दशैंमा अपेक्षाभन्दा बढी खसी बोका बिक्री



काठमाडौं । कोरोना महामारीको समयमै नेपालीहरूको महान चाडपर्व दशैंको अवधिमा व्यावसायीहरूले अनुमान गरेभन्दा बढी खसी बोका बिक्री भएको छ ।

कोरोना महामारीले गर्दा मानिसले आर्थिक मन्दि झेलिरहेको र अधिकांश मानिस आफ्नो गृहजिल्ला फर्केकाले दशैंको माहोलमा साचेजस्तो खसी बोका बिक्रि नहुने अनुमान लगाएता पनि दशैंको माहोलमा अपेक्षाभन्दा बढी खसी बोका बिक्री भएको चौपाया खरिद बिक्री संघले जनाएको छ ।

संघले सामान्य अवस्थाको दशैंमा करिब ४८ हजारको हाराहारीमा खसी बोका बिक्रि गथ्र्यो । त्यस्तै गत वर्ष पनि संघका अनुसार करिब ४६ हजारदेखि ४८ हजारको हाराहारीका खसी बोका बिक्री गरेको थियो ।

यो वर्ष कोरोना महामारीको समयमा मानिसको उत्साह कम भएको भन्दै दशैंमा खसी बोका बिक्री कम हुने अनुमान लगाएका थिए ।  गत वर्षको तुलनामा करिब ३० देखि ४० प्रतिशतलले कमी हुने संघको अनुमान थियो ।

संघले यो वर्ष करिब ३२ हजार मात्रै बिक्री हुने र त्यही अनुसार खसी बोका ल्याउने तयारी गरेको थियो । तर, कोरोना महामारीकै समय भएता पनि संघले अनुमान गरेभन्दा ३ हजार बढीले बिक्री भएको संघका अध्यक्ष सन्तोष श्रेष्ठ बताउँछन् ।

उनका अनुसार यो वर्ष ३२ हजारभन्दा कम बिक्री हुने अनुमान गरेता पनि केही मात्राले बढेको बताए । त्यसैगरी, सरकारी कम्पनीले सस्तो मूल्यमा खसी बिक्री गरेको अवस्थामा व्यापारीले ल्याएको खसी बोका बिक्री नहुने भन्दै निराश बनेका थिए । तर, घटस्थापनापछि विस्तारै ग्राहक बढ्न थालेपछि व्यवसायी उत्साह बनेको उनको भनाइ छ । यसका साथै, बजारमा अनुमानभन्दा बढी बिक्री भएता पनि ग्राहकलाई अभाव भने हुन नदिएको उनको भनाइ छ ।

त्यस्तै, पशु सेवा विभागका महानिर्देशक डा. बंशी शर्माका अनुसार दशैंमा खसी बोका र च्याङ्ग्रा गरी करिब २५ हजार मात्रै बिक्री भएको बताए । उनका अनुसार आधिकारिक रुपमा २५ हजार मात्रै बिक्री भएको तथ्याङ्क आएता पनि व्यापारीहरूले विभिन्न तरिकाबाट बिक्री गर्ने भएकाले विभागमा बिक्री हुनेको यकिन तथ्याङ्क आउन नसकेको बताए ।

दशैंमा च्याङ्ग्राको अभाव

यो वर्ष च्याङ्ग्राको मूल्य निकै आकासिएको र अभाव देखिएसँगै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यकावासीका लागि च्याङ्ग्रा ल्याएनन् । तर, चौपाया व्यवसायीहरूले करिब २५ सयको हाराहारीमा च्याङ्ग्रा उपत्यकाका लागि भित्र्याएको थियो ।

उक्त भित्र्याएको च्याङ्ग्रा व्यापारीहरूले प्रति केजी एक हजार ५० मा बिक्री गरेको संघका अध्यक्ष खत्री बताउँछन् । उनका अनुसार मुस्ताङबाट ल्याउँदा नै करिब ९ सय ५० मा खरिद गरेर ल्याएको हुनाले यो वर्ष च्याङ्ग्राको मूल्यमा वृद्धि भएको बताए ।

साथै, व्यवसायीहरूले ल्याएको च्याङ्ग्राले उपत्यकामा नपुगेको उनको भनाइ छ । ‘कोरोनाको समयमा च्याङ्ग्राको अभाव भएको र उपत्यकामा च्याङ्ग्राको माग कम थियो,’ उनले भने, ‘तर, बजारमा दशैंको माहोलमा च्याङ्ग्राको माग निकै भएको थियो ।’ उक्त ल्याएको च्याङ्ग्राले उपत्यकाका सबै मानिसलाई पु¥याउन नसकेको उनको भनाइ छ ।


क्लिकमान्डु