एफएनसीसीआईको पुँजीबजार समितिले पायो पूर्णता, यी १० विषयलाई प्राथमिकतामा राखेर काम गर्ने



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को पुँजीबजार समितिले पूर्णता पाएको छ ।

समितिमा २ जना सल्लाहकार र २ जना आमन्त्रित सदस्यसहित १३ जना रहेका छन् । समितिको सभापतिमा अम्बिका प्रसाद पौडेल उपसभापतिमा रामशरण थपलिया रहेका छन् ।

त्यस्तै सदस्यहरुमा निर्माण श्रेष्ठ, मेख बहादुर थापा, सन्तोष मैनाली, प्रियराज रेग्मी, विष्णु प्रसाद वस्याल, राजन लम्साल र ज्योति दाहाल रहेका छन् ।

यस्तै आमन्त्रित सदस्यहरुमा उषा खतिवडा र अनन्त कुमार पौडेल रहेका छन् भने सल्लाहकारमा कुमारकेशर विष्ट र धु्रव तिमिल्सिना रहेका छन् ।

शुक्रबार बसेको बैठकबाट उक्त समितिले पूर्णता पाउनुका साथै आगामी दिनका गर्ने प्रमुख १० कामको विषयमा पनि छलफल भएको छ । छलफलमा शुक्रबार बसेको बैठकले महासघंको छवि तथा प्रतिष्ठालाई अझ बढी शशक्त रुपमा अगाडी बढाउन काम गर्ने, पूँजीबजारसँग सरोकार राख्ने सबै निकायहरुबीच सहकार्य र समन्वय गरी बजारको बिकास र विस्तार गर्ने निर्णय गरेको छ ।

यस्तै पुँजीबजारमा वैदेशिक लगानी भित्र्याउन, पुँजीबजार सम्बन्धि ऐन कानुनमा समसामयिक सुधार गर्नको लागि सुझाव दिने, पहिलो र दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ताहरुलाई आवश्यक पर्ने भरपर्दाे सुचनाहरु प्रदान गर्नको लागि आवश्यक काम गर्ने, मर्चेन्ट बैंकिङ तथा ब्रोकरेज व्यवसायको कार्य र क्षेत्र विस्तारका र संख्या थप गर्नका लागि पहल गर्ने विषयमा छलफल भएको छ ।

यस्तै ओटिसी मार्केटलाई थप व्यवस्थित गर्न पहल गर्ने, शेयर खरिद बिक्री लाभकरमा रहेको अन्यौलको निराकरण गर्न र समयसापेक्ष सुधार गर्नको लागि पहल गर्ने, वास्तविक क्षेत्रका कम्पनीहरुलाई पूँजीबजारमा आकर्षित गरि लगानीको क्षेत्रलाई अझै फराकिलो बनाउन पहल गर्ने, लगानीकर्ताहरुका लागि भरपर्दो र मजबुत ब्यबसायको रुपमा यो क्षेत्रलाई स्थापित गर्न, प्रविधि र पँहुचको हिसाबले बजारलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनका लागि सम्बन्धित निकायहरुसँग सहकार्य गरि अघि बढ्ने विषयमा छलफल भएको छ ।

पुँजीबजारमा लगानीका लागि अन्तर्राष्ट्रिय बजारमा चलिआएका बैकल्पिक औजारहरु (इक्यूटी डेरिभेटिभ, सटसेल, इन्डेक इन्डेक्स डेरिभिटीभ लगायत) ल्याउनको लागि पहल गर्ने विषयमा पछि छलफल भएको छ ।


क्लिकमान्डु