सांग्रिला डेभलपमेन्ट बैंकमा वेथितिः फसेको ऋण उठाउन घरबेटीलाई ७६ लाख रुपैयाँ अग्रिम भाडा !



काठमाडौं । तपाईंको घरमा बैंकले आफ्नो कार्यालय राखेको छ भने तपाईंले भाडा कसरी पाउँदै आउनुभएको छ ?

जवाफ आउँछ- महिना मरेकै दिन ।

क्लोजिङको समय त बैंकहरुले महिना नवित्दै तपाईंको बैंक खातामा भाडा हाल्दिन्छन् । यही भएर घरबेटीहरु आफ्नो घर बैंकलाई भाडामा दिन चाहन्छन् ।

तपाईंको घरमा बसेको कुनैपनि बैंकले एकैपटक २/३ वर्षको अग्रिम भाडा तिरेको छ ? निश्चय पनि छैन ।

तर, सांग्रिला डेभलपमेन्ट बैंकले भने एउटा शाखा कार्यालय राखेको घरबेटीलाई भने एकैपटक ७६ लाख रुपैयाँ भाडा तिरेको छ ।

ती भाग्यमानी हुन् नयाँ बानेश्वरस्थित बैंकको शाखा कार्यालय रहेको घरकी घरबेटी लक्ष्मी खड्का । खड्कालाई २०७६ पुस २९ गते बैंकले एकैपटक अग्रिम घरभाडा भनेर ७५ लाख ९९ हजार १ सय ७४ रुपैयाँ भाडा तिरेको तथ्य क्लिकमाण्डूलाई प्राप्त भएको छ ।

बैंकले उक्त शाखालाई प्रतिमहिना २ लाख ७० हजार रुपैयाँका दरले भाडा तिर्दै आएको छ । यो पटक भने किन एकैपटक यतिठूलो रकम दियो ? यसका पछि केही रहस्यहरु छन् । जुन कुरा यो समाचारमा विस्तृतरुपमा उल्लेख गरिएको छ ।

ऋण नतिरेर डुबाउन खोज्ने घरबेटी खड्कालाई सांग्रिला डेभलपमेन्ट बैंकले एकैपटक ७६ लाख रुपैयाँ अग्रिम भाडा तिरेर सम्मान गरेको छ ।

लक्ष्मी खड्कालाई बैंकले २०७५ कात्तिक १३ गते लक्ष्मी श्रेष्ठ सञ्चालक रहेको आर एन सप्लायर्सलाई १९ करोड ९० लाख रुपैयाँ ऋण दिएको थियो ।

उक्त ऋणका लागि बत्तिसपुतलीको भित्र गल्लीमा रहेको साढे २५ आना धितो राखेको थियो । आनाको १ करोड ६५ लाख रुपैयाँका दरले धितो राखिएको उक्त जग्गाको कूल मूल्यांकन ३० करोड रुपैयाँ गरियो ।

बत्तिसपुतलीको भित्री गल्लीको जग्गाको बजार मूल्य नै आनाको १ करोड रुपैयाँ पर्दैन । बढी परे आनाको ५० देखि ७०/७५ लाख रुपैयाँ पर्छ ।

तर बैंकले कसरी १ करोड ६५ लाख रुपैयाँ मूल्यांकन गरेर यति ठूलो रकम ऋण दिइयो ? भनेर २०७६ मा राष्ट्र बैंकको स्थलगत निरीक्षणमा गएको राष्ट्र बैंकको टोलीले प्रश्न गर्यो ।

त्यतिमात्रै होइन, लक्ष्मी खड्काले सावाँब्याजको किस्ता पनि नतिरेको फेला पर्यो । राष्ट्र बैंकले उक्त ऋणमा प्रश्न उठाउँदै शतप्रतिशत प्रोभिजनिङ गर्न निर्देशन दियो ।

२० करोडको ऋण काण्डले सांग्रिला विकास बैंकमा लफडा, राष्ट्र बैंक झुक्याउन सीइओको चरम बदमासी

बैंकका सीइओ सुयोग श्रेष्ठलगायतले राष्ट्र बैंकका अधिकारीहरुलाई कन्भिन्स गर्न खोजे । तर, राष्ट्र बैंकका अधिकारीहरुले उनीहरुको अनुनयविनय ठाडै अस्वीकार गरिदिए ।

आफ्नो वार्षिक कुल नाफाभन्दा बढी प्रोभिजनिङ गर्नुपर्ने भएपछि बैंक व्यवस्थापनलानई यो ऋण कसरी सल्ट्याउने भन्ने कुराले टाउको दुखायो ।

राष्ट्र बैंकले उक्त ऋणमा प्रोभिजनिङ गर्न निर्देशन दिएपछि बैंकका सीइओ राष्ट्र बैंकको निर्देशनअनुसार प्राभिजनिङ गरेर आफ्नो गल्ती सच्याउन लाग्नु पर्ने हो ।

तर सांग्रिलाका सीइओ श्रेष्ठले आफैंले हस्ताक्षर गरेर दिएको ऋण उठाउनतिर लागेनन् । कम्प्लाइन्समा कम्प्रमाइज नगर्ने र दायाँबायाँ नगर्ने छवि बनाएका सीइओ श्रेष्ठ सानो लोभले गर्दा यो मुद्दामा नराम्रोसँग फसे ।

राष्ट्र बैंकको आँखा छल्न सेटिङमा थप गलत काम गर्न थाले । जसले बैंकलाई झन् झन् बढी जोखिममा धकेलेको छ । वित्तीय विवरणमा नक्कली नाफा देखिए पनि भित्रभित्रै बैंक भने खोक्रो बन्दै गएको छ ।

प्रोभिजनिङ गर्दा नाफामा गंभीर असर पर्ने भएपछि सीइओ श्रेष्ठले सेटिङ मिलाएर राष्ट्र बैंक झुक्याउनतिर लागे ।

लक्ष्मी खड्काले धितो रहेको उक्त जग्गा दिलकुमार श्रेष्ठलाई बिक्री गरिन् ।

ऋण लिँदाको बखत नै बैंकले धितो बन्धक रहेको सम्पत्ति मालपोतमा रोक्का गरेको हुन्छ । उक्त ऋण नतिरेसम्म बैंकले रोक्का गरिएको सम्पत्ति फुक्का गर्दैन ।

तर रोक्का रहेको सम्पत्ति लक्ष्मी खड्काले बैंक व्यवस्थापनसँगको मिलेमतोमा श्रेष्ठलाई बिक्री गरेको देखिन्छ । यो सबै कुराको चाँजोपाँचो मिलाउनका लागि पुस मसान्तमा सावाँब्याज तिर्न बैंकले ऋणी खड्कालाई अग्रिम घरभाडास्वरुप ७६ लाख रुपैयाँ दिएको तथ्यहरुले उजागर गर्छ ।

सर्वसाधारण लगानीकर्ता र निक्षेपकर्ताको रकममा बैंक व्यवस्थापनले आफूलाई जे मन लाग्यो त्यही गर्न नमिल्नु पर्ने हो । तर, सांग्रिलाका सीइओ श्रेष्ठले गरिदिए ।

दिलकमाुर श्रेष्ठको सेक्युुर्ड हस्पिटालिटीले २०७६ पुस मसान्त अर्थात् पुस २९ गते बत्तिसपुतलीको सोही जग्गा धितो राखेर सांग्रिला डेभलपमेन्ट बैंकबाटै २० करोड रुपैयाँ ऋण निकालेको छ ।

यहाँनेर गंभीर कुरा के छ भने १९ करोड ९० लाख रुपैयाँ ऋण दिनका लागि फाइल उठाउने कर्मचारीलाई कारबाही गरेको बैंक उच्च व्यवस्थापनले सोही धितोमा २० करोडको ऋण स्वीकृत गर्यो । र, डुबेको ऋणलाई नयाँ ऋण बनाई वित्तीय विवरण नकरात्मक आउनबाट जोगायो । यो भनेको एउटा गल्ती छोप्न गरिएको अर्को महागल्ती हो ।

ऋण लिएकै दिनदेखि दिलकुमार श्रेष्ठले पनि बैंकलाई सावाँब्याजको किस्ता तिरेनन् । तर किस्ता नतिर्ने श्रेष्ठलाई बैंकले ०७७ असार २९ गते थप ९८ लाख रुपैयाँ ऋण दिएर इभरग्रिनिङ गरेको छ ।

आम लगानीर्ता, सञ्चालक समिति र नियामक राष्ट्र बैंकको आँखा छल्न बैंक व्यवस्थापनले यो हदसम्मको हर्कतको समाचार क्लिकमाण्डूले सम्प्रेशण गरेपछि सरोकारवाला निकायहरुको गंभीर ध्यानाकर्षण भएको छ ।

‘बैंकबारे मिडियामा समाचारहरु आएपछि हामीले गंभीररुपमा लिएका छौं,’ राष्ट्र बैंक स्रोतले क्लिकमाण्डूसँग भन्यो, ‘हामीले छानविन प्रक्रिया अघि बढाएका छौं । गल्ती गर्ने उम्किँदैनन् ।’

प्रत्येक वर्ष विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपालको बैंकिङ क्षेत्रमा इभरग्रिनिङको समस्या रहेको भन्दै राष्ट्र बैंकमाथि नै प्रश्न उठाउँदै आएको छ ।

चार्टर्ड एकाउन्टेन्टसमेत रहेका र उच्च नैतिकवान महाप्रसाद अधिकारी राष्ट्र बैंकको गभर्नर छन् । यस्तो गंभीर विषयमा निश्चयपनि गभर्नर अधिकारीको ध्यानाकर्षण हुनेछ ।

राष्ट्र बैंकको कम्पाउन्ड जोडिएको घरमा कार्यालय राखेर यो हदसम्मको हर्कत गरेर भित्रभित्रै बैंकलाई खोक्रो बनाउने बैंक व्यवस्थापनलाई कस्तो कारबाही होला त्यो भने हेर्न बाँकी नै छ ।


पुष्प दुलाल