बैंकले उछाल्यो सेयर बजार, कुन उपसमूहको सूचक कस्तो ?



काठमाडौं । विगत एक महिना यता नेपालको पुँजीबजार २३१.३३ अंकले बढेको छ । पुस १ गते २०५५.२२ बिन्दुमा रहेको नेप्से इन्डेक्स पुस २९ गतेसम्म आइपुग्दा २३१.३३ अंकले बढेर २२८६.५५ बिन्दुमा रोकिएको छ ।

पछिल्लो समयमा सेयर बजारमा उछाल आउने क्रम निकै नै बढेको छ । सेयर बजारले दैनिकरुपमा आफ्नो रेकर्ड ब्रेक गर्दै नयाँ–नयाँ रेकर्ड बनाउँदै गएको छ ।

पुँजी बजारमा लगभग ८० प्रतिशतको हाराहारीमा बैंकिङ समूहको योगदान रहेको बताइँदै आएको छ । समग्र पुँजी बजारको बढोत्तरी र सँगै बैंकिङ समूहको उपसूचकको पनि बढोत्तरी सँग सँगै देखिएको छ ।

यो एक महिनाको अवधिमा बैंकिङ समूहको उपसूचक २२९.८९ अंकले बढेको छ ।

नेप्सेका अनुसार पुस १ गते १५०४.६७ बिन्दुमा रहेको बैंकिङ समूहको उपसूचक एक महिनापछि पुस २९ गतेसम्म आईपुग्दा यो २२९.८९ अंकले बढेर १७३४.५६ बिन्दुमा पुगेको छ ।

अहिले पनि बजारको बढोत्तरीमा बैंकिङ समूहको योगदान महत्वपूर्ण रहँदै आएको छ । अधिकांश कारोबार दिनमा बजार बढनुमा बैंकिङ समूहको योगदान बढी नै देखिएको छ ।

पुसको सुरुका केही कारोबार दिनमा बैंकिङ समूहको उपसूचकमा केही गिरावट आएपनि अधिकांश कारोकार दिनमा बढोत्तरी देखिएको छ । १५०४.६७ बिन्दुबाट घटेर पुस ६ गते १४५५.०५ बिन्दुमा पुगेको थियो । त्यसपछि क्रमैसँगै बजारको बढोत्तरीसँगै बैंकिङ समूहको उपसूचकमा पनि सुधार आएको छ ।

यो एक महिनाको अवधिमा होटल समूहको उपसूचकमा गिरावट आएको छ भने बाँकी सबै समूहको उपसूचकमा सुधार देखिएको छ ।

यो अवधिमा होटल समूहको उपसूचक एक महिनाको अवधिमा ८३.१३ अंकले गरेको छ । २००८.३२ बिन्दुमा रहेको होटल समूहको उपसूचक १९२५.१९ बिन्दुमा झरेको छ ।

त्यस्तै अन्य समूहको १६९५.८३ अंकले बाट ९३.८१ अंकले बढेर १७८९.६४ बिन्दुमा रोकिएको छ । नेप्सेका अनुसार यो एक महिनाको अवधिमा जलविद्युत समूहको उपसूचक १०२.४२ अंकले बढेर १७८३.३४ बिन्दुमा पुगेको छ ।

पछिल्लो केही समय यता जलविद्युत समूहमा धेरै नै सुधार देखिएको छ । कुनै समय प्रति कित्ता एक सय रुपैयाँ भन्दा कम मूल्य रहेको जलविद्युत् कम्पनीको सेयर मूल्य अहिले धेरै नै बढेको छ । प्रति कित्ता सय रुपैयाँ भन्दा कम मूल्य भएका कम्पनी छैनन् । सबैको मूल्यमा सुधार आउँदा उपसूचकमा समेत प्रभाव परेको छ ।

त्यस्तै विकास बैंकको १७९.४७ अंकले बढेर २३८७.०६ अंकमा पुगेको छ । पुस १ मा २२०७.३० बिन्दुमा रहेको थियो । यस्तै एक महिनाको अवधिमा उत्पादन तथा प्रशोधन समूहको उपसूचक ४८३५.७९ बिन्दुबाट ११३८.२३ अंकले बढेर ५९७४.०२ बिन्दुमा रोकिएको छ ।

निर्जीबन बीमा कम्पनीको ८७७.७७ अंकले बढेको छ । पुस १ गते ९७९९.०५ बिन्दुबाट बढेर १० हजार ६७६.८२ बिन्दुमा रोकिएको छ । वित्त समूहको उपसूचक ११०.८७ अंकले बढेको छ । पुस १ गते ८९२.४३ बिन्नुमा रहेको वित्त समूहको उपसूचक ९९३.८२ बिन्दुमा रोकिएको छ ।

यस्तै माइक्रोफाइनान्स समूहको उपसूचक पनि ३३४७.९१ बिन्दुबाट २६९.९४ अंकले बढेर ३६१७.८५ बिन्दुमा रोकिएको छ भने जीवन बीमा समूहको उपसूचक पुस १ गते १३ हजार ५३२.३७ बिन्दुमा रहेकोमा एक महिनामा ११२१.६६ अंकले बढेर १४ हजार ६५४.०३ बिन्दुमा रोकिएको छ ।


क्लिकमान्डु