उखु किसानलाई पैसा नतिर्ने कुन उद्योगीले बैंकलाई कति तिर्न बाँकी ? (विस्तृत विवरण)



काठमाडौं । करिब २ वर्ष अघिदेखि उद्योगीहरुबाट भुक्तानी नपाएको भन्दै उखु किसानहरु आन्दोलन गरिरहेका छन् । सर्लाहीका ऊखु किसानले विभिन्न ८ वटा चिनी मिलहरुबाट सवा अर्ब रुपैयाँ बढी बक्यौता भुक्तानी लिन बाँकी छ ।

नेपाल उखु उत्पादक किसान संघ, नेपाल उखु उत्पादक महासंघ र किसान हकहित समितिले उखु किसानले भुक्तानीको माग्दै संयुक्त आन्दोलन गरिरहेका छन् ।

गत वर्ष नै चिनी उद्योगीहरुले बक्यौता रकम तिर्न सरकारसँग सम्झौता गरेका थिए । तर सरकारसँग सम्झौता गरे पनि त्यसको कार्यान्यवन नभएको भन्दै हाल सर्लाहीका उखु किसानहरू माइतीघरमा प्रदर्शन गर्द सरकारलाई दवाब दिइरहेको छन् ।

कुन उद्योगले कति तिर्न बाँकी ?

हाल सञ्चालनमा रहेका २९ वटा ठूला चिनी उद्योगहरुमध्ये ८ वटा चिनी उद्योगले किसानलाई कुल १ अर्ब २९ करोड ३४ लाख २६ हजार २ सय ३५ रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

यी उद्योगले डेढलाख रुपैयाँदेखि ३९ करोड रुपैयाँ बढी उखु किसानलाई बक्यौता तिर्न पर्नेछ । जसमा सबैभन्दा बढी एभरेष्ट सुगर एण्ड केमिकलले ३९ करोड ७२ लाख १५ हजार २ सय ७८ रुपैयाँ उखु किसानलाई भुक्तानी गर्न बाँकी छ ।

यसैगरी, अन्नपुर्ण सुगर एण्ड जनरलले ३२ करोड २८ लाख ५९ हजार ९ सय ५४ रुपैयाँ र श्रीराम सुगर मिल्सले ३५ करोड रुपैयाँ उखु किसानको बक्यौता भुक्तानी गर्न बाँकी छ । साथै, लुम्बिनी सुगर इन्डस्टिजले ९ करोड १६ लाख ६१ हजार ३ सय २५ रुपैयाँ, इन्द्र सुगर एग्रोले ५ करोड रुपैयाँ र हिमालय सुगर मिल्सले २ करोड ६१ लाख ७७ हजार ५ सय ३५ रुपैयाँ उखु किसानलाई बक्यौता भुक्तानी गर्न बाँकी छ ।

यसैगरी श्री बाबा बैजुनाथ सुगर एण्ड केमिकल इन्डस्टिजले २ करोड ५३ लाख ६० हजार १ सय ४३ रुपैयाँ र इस्टेन सुगरले १ लाख ५२ हजार रुपैयाँ उखु किसानलाई बक्यौता भुक्तानी गर्न बाँकी छ ।

कुन उद्योगीले बैंकलाई कति तिर्न बाँकी ?

किसानको भुक्तानी तिर्न बाँकी ८ वटा चिनी उद्योगीहरु मध्ये एभरेष्ट सुगर एण्ड केमिकलले राष्ट्रिय वाणिज्य बैंक र सिद्दार्थ बैंकबाट सह वित्तीयकरण (कन्सोल्टियम) मा १४ करोड ८७ लाख ७६ हजार रुपैयाँ ऋण लिएको छ ।

उद्योगको बैंकबाट कर्जा लिनेसक्ने सीमा पनि ६० करोड ५० लाख रुपैयाँ छ । उद्योगले किसानलाई ३९ करोड ७२ लाख रुपैयाँ बढी भुक्तानी तिर्न बाँकी छ ।

यसैगरी, अन्नपुर्ण सुगर एण्ड जनरलले नेपाल इन्भेष्मेन्ट बैंकबाट १ अर्ब ४० करोड ३७ लाख ८९ हजार रुपैयाँ ऋण लिएको छ । उद्योगको बैंकबाट कर्जा लिनेसक्ने सीमा पनि १ अर्ब ४० करोड रुपैयाँ नै रहेको छ । उद्योगले उखु किसानलाई ३२ करोड २८ लाख ५९ हजार ९ सय ५४ रुपैयाँ बक्यौता तिर्न बाँकी छ ।

श्रीराम सुगर मिल्सले नेपाल बैंकबाट २२ करोड ३ लाख २८ हजार रुपैयाँ कर्जा लिएको छ । बैंकले उद्योगलाई कर्जा दिन सक्ने सीमा २२ करोड ६१ लाख २६ हजार रुपैयाँ रहेको छ । उद्योगले उखु किसानलाई ३५ करोड रुपैयाँ उखु किसानको बक्यौता भुक्तानी गर्न बाँकी छ ।

साथै, लुम्बिनी सुगर इन्डस्टिजले एनएमबि बैंक र हिमालयन बैंकबाट कल्सोटियममा ३९ करोड ४१ लाख २७ हजार रुपैयाँ ऋण लिएको छ । यी बैंकहरुले उद्योगलाई दिन मिल्ने कर्जाको सीमा भने ३९ करोड ४४ लाख २० हजार रुपैयाँ रहेको छ । उद्योगले उखु किसानलाई ९ करोड १६ लाख ६१ हजार ३ सय २५ रुपैयाँ बक्यौता भुक्तानी गर्न बाँकी छ ।

इन्द्र सुगर एग्रोले नेपाल इन्भेष्टमेन्ट बैंकबाट २६ करोड २६ लाख ७१ हजार रुपैयाँ कर्जा लिएको छ । बैंकले एदोगलाई दिन मिल्ने कर्जाको सीमा भने २९ करोड ९६ लाख २३ हजार रुपैयाँ रहेको छ ।

उद्योगले उखु किसानलाई ५ करोड रुपैयाँ बक्यौता भुक्तानी गर्न बाँकी छ । साथै, इन्भेष्मेन्ट बैंकले नै हिमालय सुगर मिल्सलाई १ अर्ब २६ करोड २३ हजार रुपैयाँ कर्जा दिएको छ । बैंकले उद्योगलाई दिन मिल्ने कर्जाको सीमा भने १ अर्ब ३३ करोड रुपैयाँ छ । उद्योगले उखु किसानलाई २ करोड ६१ लाख ७७ हजार ५ सय ३५ रुपैयाँ बक्यौता भुक्तानी गर्न बाँकी छ ।

यसैगरी, श्री बाबा बैजुनाथ सुगर एण्ड केमिकल इन्डस्टिजले कुमारी बैंकबाट ८८ करोड रुपैयाँ कर्जा लिएको छ । उद्योगलाई बैंकले कर्जा दिन मिल्ने सीमा पनि ८८ करोड रुपैयाँ नै छ । उद्योगले किसानलाई २ करोड ५३ लाख ६० हजार १ सय ४३ रुपैयाँ बक्यौता भुक्तानी गर्न बाँकी छ ।

साथै, इस्टेन सुगर मिल्सले इन्भेष्मेन्ट बैंकबाट ७८ करोड ८० लाख रुपैयाँ कर्जा लिएको छ । बैंकबाट उद्योगले कर्जा लिन मिल्ने सीमा भने १ अर्ब ३ करोड ४० लाख रुपैयाँ रहेको छ । उद्योगले १ लाख ५२ हजार रुपैयाँ उखु किसानलाई बक्यौता भुक्तानी गर्न बाँकी छ ।

बैंक कर्जामार्फत् बक्यौता भुक्तानीको बाटो खोज्दै सरकार

चिनी उद्योगहरुको विरुद्धमा किसानहरुले गरेको गत वर्षको आन्दोलन सरकारले चिनी उद्योगीहरुसँग बक्यौता भुक्तानी गर्ने प्रतिबद्धता लिएपछि साम्य भएको थियो । तर उद्योगीहरुसँग लिएको प्रतिबद्धता १ वर्षसम्म पुरा गराउन सरकारले सकेको छैन ।

अहिले पुनः किसानले आन्दोलन चर्काएपछि सरकारले आफ्नोतर्फबाट किसानहरुलाई बक्यौता भुक्तानी गर्न छुट्टै तयारी थालेको छ । जसका लागि सरकारले मिलहरुको कारोबारको अवस्था उनीहरुले बैंक तथा वित्त कम्पनीबाट लिएको कर्जाको तथ्यांक वित्तीय अवस्था अध्ययनमा उद्योग मन्त्रालय, अर्थमन्त्रालय लागेको छ ।

किसानलाई सवा अर्ब रुपैयाँ भुक्तानी बक्यौता राखेका ८ वटा चिनी उद्योगले विभिन्न बैंकहरबाट ४ अर्ब २२ करोड ३७ लाख २४ हजार रुपैयाँ ऋण लिएका छन् ।

राष्ट्र बैंकले कोभिड-१९ प्रभावित क्षेत्रका पुराना ऋणीले चालु पुँजीको आधारमा २० प्रतिशतसम्म थप कर्जा लिन मिल्ने व्यवस्था गरेको छ । सोही व्यवस्था अनुसार उनीहरुलाई थप कर्जा दिन सक्ने अवस्थाको अध्ययनमा शुरु भएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।

‘उद्योगीले लिएको ऋण र ऋण लिदा राखेको धितोको मुल्यांकनको अवस्थाको विस्तृत अध्ययन अहिले शुरु गरिएको छ,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘उद्योगीले पहिले धितो मुल्यांकनभन्दा कम ऋण बैंकबाट लिएका रहेछन् भने त्यसैको सीमामा रहेर कर्जा थप गरी किसानलाई भुक्तानी गराउने भनेर अवस्थाबारे अध्ययन शुरु भएको हो ।’

अर्थमन्त्रालयबाटै राष्ट्र बैंकमा उद्योगीहरुको मुल्यांकन र ऋण विवरण र त्यसको हालसम्मको भुक्तानीको अवस्था अध्ययन गर्न निर्देशन आएको हुँदा केन्द्रीय बैंकले बैंकहरुमा आफ्ना चिनी एद्योगी ऋणीहरुको विवरण पठाउन भनिएको स्रोतले बतायो ।


पुष्प दुलाल