एनसीसी बैंकको सेयरमा उछाल, ५८ नम्बर ब्रोकरबाट मात्रै ८४ प्रतिशत बिक्री



काठमाडौं । नबिल बैंकले नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी)लाई मर्ज गर्ने हल्लासँगै सेयर बजारमा एनसीसी बैंकको सेयर खोसाखोस भएको छ । बजारमा नबिल बैंकले ४० प्रतिशत स्वाव रेसियोमा एनसीसी बैंकलाई मर्ज गर्ने हल्ला चलेको थियो ।

सोही हल्लाका कारण आइतबार एनसीसी बैंकको सेयर मूल्यमा ९.९७ प्रतिशत अर्थात् ३३ रुपैयाँले बढेर ३६४ रुपैयाँ पुगेको छ । आइतबार मात्रै एनसीसी बैंकको २ लाख २० हजार ४८४ कित्ता सेयर किनबेच भएको छ ।

रोचक कुरा के छ भने ५८ नम्बरको ब्रोकरबाट मात्रै ८४ प्रतिशत अर्थात् १ लाख ८४ हजार ८६८ कित्ता सेयर बिक्री भएको छ । सेयर बजारका लगानीकर्ताबीच ५८ नम्बर ब्रोकरबाट सेयर किन्ने र बिक्री भएको कुरा बढी चर्चामा आउने गर्छ ।

लगानीकर्ताहरु ५८ नम्बर ब्रोकरबाट हुने कारोबारका आधारमा कम्पनीको मूल्यमा उतारचढाव आउने अनुमान गर्छन् । ५८ नम्बरबाट ठूलो परिमाणमा कारोबार भएको हेर्दा ठूलो समूहले नै एनसीसी बैंकको सेयर बिक्री गरेको देखिन्छ ।

१ लाख ८५ हजार कित्ता सेयर बिक्री गरेको ब्रोकरले २ हजार ३६० कित्ता मात्रै सेयर खरिद गरेको छ । पछिल्लो १० दिनमा ५८ नम्बर ब्रोकरबाट मात्रै एनसीसी बैंकको करिब १५ लाख कित्ता सेयर खरिद भएको थियो ।

एनसीसी बैंकको सेयर मूल्यमा अचानक वृद्धि भएपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आइतबार कारोबार सकिए लगत्तै एनसीसी बैंकलाई यस विषयमा स्पष्टिकरण सोधिसकेको छ । सेयर बजारमा अस्वभाविक रुपमा उतारचढाव आएपछि नेप्सेले स्पष्टिकरण सोधेको हो ।

गत माघ ८ गतेसम्म नियमित तथा सामान्य उताचढावमा नै धितोपत्र कारोबार भइरहेकोमा माघ ११ गते उच्च खरिद चाप देखिएकाले स्पष्टिकरण सोधेको हो । नेप्सेले कम्पनीको मूल्यमा असर पर्ने कुनै सूचना तथा निर्णय गरेको भए सोको जानकारी ३ दिनभित्र उपलब्ध गराउन समेत भनेको छ ।


क्लिकमान्डु