शेयर बजारमा नयाँ रेकर्ड कायम



आइतबार शेयर बजारमा परिसूचक नेप्सले नयाँ रेकर्ड कायम गरेको छ ।

नेप्से परिसूचक ४.२२ प्रतिशत अर्थात ८८.१२ अंकले बढेर २ हजार १ सय ७५.३९ विन्दुमा बन्द भएको छ । यो अंक अहिले सम्मकै उच्च हो ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ४.३१ प्रतिशत अर्थात १७.१८ अंकले बढेर ४१५.८८ अंकमा बन्द भएको छ ।

दिनभर २१२ कम्पनीको ६ अर्ब ३४ करोड ४० लाख १७ हजार रुपैयाँ बराबरको १ करोड ४० लाख २६ हजार ८ सय ८६ कित्ता सेयर खरिदबिक्री भएको छ ।

सूचीकृत कम्पनीहरुबाट सर्वसाधारणमा जारी भएका सेयरहरुको मात्रै कारोबार मापन गर्ने परिसूचक फ्लोट परिसूचक पनि ४.१ प्रतिशत अर्थात ५.८२ अंकले बढेर १ सय ४७.७४ अंकमा बन्द भएको छ ।

त्यस्तै सन्सेटिभ फ्लोट परिसूचक पनि ३.९७ प्रतिशत अर्थात ५.०७ अंकले बढेर १३२.९७ अंकमा बन्द भएको छ ।

बजारले नयाँ उचाई बनाउँदै जाँदा लगानीकर्तामा उमंग थपिएको छ । जसका कारण बजारमा शेयरको माग बढेको छ ।

अर्कोतर्फ वित्तीय प्रणालीमा पनि अधिक तरलता छ । बैंक ब्याजदर पनि सस्तो भएको छ । बजार निरन्तर बढ्दै जाने र शेयर खरिदका लागि कम ब्याजदरमा सहजै बैंकले रकम उपलब्ध गराउने भएपछि लगानीकर्ताले शेयरको माग बढाएको देखिन्छ ।

त्यस्तै कोभिड–१९ का कारण अन्य वास्तविक क्षेत्र सुस्ताएकाले पनि नयाँ र ठूला लगानीकर्ताको प्रवेश शेयर बजारमा हुने क्रम पनि बढ्दै गएको छ । त्यसैले हरेक दिन शेयर बजारमा रौनकता देखिएको मान्न सकिन्छ ।

आइतबार कारोबारमा आएका सबै समूह बढेका छन् ।

सबैभन्दा धेरै व्यापार समूह ९.६४ प्रतिशतले बढेको छ । त्यसपछि अन्य समूह ६.१९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ४.८६ प्रतिशत, बैंकिङ समूह ४.४७ प्रतिशत, जीवन बीमा समूह ४.०९ प्रतिशत, निर्जीवन बीमा समूह २.८४ प्रतिशत, जलविद्युत् समूह २.४६ प्रतिशत, लघुवित्त समूह २.३६ प्रतिशत, विकास बैंक समूह २.१६ प्रतिशत, होटल समूह १.८५ प्रतिशत, फाइनान्स समूह ०.८८ प्रतिशत र म्युचुअल फण्ड समूह ०.२१ प्रतिशतले बढेको छ ।

आज सबैभन्दा धेरै शेयर कारोबार नेपाल लाइफ इन्स्योरेन्सको ५० करोड ९५ लाख ७५ हजार रुपैयाँ, प्राइम कमर्सियल बैंकको ५० करोड २६ लाख २ हजार रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै नेपाल दुरसंचार प्राधिकरणको ४५ करोड ७ लाख ९१ ह्जार रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको २७ करोड ५२ लाख ५९ हजार रुपैयाँ, एनआईसी एशिया बैंकको २७ करोड ३७ लाख ९६ हजार रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।

आज हिमालयन डिस्टिलरीका शेयरधनी र साल्ट ट्रेडिङ कर्पोरेशनका सेयरधनीले १० प्रतिशतले कमाएका छन् । यस्तै ९ प्रतिशतभन्दा माथि कमाउने कम्पनीका शेयरधनीहरुमा नेपाल पुनर्बीमा कम्पनी, प्राइम कमर्सिय बैैंक, कुमारी बैंक, गुराँस लघुवित्त वित्तीय संस्था, नेशनल लघुवित्त वित्तीय संस्थाका छन् ।

बजारमा उच्च वृद्धि भएपनि राधि विद्युत कम्पनी, शिवश्री हाइड्रोपावर लगायत ३० वटा कम्पनीका शेयरधनीले भने गुमाएका छन् ।


क्लिकमान्डु