माघ ११ देखि ‘टी प्लस टू’ कार्यान्वयन हुने, यस्ता छन् लगानीकर्ता र राफसाफ सदस्यले गर्नुपर्ने काम



काठमाडौं । सिडिएससीले माघ ११ गते देखि लागु टी प्लस टू कार्यान्वयन गरेको छ ।

धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौट संशोधित विनियमावली अनुसार कारोबार भएको दिन बाहेक दुई कार्य दिन टि प्लस टू मा हुने व्यवस्था गरेको छ ।

यसले धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौट चक्र छोटिएसँगै बजारमा धितोपत्रको तरलतामा वृद्धि हुन गई समग्र पूँजी बजार थप चलायमान हुने र लगानीकर्ताहरुलाई थप लाभ मिल्ने जनाएको छ ।

सिडिएससीले उक्त कार्यले धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौट चक्रलाई दुई कार्य दिन भित्र सम्पन्न गर्न बाटो खुलेको छ । दुई कार्य दिन भित्र कारोबारलाई राफसाफ गर्नको लागि धितोपत्र कारोबार राफसाफ तथा फछ्र्यौट विनियमावली-२०६९ को उपविनियम १३ लाई संशोधन गरि नेपाल धितोपत्र बोर्डमा स्वीकृतिका लागि पेस थियो ।

त्यसलाई बोर्डले पुस २४ मा स्वीकृति दिएको थियो । त्यसपछि सिडिएससीको सञ्चालक समितिको निर्णयानुसार माघ ११ गते देखि लागु हुने गरी कारोबारको राफसाफ तथा फछ्र्यौट यसै संशोधित विनियमावली अनुसार कारोबार भएको दिन बाहेक दुई कार्य दिनमा हुने व्यवस्था गरेको हो ।

सिडिएससीले टि प्लस टू कार्यान्वयन गरेपनि धितोपत्रको बिक्री गर्ने लगानीकर्ताले आफूले बिक्री गरेको धितोपत्रको राफसाफ तथा फछ्र्यौटका लागि इडिआईएस जारी गर्दा टी प्लस वान अर्थात कारोबार भएको मितिको भोलिपल्ट भित्रमा जारी गरिसक्ने एडीआईएस जारी गर्न नसक्ने लगानीकर्ताले टी प्लस वान भित्र भौतिक निर्देशन पूर्जी जारी गरी सम्बन्धित निक्षेप सदस्यकोमा बुझाउन आग्रह गरेको छ ।

धितोपत्रको खरिद कारोबार गर्ने लगानीकर्ताले आफूले खरिद गरेको धितोपत्र बापतको रकम सम्बन्धित राफसाफ सदस्यलाई टी प्लस वान अर्थात कारोबार भएको मितिको भोलिपल्टै बुझाउन भनेको छ ।

यस्तै सिडिएससीले राफसाफ सदस्यलाई सम्पूर्ण बिक्री कारोबारको पूँजीगत लाभकर गणनाका लागि आवश्यक डब्लूएसीसी सम्बन्धी विवरण बिक्रीकर्ताले लगानीकर्ता बाट प्राप्त गरि टी प्लस टू को बिहान ११ बजे भित्र राफसाफ तथा फछ्र्यौट प्रणालीमा प्रविष्टि गर्न भनेको छ ।

धितोपत्रको विक्री कारोवार गर्ने राफसाफ सदस्यले सम्पूर्ण विक्री कारोबारको राफसाफ तथा फछ्र्याैट कार्यका लागि आवश्यक धितोपत्र आफ्नो राफसाफ खातामा जम्मा भएको यकिन गरी कुनै बिक्रीकर्ताले निर्धारित समयावधि भित्र आफ्नो राफसाफ खातामा जम्मा नगराएको खण्डमा टी प्लस टूको मध्यान्न १२ बजे भित्र सो बिक्रिकर्ताको बिक्री कारोबारको सर्टेज मार्क गरिसक्न भनेको छ ।

धितोपत्रको खरिद कारोबार गर्ने राफसाफ सदस्यले सम्पूर्ण बिक्री तथा खरिद कारोबारको गणना गरी उक्त नेटिङ्ग पछि हुने रकम तथा अन्य कमिसन बुझाउनुपर्ने देखिएमा टी प्लस टूको मध्यान्न १२ बजे भित्र आफ्नो राफसाफ बैंकमा रहेको राफसाफ खातामा जम्मा गरिसक्न भनेको छ ।

धितोपत्रको खरिद कारोवार गर्ने राफसाफ सदस्यले राफसाफ भैसकेको धितोपत्र सम्बन्धित खरिदकर्ताको हितग्राही खातामा टी प्लस टूमा राफसाफ तथा फछ्र्याैट सकेपछि राफसाफ तथा फछ्र्याैट प्रणाली हस्तान्तरण गर्न भनेको छ ।

यस्तै निक्षेप सदस्यलाई सिडिएससीले हरेक दिन बिहान ११ बजे भित्रमा मेरो शेयर मार्फत प्राप्त इडीआईएसको फाईल जेनेरेट गरि केन्द्रीय निक्षेप प्रणालीमा अपलोड गरि सोको कारोबार सफल भएको यकिन गरि मेरो शेयरमा इडीआईएस फाईल प्रोसेस गर्न भनेको छ ।

ईडीआईएस जारी गर्न नसक्ने लगानीकर्ताले प्रदान गरेको भौतिक निर्देशन पूर्जी तत्काल प्रणालीमा प्रविष्टि गरि त्यसको जानकारी सम्बन्धित लगानीकर्तालाई गराउन आग्रह गरेको छ ।

सिडिएससीका अनुसार राफसाफ बैंकले हरेक दिन राफसाफ तथा फछ्र्याैट प्रणालीमा प्राप्त निर्देशन बमोजिम राफसाफ सदस्यको पुल खाताहरू, राफसाफ गृहको राफसाफ खाता तथा विभिन्न कमिसन खाताहरूमा आवश्यक रकम डेविट वा क्रेडिट गरि त्यसको जानकारी प्रणालीमा प्रविष्टि गर्न भनेको छ ।

परिमार्जित चक्र अनुसार धितोपत्रको राफसाफ तथा फछ्र्यौट कार्य निर्धारित समयावधि भित्र सम्पन्न गर्न सम्बन्धित सम्पूर्ण सरोकारवालाहरूले आ–आफ्नो दायित्व पुरा गरि राफसाफ प्रक्रिया सम्पन्न गर्न समेत आग्रह गरेको छ ।


क्लिकमान्डु