टीभीएस मोटरसाइकलको व्यवसायिक उत्पादन नेपालमा शुरू, मूल्य कति सस्तो ?



काठमाडौं । टीभीएस मोटरसाइकलको नेपालमा व्यवसायिक रुपमा एसेम्बल शुरु भएको छ ।

व्यवसायिक घराना शंकर ग्रुप अन्तर्गत जगदम्बा मोटर्सले बुधबारदेखि नेपालमा टीभीएस मोटरसाइकलको एसेम्बल शुरू गरेको हो ।

टीभीएस मोटरसाइकल अब नेपालमै बन्ने

‘दुई महिनाको परीक्षण उत्पादनपछि बुधबारदेखि मोटरसाइकलको व्यवसायिकरुपमा नै एसेम्बल शुरू भएको छ, पहिलो चरणमा टीभीएसको अपाचे-१६० उत्पादन शुरु  गरेको हो,’ शंकर ग्रुपका प्रवन्ध निर्देशक साहिल अग्रवालले क्लिकमाण्डूसँग भने । बुधबारदेखि नेपालमा एसेम्बल भएको मोडलको मोटरसाइकल बजारमा जानेछ ।

नेपालमै बन्न थाल्यो टीभीएस मोटरसाइकल, मूल्य कति सस्तो पर्छ ? (फोटो फिचरसहित)

कम्पनीले एक वर्षभित्रमा टीभीएसको मोटरसाइकल र स्कुटर र तीन पाङ्ग्रे रिक्साको एसेम्बल समेत यही गर्नेछ ।

कम्पनीको बाराको सिमरामा टीभीएसको एसेम्बल हुन्छ । यसका लागि अहिलेसम्म करिब १ अर्ब रुपैयाँको लगानी भएको छ ।

‘नेपालमा उत्पादन भए पनि मूल्यमा उपभोक्तालाई खासै ठूलो परिवर्तन हुने छैन, अटो इण्डष्ट्रीमा एसेम्बल पहिलो चरण हो, यो सफल भएमा यहाँ थप उद्योग लगाउन सकिन्छ भने उपभोक्तालाई मूल्य समेत सस्तो पर्छ,’ अग्रवालले क्लिकमाण्डूसँग भने ।

अटोमोबाइल्स सेक्टरमा शुरुवात एसेम्बलबाट नै हुने गर्छ । सरकारले प्रोत्साहनका नीति लिएमा पार्टपुर्जा समेत यहाँ नै उत्पादन हुन्छ । यसका लागि सरकारले सहुलियतको नीति लिनुपर्ने अग्रवाल बताउँछन् । अर्को वर्षदेखि टायर तथा अन्य पार्टपुर्जा समेत उत्पादन गर्ने लक्ष्य कम्पनीले लिएको छ ।

अहिले एसेम्बल उद्योगमा एक सयजनाले प्रत्यक्ष रोजगारी पाएका छन् । आउने दिनमा ५ सय जनाले प्रत्यक्ष रोजगारी एसेम्बल उद्योगले दिनेछ ।

कम्पनीमा वर्षमा १ लाख मोटरसाइकल तथा स्कुटर तथा २० हजार तीन पाङ्ग्रे रिक्साको उत्पादन गर्ने लक्ष्य राखेको छ ।

नेपालमा दुई पाङ्ग्रे मोटरसाइकल र स्कुटरको ठूलो बजार छ । यसअघि बजाज मोटरसाइकलको नेपालको बिक्रेता गोल्छा ग्रुपले नेपालमा बजाजको मोटरसाइकलको एसेम्बल गरिसकेको छ । अहिले बजाजको अधिकांश मोडल नेपालमा नै एसेम्बल हुन्छ ।


क्लिकमान्डु