२४ वटा माइक्रोफाइनान्सले लाभांश घोषणा गरे, कुनको कति ?



काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएका ५२ वटा माइक्रोफाइनान्स कम्पनीमा हालसम्म २४ वटाले मात्रै लाभांश घोषणा गरेका छन् । पुस मसान्त सकिँदा पनि २८ वटा कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभांश घोषणा गरेका छैनन् ।

लाभांश घोषणा गरेका कम्पनीको सबैभन्दा बढी ३१.५८ प्रतिशत लाभांश छ भने सबैभन्दा कम ३.६८ प्रतिशत छ । आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले लगानीकर्तालाई २५ प्रतिशत बोनस र ६.५८ प्रतिशत नगदसहित ३१.५८ प्रतिशत लाभांश दिने भएको हो ।

सबैभन्दा कम सिभिल लघुवित्त वित्तीय संस्थाले ३.६८ प्रतिशत लाभांश दिने भएको छ । जसको बोनस ३.५ प्रतिशत रहेको छ ।

गत आवको नाफाबाट सेयरधनीहरुलाई २० प्रतिशतभन्दा बढी लाभांश दिने कम्पनीको संख्या १३ वटा छ । १३ वटा कम्पनीले लगानीकर्तालाई २० प्रतिशतभन्दा बढी लाभांश दिने प्रस्ताव गरेका छन् । ९ वटा कम्पनीको १० देखि २० भित्र रहेको छ भने २ वटा कम्पनीको लाभांश त्योभन्दा कम नै रहेको छ ।

यो अवधिमा लाभांश घोषणा गरेका कम्पनीमा सबैभन्दा बढी बोनस दिनेमा ओमी माइक्रोफाइनानस छ । ओमीले बोनस मात्रै ३० प्रतिशत दिन लागेको हो । आमीपछि धेरै बोनस दिने कम्पनीमा ग्लोबल आईएमई लघुवित्त रहेको । कम्पनीले २७.४७ प्रतिशत बोनस दिने भएको छ ।

त्यसपछि फरवार्ड कम्युनिटी र साना किसान विकास बैंकले २५ प्रतिशत लाभांश दिन लागेको छ । यस्तै छिमेकले २२ प्रतिशत, नेशनल माइक्रोफाइनान्सले २१, समताले २० प्रतिशत बोनस दिने भएका छन् । सबैभन्दा कम बोनस सिभिल लघुवित्त वित्तीय संस्थाको रहेको छ । संस्थाले ३.५ प्रतिशत मात्रै बोनस दिने प्रस्ताव गरेको छ । कम्पनीहरुले गरेको प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर आगामी साधारणसभाले पारित गरेपछि मात्रै लगानीकर्ताले पाउने छन् ।

अहिले नेप्सेमा सूचीकृत सबै कम्पनीहरुले धमाधम लाभांश घोषणा गरिहेका छन् । तर पनि कम्पनीहरुले पुस मसान्तसम्म लाभांश घोषणा गरेर साधारणसभा नै गरिसक्नु पर्ने हो । तर कम्पनीहरुले त्यसमा बेवास्था गरेका छन् । कम्पनीहरुले समयमा नै लाभांश दिएको खण्डमा लगानीकर्ताले कस्तो÷कुन कम्पनीमा लगानी गर्ने भन्ने निर्णय लिन सजिलो हुने थियो । तर कम्पनीहरु लगानीकर्ताप्रति इमान्दार नबन्दा समस्या देखिन थालेको लगानीकर्ताको गुनासो रहेको छ ।


क्लिकमान्डु