेको तथा सेयर बजार र अन्य क्षेत्रमा लगानी हुन लागेको बैंकरहरुको भनाइ छ ।

मौद्रिक नीतिको लक्ष्यभन्दा कर्जा विस्तार न्युन देखिए पनि केही बैंकको कर्जा लगानी ८ महिनामा २० प्रतिशतसम्मले बढेको छ ।

एभरेष्ट र एनएमबि एग्रेसिभ
गत असार मसान्तमा १ खर्ब ८६ अर्ब ५० करोड रुपैयाँ कर्जा लगानी गरेको एभरेष्ट बैंकले फागुन मसान्तमा आउँदा २०.१५ प्रतिशतले बढाएर २ खर्ब २४ अर्ब ८ करोड पुर्याएको छ ।

सोही अवधिमा एनएमबि बैंकले १४.२४ प्रतिशतले कर्जा विस्तार गरेको छ । गत असार मसान्तमा २ खर्ब ४ अर्ब ६१ करोड रुपैयाँ रहेको बैंकको कुल कर्जा लगानी फागुन मसान्तमा आउँदा २ खर्ब ३३ अर्ब ७४ करोड पुगेको छ ।

प्राइम कमर्सिलय बैंकले ८ महिनामा ११.२४ प्रतिशतले कर्जा विस्तार गरेर २ खर्ब १५ अर्ब ७२ करोड पुर्याएको छ । माछापुच्छ्रे बैंकको कर्जा १०.७१ प्रतिशत राष्ट्रिय वाणिज्य बैंकको कर्जा १०.४७ प्रतिशत, लक्ष्मी सन्‌राइज बैंकको कर्जा १०.०९ प्रतिशत र ग्लोबल आईएमई बैंकको कर्जा १० प्रतिशतले बढेको छ ।

यता एनआईसी एशिया बैंकले भने चालु आर्थिक वर्षको ८ महिनामा ३५ अर्ब ४३ करोड रुपैयाँले कर्जा घटाएको छ । गत असार मसान्तमा २ खर्ब ८५ अर्ब ३३ करोड रुपैयाँ रहेको बैंकको कुल कर्जा लगानी फागुन मसान्तमा आउँदा १२.४२ प्रतिशतले घटेर २ खर्ब ४९ अर्ब ९० करोड रुपैयाँमा सिमित भएको हो ।

आधार दर सबैभन्दा कम भएको स्ट्यान्डर्ड चाटर्ड बैंकमा पनि ऋणीको आकर्षण न्युन देखिएको छ ।

गत असार मसान्तको तुलनमा फागुन मसान्तमा आउँदा बैंकको कर्जा ४.२७ प्रतिशतले घटेको छ । असार मसान्तमा ८९ अर्ब ६६ करोड रहेको बैंकको कर्जा फागुन मसान्तमा ८५ अर्ब ८३ करोडमा झरेको हो । प्रभु बैंकको कर्जा पनि गत असार मसान्तमा २ खर्ब ३५ अर्ब ९१ करोड रहेको प्रभु बैंकको कर्जा पुस फागुन मसान्तमा २ खर्ब ३४ अर्ब ५६ करोडमा झरेको हो ।

कर्जा विस्तारमा मात्रै नभएर निक्षेप बढाउनेमा पनि एभरेष्ट र एनएमबि बैंक नै अगाडि देखिएका छन् । फागुनसम्म एनएमबि बैंकको निक्षेप १७.५ प्रतिशतले बढेर २ खर्ब ६६ अर्ब ८६ करोड पुगेको छ ।

एभरेष्ट बैंकको निक्षेप १४.८ प्रतिशतले बढेर २ खर्ब ६७ अर्ब ७६ करोड पुगेको छ । यस्तै प्राइम कमर्सिलय बैंकको निक्षेप १२.६ प्रतिशतले बढेर २ खर्ब ४२ अर्ब ६९ करोड पुगेको छ ।

चालु आवको ८ महिनामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको निक्षेप ११.३ प्रतिशत, नेपाल बैंकको ९.४८ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकको निक्षेप ९.१४ प्रतिशतले बढेको नेपाल बैंकर्स संघको तथ्यांक छ ।

३५ अर्बले कर्जा घटेको एनआईसी एशिया बैंकको निक्षेप करीब ६२ अर्ब रुपैयाँले घटेको छ । गत असार मसान्तमा ३ खर्ब ६० अर्ब ५४ करोड रहेको बैंकको कुल निक्षेप फागुन मसान्तमा आउँदा १७ प्रतिशतले घटेर २ खर्ब ९८ अर्ब ६८ करोडमा झरेको हो ।