अर्थमन्त्रीमा डा युवराज खतिवडाले नै निरन्तरता पाउने प्रधानमन्त्री ओलीको संकेत



काठमाडौं । अर्थमन्त्रीमा डा युवराज खतिवडाले नै निरन्तरता पाउने संकेत प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् । शनिबार प्राइम टेलिभिजनमा पत्रकार ऋषी धमलालाई दिएको अन्तर्वार्ताका क्रममा प्रधानमन्त्री ओलीले खतिवडाले राम्रो काम गरेको भन्दै उनले नै अर्थमन्त्री पदमा निरन्तरता पाउने बताए ।

‘२-४ दिन हेरौँ न, २० गते आएपछि निर्णय हुन्छ, अहिले भविष्यबाणी गर्नु त्यति उचित हुँदैन,’ प्रधानमन्त्री ओलीले अन्तर्वार्ताको क्रममा भने ।

उनले राम्रो काम नभएमा अर्थमन्त्री फेर्न सकिए पनि अर्थमन्त्रीको अहिलेसम्मको काम राम्रो भएको बताए ।

अर्थमन्त्री खतिवडा भदौ २० गतेसम्ममा संसद्को सदस्य नभएमा उनको मन्त्री पद स्वत: जाने छ । राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने एकसिट अहिले खाली छ ।

जुन सिटबाट नै खतिवडाले प्रतिनिधित्व गरेका थिए । २ वर्षे कार्यकाल फागुनमा सकिएपनि खतिवडाले मन्त्रीपदबाट राजीनामा दिएर पुनः मन्त्रीको सपथ लिएका थिए ।

पार्टी राजनीति नगरेका खतिवडा ओली सरकारको प्रमुख खम्बा नै हुन् । उनले अहिले अर्थ तथा संचार मन्त्रालयको जिम्मेवारी सम्मालेका छन् । भदौ २० मा उनको राष्ट्रियसभामा मनोनित भएमा खतिवडा ओली सरकारको कार्यकालभर नै अर्थमन्त्रीमा रहने देखिन्छ ।

पार्टीभित्र भने खतिवडाको नाममा विवाद छ । फागुनमा नै भएको नेकपाको स्थायी समितिको बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा लग्ने सहमति गरेको थियो । जसको कार्यान्वयन भने प्रधानमन्त्री ओलीले गरेनन् । राष्ट्रपतिले गर्ने नियुक्ति मन्त्रीपरिषद्को सिफारिसमा गर्नुपर्छ ।


क्लिकमान्डु