म्युचुअल फण्डले नपत्याएको शिवम् सिमेन्टका लगानीकर्तालाई २ वर्षमै साढे ४ गुणा फाइदा



काठमाडौं । २०७५ सालमा शिवम् सिमेन्टले सर्वसाधारणलाई सेयर निष्कासन गर्ने निर्णय गर्यो ।

नेपालको सेयर बजारको इतिहासमा सिमेन्ट कम्पनीले ल्याएको दोस्रो आइपीओ थियो यो । सेयर बजारका पुराना लगानीकर्ताले हिमाल सिमेन्टमा गरेको लगानी डुबाएका थिए ।

सेयर बजार बियरिस ट्रेण्डमा रहेको बेला प्रिमियम मूल्यमा शिवम् सिमेन्टले आइपीओ निष्कासन गर्ने निर्णय गरेको थियो ।

कम्पनीले चुक्ता पूँजीको १२ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको थियो । जसमा २ प्रतिशत उद्योग प्रभावित भएका स्थानीयको लागि १० प्रतिशत सेयर सर्वसाधारणको लागि निष्कासन गर्न लागेको थियो ।

कम्पनीले ८ लाख ८० हजार कित्ता स्थानीयका लागि र ४४ हजार कित्ता सर्वसाधारणको लागि छुट्याएको थियो ।

कम्पनीले शुरुमा स्थानीयका लागि २ सय रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ३०० दरको दरले सेयर जारी गर्ने सर्वसाधारणलाई ३०० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ४०० रुपैयाँको दरले सेयर निष्कासन गर्ने योजना बनाएको थियो ।

२०७५ सालको नेप्से परिसूचक १२ सय बिन्दुमा झरेको अवस्था थियो । यसअघि प्रिमियम मूल्य जोडेर आएको नेपाल लाइफ र शिखर इन्स्योरेन्सको एफपीओमा लगानीकर्तालाई फाइदा भएपनि प्रिमियममा आएको बुटवल पावरबाट लगानीकर्तालाई फाइदा भएको थिएन ।

शिवम् सिमेन्टले सेयर निष्कासन गर्ने बेलामा १०० रुपैयाँले प्रिमियम मूल्य घटायो । आयोजना प्रभावितको लागि प्रतिकित्ता १०० रुपैयाँ प्रिमियम थपेर २०० रुपैयाँ र सर्वसाधारणको लागि २०० रुपैयाँ थपेर ३०० रुपैयाँमा शिवम् सिमेन्टले आइपीओ जारी गर्यो ।

आयोजना प्रभावित स्थानीयले ७ लाख ८५ हजार ३०५ कित्ताका लागि मात्रै आवेदन दिए । आयोजना प्रभावितले सेयर पुरै नकिनेपछि कम्पनीले सर्वसाधारणलाई ९४ हजार ६९५ कित्ता थप सेयर निष्कासन गरेको थियो । आयोजना प्रभावित १ हजार ८९७ जना आवेदकले माग अनुसारको शिवमको सेयर पाएका थिए ।

सार्वजनिक निष्कासनको नियमावलीअनुसार त्यो बेला म्युचुअल फण्डले पनि शिवम् विश्वास गरेनन् । कम्पनीले २ लाख २० हजार कित्ता सामुहिक लगानी कोषलाई छुट्याएकोमा ६० हजार कित्ता मात्र सेयर म्युचुअल फण्डले किनेका थिए । १ लाख ८० हजार सामूहिक लगानी कोषलाई २ लाख २० हजार कित्ता छुट्ट्याइएकोमा ६० हजार कित्ता मात्र माग भएपछि बाँकी १ लाख ८० हजार कित्ता पनि सर्वसाधारणलाई नै थप गरी बिक्रीमा ल्याइएको थियो ।

आइपीओ बाँडफाँड हुँदा सर्बसाधारणतर्फ ५० कित्तादेखि ५ हजार २२० कित्तासम्म आवदेन दिने सबै आवेदकले मागेजति सेयर पाएका थिए ।

सेयर बजार बियरिस ट्रेण्डमा रहेको बेला शिवम् सिमेन्टको आइपीओ बिक्री नहुँने चिन्ता कम्पनी र बिक्री प्रवन्धकलाई थियो ।

बैंक तथा वित्तीय संस्थाको मात्र अधिपत्य रहेको बजारमा सिदार्थ क्यापिटल बिक्री प्रवन्धक रहेर शिवम्को आइपीओ निष्कासन भएको थियो । सिदार्थ क्यापिटलका उच्च अधिकारीहरु बिक्री नहुँने चिन्तामा थिए यस्तै चिन्ता शिवम्का प्रवद्र्धकलाई पनि थियो । शिवम्को सेयर बिक्री नभएको भए अरु सिमेन्ट कम्पनीहरु आइपीओमा जान इच्छुक हुने थिएनन् ।

कम्पनीका प्रवद्र्धकको प्रयास बिक्री प्रवन्धकको मेहनतले गर्दा आइपीओ बिक्री नभएर अन्डरराइटर कम्पनीले सकार्नुपर्ने अवस्था भने आएन ।

सेयर बजारमा सूचिकृत भएपछि कम्पनीको सेयर कतिपय लगानीकर्ताले ३०० रुपैयाँपनि फाइदा नगरेर बेचे । लगानीकर्ता धेरै नै यसको मूल्य तल जानेमा आत्तिएका थिए ।

तर, २०७६ सालको बैशाख २२ गते शिवम्को सेयर मूल्य ४०० रुपैयाँ कटेपछि भने पछाडि फर्केर हेर्नु परेन ।

 

एक वर्षमा ३.१८ गुणा, ३ महिनामा दोब्बर

एक वर्षको तुलनामा शिवम् सिमेन्टको मूल्य ३.१८ गुणाले बढेको छ । एक वर्षअघि प्रतिकित्ता ५११ रुपैयाँ रहेको शिवम्को सेयर मूल्य अहिले १६२६ रुपैयाँ पुगेको छ । शिवम्ले १६६० रुपैयाँ मूल्य छोएर फर्केको हो ।

एक वर्षअघि प्रतिकित्ता ५११ रुपैयाँमा किनेको व्यक्तिलाई अहिले १ हजार ११५ रुपैयाँ प्रतिकित्ता फाइदा छ । एक वर्षअघि १० लाख रुपैयाँ लगानी गरेको व्यक्तिले अहिले २१ लाख ८१ हजार रुपैयाँ फाइदा गरेको छ ।

तीन महिनामा भने शिवम् सिमेन्टको मूल्य दोब्बरले बढेको छ । तीन महिना अगाडि प्रतिकित्ता ७६० रुपैयाँ रहेको थियो । अहिले त्यसको दोब्बरभन्दा बढी छ ।

आइपीओमा १५ लाख ६६ हजार

शिवम् सिमेन्टको आइपीओमा केही लगानीकर्ताले ५ हजार २२० कित्ता आइपीओ पाएका थिए । त्यसको लागि लगानीकर्ताले १५ लाख ६६ हजार रुपैयाँ लगानी गर्नु परेको थियो । २ वर्ष वर्षपछि अहिले त्यसको मूल्य ८४ लाख ८७ हजार ७२० रुपैयाँ भएको छ । अर्थात् ६९ लाख २१ ह्जार ७२० रुपैयाँको फाइदा आइपीओमा ५ हजार २२० कित्ता सेयर पाउनेलाई भएको छ । उसले यदी सेयर बिक्री नगरेको भए उसले १ लाख ७४ हजार ३६३ रुपैयाँ नगद लाभांश समेत बुझेको अवस्था छ ।

कर्नरिङले बजार मूल्य बढायो

शिवम् सिमेन्टले गतवर्षको नाफाबाट नगद लाभांश दिइसकेको छ । सिमेन्ट कम्पनी भएको हुँदा उसले तुलनात्मक रुपमा बोनस सेयर दिने सम्भावना कम छ ।

तर, सेयर आपूर्तिमा भएको कमीको कारण यसको सेयर मूल्य कर्नरिङ अत्याधिक बढाइएको छ । शिवम् सिमेन्टको सेयर मूल्यको कारण भएको फाइदा भने अरु सिमेन्ट कम्पनीलाई पनि सेयर निष्कासन गर्नका लागि प्रोत्साहन भने गरेको छ ।


क्लिकमान्डु