नेपालमै बन्न थाल्यो टीभीएस मोटरसाइकल, मूल्य कति सस्तो पर्छ ? (फोटो फिचरसहित)



काठमाडौं ।  नेपालमा आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले टीभीएस मोटरसाइकल र स्कुटरको एसेम्बल शुरु गरेको हो ।

व्यवसायिक घराना शंकर ग्रुप अन्तर्गतको कम्पनी जगदम्बा मोटर्सले मोटरसाइकल, स्कुटर र तीन पाङ्ग्रे रिक्साको उत्पादन शुरु गरेको छ ।

करिब १ अर्ब रुपैयाँ लगानीमा नेपालमा टिभिएस ब्राण्डको मोटरसाइकल, स्कुटर र रिक्साको एसेम्बल शुरु गरिएको शंकर ग्रुपका प्रवन्ध निर्देशक शाहिल अग्रवालले बताए ।

‘अहिले परिक्षण उत्पादन भइरहेको छ, साउनदेखि व्यवसायिकरुपमा उत्पादन सुरु हुन्छ,’ अग्रवालले क्लिकमाण्डूसँग भने ।

बाराको सिमरामा रहेको प्लान्टमा टीभीएस मोटरसाइकल, स्कुटर र रिक्साको एसेम्बल हुन्छ ।

टीभीएस मोटरसाइकल अब नेपालमै बन्ने

‘२ वर्षदेखि टीभीएसको उत्पादन यही शुरु गर्न प्लान्ट लगाउने योजना अहिले पुरा भएको छ, साउनदेखि पूर्णरुपमा उत्पादन सुरु हुन्छ,’ अग्रवालले भने ।

वर्षमा १ लाख मोटरसाइकल र स्कुटर तथा २० हजार तीन पाङ्ग्रे रिक्सा उत्पादन गर्ने क्षमता प्लान्टमा रहेको अग्रवालले जानकारी दिए ।

नेपालमै एसेम्बल भएपनि मूल्यमा भने केहीपनि परिवर्तन आउने छैन ।

‘सरकारले एलेम्बल उद्योगलाई कुनै सहुलियत नदिएको कारण अहिले मूल्यमा केही परिवर्तन हुँदैन, नेपालमा नै एसेम्बल गर्ने सुरुवात गरेका छौं सरकारले सहुलियत दिएमा मूल्य पनि घट्ने छ,’ अग्रवालले थपे ।

बजेटले २ पाङ्ग्रे मोटरसाइकल र स्कुटीको लागि केही सम्बोधन नगरेपनि विद्युतीय माध्यमबाट चल्ने तीन पाङ्ग्रेमा सम्बोधन भने गरेको छ । यद्यपी उत्पादन भएपनि अन्तशुल्क लाग्ने हुँदा २ देखि ३ प्रतिशतमात्र तीन पाङ्ग्रे रिक्सा आयात गरेकोभन्दा सस्तो हुने दाबी अग्रवालको छ ।

‘नेपालमा अटोमोबाइल्समा एसेम्बललिङ उद्योग सुरुवाती चरणमा रहेको छ, हामीसँग प्रविधि छैन सिक्दै गएपछि पाटपूर्जा उत्पादन समेत यही हुन्छ,’ अग्रवालले भने ।

नेपालमा यसअघि बजाज मोटरसाइकलले पनि यही उत्पादन शुरु गरिसकेको छ । बजाजका अधिकाशं मोडलका मोटरसाइकल यही नै एसेम्बल हुन्छन् ।

टीभीएस मोटरसाइकलको एसेम्बल उद्योगमा अहिले एक सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

‘भारतमा पनि अटोमोबाइल्स उद्योगको विकास एसेम्बल उद्योगबाटै भएको हो, डिमाण्ड बढेपछि पुर्जाको उत्पादन हुन्छ त्यसपछि पूर्णरुपमा यही उत्पादन गर्न सकिन्छ,’अग्रवालले भने ।

कम्पनीले अहिले सुरुवाती चरणमा महिनामा ४ देखि ५ हजारसम्म मोटरसाइकल र स्कुटर तथा ३ देखि ४ सयसम्म तीन पांग्रे रिक्सा उत्पादन गर्ने छ । 

 


पुष्प दुलाल