सेयर बजारप्रति एफएनसीसीआईको चिन्ता, बजार चलायमान बनाउन फोरम गठन



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष शेखर गोल्छाले नेपालको सेयर बजारलाई चलायमानबाट बनाउन महासंघ लाग्ने बताएका छन् । त्यसकै लागि महासंघभित्र पुँजिबजार फोरम खोलेको समेत जानकारी गराए । राजधानीमा आयोजित कार्यक्रममा उनले यस्तो जानकारी गराएका हुन् ।

गोल्छाका अनुसार फोरमले नेपालको पुँजी बजारलाई कसरी आकर्षक बनाउने, कसरी बढीभन्दा बढी लगानी भित्र्याउने, बजारलाई कसरी चलायमान बनाउने भन्नेमा फोरम केन्द्रित भएर काम गर्ने बताए ।

उनका अनुसार समितिले सेयर बजारलाई निकै आकर्षक बाटोमा लैजान प्रयत्न गर्ने दाबी गरे । यतिबेला महासंघले नेपालको पुँजीबजारलाई चलायमान बनाउनको लागि समिति आवश्यक ठानेको जानकारी गराए । अहिले पुँजी बजारमा धेरै नै समस्या देखिएको र त्यो समस्या समाधान गर्न समेत फोरमले काम गर्ने दावी गरे ।

उक्त पुँजी बजार फोरमको सभापतिमा महासंघका कार्यकारिणी समिति सदस्य अम्बिका प्रसाद पौडेल छन् ।

फोरमको उप सभापति एंव सदस्यहरुमा बढीमा ८ जनाको नाम पेश गर्न सकिने छ । फोरमले पुँजी बजारको विकास र विस्तारका लागि क्रियाशील भई काम गर्नेछ । बजारलाई नियमन गर्ने ऐन नियमको प्रभावकारी कार्यान्वयन र ऐन नियमलाई समय सापेक्ष सुधार गर्न सुझाव तयार गर्ने, पुँजी बजारका विषयमा जनचेतना वृद्धि र जानकारीमूलक कार्यक्रम सञ्चालन गर्न सम्बन्धित पक्षसंग समन्वय गर्ने छ ।

पँुजीबजारलाई स्थायी र भरभर्दाे बनाउन नीतिगत सुधार, संस्थागत व्यवस्था र स्वस्थ्य अभ्यासको प्रवद्र्धनमा सहयोग पुग्ने गतिविधि संचालन गर्ने, बजारमा लगानीकर्तालाई लगानी गर्न विश्वसनीय सूचना प्रवाहको व्यवस्था मिलाउन समन्वय गर्ने काम गर्नुपर्ने छ ।

बजारको नियमनकारी निकाय र अरु सम्बन्धित निकायले आयोजना गर्ने, बैठकमा प्रतिनिधित्व गर्ने, पहिलो र दोश्रो बजारमा लगानी गर्ने लगानीकर्तालाई सहयोग र सहजीकरण गर्न ब्रोकर सेवाको विस्तारका लागि पहल गर्ने काममा लाग्ने छ । फोरमले गरेका गतिविधि बारे कार्यकारिणी समितिको वैठकमा जानकारी गराउने र बजार सम्बन्धी सरकारी र गैरसरकारी निकायले आयोजना गर्ने बैठक एवं छलफल कार्यक्रममा प्रतिनिधित्व गर्ने काम गर्ने छ ।

वैठकमा छलफल भएका विषयवस्तुहरु बारे संक्षिप्त रुपमा महासंघको सचिवालयमा जानकारी दिने र त्यसको रेकर्ड राख्ने व्यवस्था गर्ने तथा फोरमले गरेका कार्य तथा गतिविधि बारे कार्यकारिणी समितिको बैठकमा जानकारी गराउने काम गर्ने छ ।


क्लिकमान्डु