नाफा बढाउन सेयर बेच्ने एनआईसी एशियाको योजना असफल, खरिदकर्ता नहुँदा सेयर बिक्री भएन



काठमाडौं । एनआइसी एशिया बैंकले आफ्नो स्वामित्वको सेयर बिक्री सकेको छैन । बैंकले विभिन्न लघुवित्त तथा बीमा कम्पनी र अन्य संस्थाहरुमा आफ्नो स्वामित्वमा रहेको सेयर लिलामीमा बिक्री गर्न पटक पटक बोलपत्र आह्वान गरिरहेको छ ।

बैंकले गत पुस २७ गते नै नागरिक लगानी कोष, नेशनल लाईफ इन्स्योरेन्स र सूर्या लाईफ इन्स्योरेन्सको आफ्नो स्वामित्वको संस्थागत सेयर बोलपत्रमार्फत बिक्री गर्ने सुचना जारी गरेको थियो ।

बैंकले नागरिक लगानी कोषको २ लाख २ हजार ५ सय ६० कित्ता, नेशनल लाईफ इन्स्योरेन्सको ९४ हजार कित्ता र सूर्या लाईफ इन्स्योरेन्स १ लाख ८५ हजार ६ सय ९४ कित्ता संस्थागत सेयर बिक्री गर्न बोलपत्र आह्वान गरेको थियो । जसमा पुस २७ गतेदेखि माघ ५ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न बैंकले इच्छुक लगानीकर्तालाई आवेदन पेश गर्न भनेको थियो ।

तर सो अवधिमा बैंकको स्वामित्वका सेयरमध्ये एशियन लाईफ इन्स्योरेन्सको सेयरमात्र बिक्री भएको बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलका सीइओ रामेन्द्र रायमाझीले जानकारी दिए । बैंकले तोकेकै सेयर मूल्यमा सेयर खरिदमा आवेदन नपरेको हुँदा समयमा नै बिक्री हुन नसकेको उनले बताए ।

बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको सेयर प्रतिकित्ता १ हजार ३ सय ८४ रुपैयाँ, नेशनल लाईफ इन्स्योरेन्सको ४ सय ८२ रुपैयाँ र सूर्या लाईफ इन्स्योरेन्सको ३ सय ६५ रुपैयाँका दरले नघट्ने गरी बोलपत्र पेश गर्न आह्वान गरेको थियो ।

प्रथम पटक सेयर बिक्री नभएपछि बैंकले पुनः माघ ८ गते माघ १६ गतेसम्म बोलपत्र पेश गर्न आह्वान गरेको छ । थप गरिएको समयमा बैंकको सेयर बिक्री हुने बिक्री प्रबन्धक एनआइसी क्यापिटलको दावी छ ।

बैंकले यस बाहेक पनि माघ ८ गते अन्य ३ वटा लघुवित्त संस्थाहरुमा भएको आफ्नो संस्थागत सेयर बिक्री गर्ने बोलपत्र आह्वान गरेको छ । माघ १२ गतेसम्म बोलपत्र पेश गर्न सकिने गरी बैंकले आरएमडीसी लघु वित्त, माहुली सामुदायीक लघु वित्त र मेरोमाइक्रोफाइनान्सको संस्थागत सेयर बिक्री गर्न बोलपत्र हाह्वान गरेको हो ।

जसमा आरएमडीसी लघुवित्तको ४ लाख ३६ हजार ३ सय ६१ कित्ता सेयर प्रतिकित्ता ५ सय २३ रुपैयाँ, माहुली सामुदायीक लघु वित्तको ६१ हजार २ सय कित्ता सेयर प्रतिकित्ता ८ सय १२ रुपैयाँ र र मेरोमाइक्रोफाइनान्स ५ लाख ९८ हजार ५ सय ९८ कित्ता सेयर प्रतिकित्ता ४ सय ३६ रुपैयाँका दरले बिक्री गर्ने भएको हो ।

यसरी बैंकले आफ्नो स्वामित्वमा विभिन्न संघ संस्थामा रहेको संस्थागत सेयर बिक्री गरेर नै ५५ करोड ५० लाख ६२ हजार रुपैयाँ नाफा देखाउन मिल्छ ।


क्लिकमान्डु