१० महिनामा पौने ८ लाख डिम्याट खाता थपियो, पुसको ३ सातामा १ लाख ५७ हजार
काठमाडौं । पछिल्लो १० महिनामा डिम्याट खाता पौने ८ लाखले थपिएर २४ लाख २८ हजार ३३४ पुगेको छ । सीडीएससीका अनुसार १० महिनामा ७ लाख ७० हजार ५४९ वटा डिम्याट खाता खोलिएका छन् ।
कोरोना महामारी शुरु भएपछि मुलुकमा लागू भएको लकडाउनपछि धेरै मानिसहरु डिम्याट खाता खोल्ने बढेका हुन् ।
लकडाउनको समयमा मानिसहरु सेयर बजारप्रति बढी आकर्षित भएकाले पनि डिम्याट खाता धेरै खुलेका हुन् ।
चैत ११ गतेदेखि शुरु भएको लकडाउनसँगै सेयर बजार बन्द भएको थियो । त्यसपछि जेठ अन्तिममा २ दिन सेयर बजार खुले पनि नियमितरुपमा असार १५ पछि सेयर बजार खुलेको थियो ।
लकडाउनको समयमा ब्रोकर कार्यालय बन्द हुने र अनलाइनबाट हुने सेयर कारोबार बढ्न थाल्यो । यसबीच राम्रा मानिएका कम्पनीहरुले साधारण सेयर (आईपीओ) पनि जारी गरे । त्यसपछि डिम्याट खोल्ने क्रम पनि निकै बढेको सीडीएससीको तथ्याङकले देखाएको छ ।
डिम्याट खोल्ने क्रम बढेसँगै पछिल्लो समयमा साधारण सेयर (आईपीओ)मा आवेदन दिनेको संख्या पनि धेरै नै बढेको छ । जसले गर्दा पनि डिम्याटकोे संख्या बढाएको हो । सीडीएससीका अनुसार १० महिनाको अवधिमा पनि सबैभन्दा बढी असार यता देखिएको छ ।
सीडीएससीका अनुसार चैतमा जम्मा १०८ जनाले मात्रै डिम्याट खाता खाता खोलेका थिए । त्यसपछि यो क्रम केही बढदै गएको देखिएको छ ।
यो वर्षको पहिलो महिना वैशाखमा ८३२ जना, जेठमा १ हजार ७२४ जनाले डिम्याट खाता खोलेका थिए । त्यसपछिको महिनादेखि यो क्रम बढेको देखिएको छ ।
सीडीएससीका अनुसार असार महिनामा डिम्याट खाता खोल्नेको क्रम बढेर १ हजार ७२४ बाट बढेर ६७ हजार ९९० पुगेको छ । त्यस्तै साउन महिनामा ८४ हजार ४५८ जनाले डिम्याट खाता खोलिएका छन् भने भदौमा ८२ हजार २०८ वटा खाता खोलिएको छ ।
त्यसैगरी असोज महिनामा १ लाख ९६ हजार १३१ वटा, कात्तिकमा ६५ हजार ४६९ वटा, मंसिरमा १ लाख १३ हजार ८६५ वटा र पुसमा १ लाख ५७ हजार ७६४ वटा डिम्याट खाता खोलिएका छन् ।
डिम्याट खाताको संख्या बढेसँगै आइपीओमा पनि आवेदन दिनेहरुको संख्या बढेको छ । जसका कारण मागभन्दा कैयन गुणा आवेदन पर्ने र गोलाप्रथाबाट बाँडफाँट गर्नुपर्ने अवस्था आएको छ ।
अहिले बजारमा इन्फ्रास्ट्रक्चर बैंकले जारी गर्न लागेको हालसम्मकै ठूलो ८ अर्ब रुपैयाँको आइपीओका कारण पनि डिम्याट खाता खोल्ने संख्या बढिरहेको छ । बैंकले माघ २ गतेबाट आइपीओ जारी गर्दैछ ।