दैनिक औसत १७ हजारले खोल्छन डिम्याट, कुल संख्या साढे २५ लाख नाघ्यो



काठमाडौं । अहिले सेयर बजारमा प्रवेश गर्ने नेपालीहरुको संख्या निकै बढेको छ । तथ्यांक अनुसार कुल जनसंख्या ३ करोडलाई आधार मान्दा ८ प्रतिशतभन्दा बढी जनसंख्या सेयर बजारमा प्रवेश गरिसकेका छन् ।

दोस्रो बजारले पनि दैनिकरुपमा आफ्नो नयाँ रेकर्ड कायम गरिरहेको छ । यही बेलामा आईपीओमा लगानी गर्नका लागि पनि नयाँ लगानीकर्ता थपिने क्रम बढेको छ ।

सीडीएससीका अनुसार पछिल्लो एक साताको तथ्याङक हेर्दा दैनिकरुपमा १६ हजार ९५६ जनाले डिम्याट खाता खोलिरहेका छन् ।

विगत एक साताको तथ्याङक हेर्दा १ लाख १८ हजार ६९४ जनाले डिम्याट खाता खोलेका छन् । यस्तै एक महिनाको तथ्याङक हेर्ने हो भने २ लाख ३५ हजार ६३९ जनाले डिम्याट खाता खोलेका छन् ।

त्यस्तै मेरो सेयर सेवा लिनेको संख्या पनि दैनिक रुपमा बढिरहेको छ । अहिले दैनिक कार्यदिनमा लगानीकर्ताले दैनिक रुपमा १३ हजार ६९ जनाले मेरो सेयर सेवा लिएरहेका छन् । विगत एक साताको तथ्याङक हेर्दा ९१ हजार ४८८ जनाले यो सेवा लिएका छन् भने विगत एक महिनामा २ लाख १३ हजार २६६ जनाले यो सेवा लिएका छन् ।

यो खाता नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओको लागि नै खोलिएको हो । अहिले हालसम्मकै ठूलो ८ अर्ब रुपैयाँको आइपीओ जारी भइरहेको छ । उक्त आईपीओमा आवेदन दिने समय भोलि (माघ ६ गते)सम्म छ । यो आईपीओलाई लिएर सबैतिर चर्चा चलेको छ । डिम्याट खोल्नेदेखि आवेदनदिनेहरुको पनि बैंक तथा वित्तीय संस्था, मर्चेन्टबैैंकहरुमा भिड नै लागेको छ ।

इन्फ्रास्ट्रक्चर बैंकले जारी गरेको आईपीओका कारण पनि डिम्याट खाता खोल्नेको संख्या बढेको हो । सबैलाई पर्ने भनिएकाले पनि डिम्याट खोल्नेहरुको संख्या बढेको हो ।


क्लिकमान्डु