कोरोना कहरमै ३०० प्रतिशतले किन बढ्यो साल्ट ट्रेडिङको सेयर मूल्य ?



काठमाडौं । गत चैत ११ गतेदेखि लकडाउन हुनुभन्दा अघिल्लो दिन साल्ट ट्रेडिङ कर्पोरेशनको सेयर मूल्य एक कित्ता बराबर २ हजार ४ सय रुपैयाँ थियो । आज ९ महिनापछि उक्त सेयर मूल्यमा करिब ३ सय प्रतिशतले बढेर ७ हजार रुपैयाँ पुगेको छ ।

गत साउन महिनासम्म पनि सामान्य वृद्धि भएको साल्ट ट्रेडिङको सेयर मूल्य त्यसपछि भने लगातारजसो उछाल देखिएको छ । यतिसम्म कि कर्पोरेशनको सेयर मूल्य गत मंसिर १० गते ८ हजार रुपैयाँसम्म पुग्यो ।

मुलुकको आर्थिक गतिविधि कोरोना कहरमा संकुचित भएको समयमा पनि कर्पोरेशनको सेयर मूल्यमा भने अस्वभाविक उछाल देखिएको छ । कर्पोरेशनका अधिकारीहरुले व्यापार विविधिकरण र पुँजी बढाउने कर्पोरेशनको योजना सार्वजनिक गरेपछि त्यसको प्रभाव सेयर मूल्यमा देखिएको हो ।

गत आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत नगद र २५ प्रतिशत बोनश गरी ३५ प्रतिशत लाभाशं वितरण गरिसकेको छ । त्यसयता सेयर बजारमा कर्पोरेशनको सेयर किन्नेहरुको चाप उच्च छ ।

बोनश सेयर वितरण गरेपछि कम्पनीको चुक्ता पुँजी १९ करोड रुपैयाँ पुगेको छ । यो पुँजीले पनि व्यापार विस्तार र विविधिकरणका लागि निकै कम भएको निष्कर्ष निकाल्दै पुँजी बढाउने प्रयास थालिएको छ ।

लाभांशपछि पुस ६ गते मूल्य समायोजन भएपछि कम्पनीको मूल्य ५ हजार ६० रुपैयाँ कायम भएको थियो । अहिले कम्पनीको सेयर मूल्य ७ हजार रुपैयाँको हाराहारी छ । नेप्सेमा बुधबार ६ हजार ९ सय ३० रुपैयाँमा अन्तिम कारोबार भएको छ । कम्पनीको बजारपुँजीकरण १३ अर्ब ३० करोड ३५ लाख रुपैयाँ पुगेको छ ।

‘अबको ३ महिनाभित्रै गत आर्थिक वर्षको साधारणसभा सम्पन्न गर्ने तयारीमा जुटेका छौँ,’ कर्पोरेशनका प्रवक्ता कुमार राजभण्डारीले क्लिकमाण्डूसँग भने, ‘गत वर्षको नाफा र रिजर्भमा भएको पैसाले बोनश सेयर दिएर पुँजी बढाउने कि हकप्रद सेयर निष्काशन गर्ने भन्ने विषयमा आन्तरिक छलफल भइरहेको छ ।’

व्यापार विविधिकरणका लागि कम्पनीले स्रोत जुटाउन बैंकबाट कर्जा लिने अवस्था पनि अहिले छैन । राष्ट्र बैंकको व्यवस्था अनुसार पनि २० प्रतिशत लगानी ऋणीको भएमात्र त्यसमा बैंकले थप कर्जा लगानी गर्न पाउँछ ।

कर्पोरेसनसँग बढाउनका लागि हकप्रद सेयर, एफपीओ तथा बोनश सेयरको विकल्पहरु छन् । रिर्जभमा सवा अर्ब रुपैयाँ भएकाले बोनश सेयरमार्फत् नै पुँजी बढाउने तयारी थालिएको एक सञ्चालकले जानकारी दिए ।

कर्पोरेशनले वार्षिक करिब ९ अर्ब रुपैयाँको कारोबार गर्छ । नुन खरिदबिक्रीका लागि एकाधिकार पाएको कर्पोरेशनले रासायनिक मललगायत अन्य वस्तुहरुको समेत कारोबार गर्दै आएको छ ।

आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा आफूलाई स्थापित गर्न सिर्जनशील कारोबारको खोजी गर्दै व्यापार विविधिकरणतर्फ उन्मुख हुने नीति लिएको राजभण्डारीले बताए ।

‘कोरोनालगायत विविध कारणले अन्तरिक तथा बाह्य लगानी तथा व्यापार, व्यवसायका अवसरहरु हामीलाई धेरै आएका छन्,’ उनले भने, ‘जसका लागि थप चुक्ता पुँजीको आवश्यकता पर्ने हुँदा नै अघिल्लो आवको मुनाफाबाट चुक्ता पुँजीको २५ प्रतिशत बोनश सेयर वितरण गरिएको हो ।’

व्यापारको अवसर अनुसार कम्पनीसँग पुँजी नभएको हुँदा अहिले मुख्य एजेण्डा नै पुँजीवृद्धि भएको उनको भनाइ छ ।

कर्पोरेशनले झण्डै ५ अर्ब रुपैयाँ बराबरको अल्पकालिन ऋण विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको छ ।

‘बैंक तथा वित्तीय संस्थाले थप कर्जा दिन चाहे पनि नीतिले अब हामीले थप कर्जा लिन मिल्दैन,’ उनले थपे, ‘चालु दायित्वअनुसार जति कर्जा उपयोग गर्न पाउने हो त्यसमा कर्जा उपयोग भइसकेको छ ।’

उक्त ऋणका लागि पनि पूँजी वृद्धि गर्नुपर्ने आवश्यता भएको उनको भनाइ छ ।

व्यापार विविधिकरणकै लागि कम्पनीले भूकम्प प्रतिरोधी भवन निर्माण गरी बिक्री वितरण गरिरहेको छ भने अन्य विभिन्न स्थानमा व्यवसायीक भवन निर्माण गरिरहेको छ । साथै, कम्पनीलाई स्वास्थ्य सेवा र अन्य विभिन्न क्षेत्रका ट्रेडिङ अवसर आएको उनले जानकारी दिए ।


क्लिकमान्डु