कोरोनासँगै आर्थिक स्वास्थ्यको पनि ख्याल राखौंः नीरव पुडासैनीको लेख



लाज लाग्दैन सरकार ? लाज लाग्ने वा मान्ने कुरा होइन । यो त ढाक्ने, एकपछि अर्को गर्दै ढाँट्दै, ढाक्दै भ्रमित गर्ने कुरा हो । लाज लाग्नु नै पर्ने भए मलाई लाग्नु पर्ने हो । दैनिक लाज ढाकिरहेको देख्दादेख्दै लाज लाग्दैन भनेर प्रश्न गर्ने मलाई लाज लाग्नु पर्ने हो ।

लाज लागेर वा लाज मानेर पनि निर्वाह हुन्न रहेछ । होस पनि कसरी ? दैनिक जसो नाङ्गो सरकारलाई हेर्ने बानी जो परेको छ । कुन्नी के गर्नेलाई भन्दा देख्नेलाई लाज भन्ने लोकोक्ति प्रचलित छ हाम्रो नेपालमा ।

तसर्थ लाज मानेर लाजलाई लज्जित गर्ने पक्षमा म छैन । सरकारले लुकाएको लाजको पुलिन्दा खोल्ने पक्षमा पनि म छैन । तर अर्थतन्त्रका सवालमा बुझ पचाएको किमार्थ स्वीकार्य हुन्न । नेपालको करिब ३२/३३ लाख हेक्टर खेतियोग्य जमिनलाई लाजको टालो ओढोएर हाम्रो सरकार करिब डेढ खर्बभन्दा बढी मूल्य बराबरको प्रमुख कृषिजन्य वस्तुहरु आयात गर्छ ।

यही कृषि उपजको आयातमा संकलित करको पैसा खर्च गरेर गोष्ठी, सेमिनार आयोजना गर्दै कृषिमा आत्मनिर्भरताको गफ हान्छ । कृषिमा आयातमूखी राष्ट्रका रुपमा हामीले चिनिने समय अब धेरै पर छैन । तसर्थ सरकार बधाईको पात्र भएको छ भन्दा अन्यथा नहोला ।

सुनिँदै छ, सम्मानीय प्रधामन्त्रीले प्रेस्क्राइभ गरेको घरेलु औषधि बेसार र अदुवा पनि विदेश त्यो पनि धेरै सुदुरको ठाउँ (इथोपिया)बाट आयात हुँदैछ रे । हो, यसैकारण सरकार बधाईको पात्र भएको छ ।

लाज ढाक्ने मामलामा सरकार प्रथम भएको छ । खर्बौ मूल्यको दलहन, चामल, मसला र (हेक्का रहोस्) बेसारलगायतका कृषि उपज आयात गरेर यो वैश्विक महामारीबीच पनि विप्रेषण (रेमिट्यान्स) घटेको छैन भनेर सरकार मखलेल परेर बसेको देख्दा टिँठ लाग्छ ।

यस्तो देख्दा वैश्विक महामारीले निम्त्याउने आर्थिक संकटलाई व्यवस्था गर्न सरकारले केही गर्छ भनेर कसरी ढुक्क हुने ?

विगतका दिनहरुमा पनि करिब ३५ प्रतिशत रकम हुण्डिलगायतका अनौपचारिक क्षेत्रबाट आउने कुरा सर्वविदितै छ । तसर्थ यो कहरको कारण हुण्डिको कारोबार ठप्प छ । यही कारण उक्त माध्यमबाट नेपाल आउने विदेशी मुद्रा औपचारिक बैंक तथा रेमिट्यान्स कम्पनीमार्फत् आएको हुँदा महामारीको बावजुद विप्रेषणमा कमी नदेखिएको भन्ने कुरा सम्बन्धितलाई कस्ले बुझाइ दिने ? यतिभन्दा भन्दै पनि नेपालको अहिलेसम्मको आर्थिक सूचकहरु हेर्दा अवस्था त्यति भयाभय छैन ।

तर यसको अर्थ विश्व आर्थिकरुपले संकटमा पर्न शुरु भइरहेको अवस्थामा हामीले यही सूचकका आधारमा सुरक्षित छौं भन्नु गलत हुन्छ । भुक्तानी सन्तुलन राम्रो हुनु तत्कालका लागि राम्रो हो तर यसको निरन्तरता मुख्य हो ।

त्यस्तै, विदेशी मुद्राको सञ्चिती राम्रो हुनु निसन्देह अर्थतन्त्रको हिसाबले उचित हो तर यो किन र कसरी वृद्धि भयो भन्ने कुरा मुख्य हो ।

आयात कम छ, कारोबारहरु न्यून छन् तसर्थ आयातमुखी अर्थतन्त्रमा यो हुनु नौलो होइन । यससँगै विप्रेषण पनि हुण्डी कम भएकाले बढेको देखिन्छ । यही कारण विदेशी सञ्चित मुद्रामा वृद्धि भएको हो । यो कुनै चमत्कार होइन र यही आधारमा हामी सुरक्षित छौं भन्ने कारण छैन ।

विगत केही महिनादेखि बजार ठप्प छ । कारोबार शुन्यप्रायः छ । उत्पादनका गतिविधिहरु न्यून छन् । उपभोक्ता आत्मविश्वासमा कुहिरो लागेको छ । निराश छन् तसर्थ उपयोग संकुचित भएको छ । अत्यावश्यकभन्दा इतरका वस्तुमा उपभोक्ता इच्छुक छैनन् । यसको फलस्वरुप रोजगारीका दायराहरु संकुचित भइरहेको छ । साथै भएका रोजगारीहरु पनि गुम्ने खतरा छ ।

उल्लेखित गरिएको जस्तै अघिल्लो आर्थिक वर्षका केही महिना र यस आर्थिक वर्षको शुरुवातदेखि बन्दाबन्दीको स्थिती छ । फलस्वरुप अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्नु स्वभाविक हो । तर अहिले नै कति र कुन हिसाबले असर पर्छ भनेर अन्दाज गर्नु व्यर्थ हुन्छ ।

तथापि यती भन्न सकिन्छ विगत ५ महिनादेखि जारी बन्दाबन्दीको प्रभावले उक्त समयभन्दा केही गुणा बढी देशको समग्र अर्थव्यवस्थामा नकारात्मक प्रभाव पर्छ । आर्थिक कारोबारका हिसाबले सबैभन्दा धेरै कारोबार हुने समय चाडवाड नै हो । तर यही अवधिका लागि व्यापारमा यस वर्ष केही तयारी गर्न सक्ने अवस्था छैन । यसैबाट भोलिका दिनहरुको आँकलन गरौं ।

देशको आर्थिक स्वास्थ्य सुधारका लागि अन्य क्षेत्रको बजेट कटौती गरेर भए पनि रोजगारी सृर्जना हुने आयोजनाहरुलाई बढीभन्दा बढी प्राथमिकतामा राख्नु उत्तम हुन्छ । रोजगारी सृर्जना हुने क्षेत्र र योजनाहरुमा राजनीति गर्न छोड्नु देशको आर्थिक स्वास्थ्य सुधारका लागि यसबेला एन्टिबायोटिक सावित हुनेछ ।

त्यस्तै, केन्द्रीय बैंकको मौद्रिक नीतिले मन्दी व्यवस्थापन गर्न र अर्थतन्त्रलाई सुधार (रिकभरी) उन्मुख गर्न महत्वपूर्ण भूमिका खेल्छ । तर चरम आर्थिक मन्दी आइसकेपछि यसले कुनै उल्लेख्य भूमिका देखाउन सक्दैन । हाम्रो मौद्रिक नीतिले हेलिकप्टर मनीको अवधारणा ल्याउन सक्दैन ।

तसर्थ यसले चरममन्दीलाई व्यवस्थापन गर्न सक्दैन । तथापि विभिन्न वित्तीय प्रोत्साहनहरुले बलियोसँग अर्थतन्त्रलाई सुधार गर्न थप मलजल प्रदान गर्न गर्छ । तर ठूलो मात्रामा सार्वजनिक ऋण भएका राष्ट्रहरुलाई यसले त्यति सहयोग नगर्ला । तसर्थ ऋणको भारमा रहेको नेपालले यसलाई सुधारोन्मुख उपयोग गर्न नसक्ला ।

तथापि ब्याजको ऋण तुलनात्मकरुपमा घटाउन भने सक्नुपर्छ । जुन अहिले साना तथा रिटेल ऋणीहरुले महसुस गरेको स्थिती छैन । आम लगानीकर्ताहरु आर्थिक संकटको आभाससँगै आफ्ना लगानीका दायराहरुलाई संकुचित गर्दै आफ्नो धेरै लगानी सेफ हेभन क्षेत्रमा लगानी गर्न आकर्षित हुन्छन् ।

जसको अर्थ सुरक्षित लगानीस्वरुप सुन, घरजग्गा, सरकारी ऋणपत्रआदिमा लगानी गर्छन् । हालैको सुनको मूल्यले यसलाई प्रमाणित गर्छ । विश्वभरका लगानीकर्ताहरु विश्व आर्थिक मन्दीको त्रासका कारण सुनतर्फ आकर्षित भएको प्रष्ट देखिन्छ ।

तर आर्थिक संकट बढ्दै जाँदा उनीहरु त्यही सेफ हेभन लगानीलाई सुरक्षित गर्नतर्फ उद्दत हुन्छन् । जुन अत्यन्तै प्रतिउत्पादक हुनसक्छ । विकराल आर्थिक मन्दीका कारण लगानीकर्ताहरु आफ्नो सुरक्षित भनिएको सम्पत्तिलाई तरल अवस्थामा राख्न आकर्षित हुन्छन् ।

यो एउटा आम मनोविज्ञान हो । तर यो स्थिती सम्पूर्ण अर्थतन्त्र तथा वित्तीय क्षेत्रका लागि प्रतिउत्पादक हुन्छ । यसले धितोकरण गरिएको अन्य सम्पत्तिहरुको मूल्यलाई अवमूल्यन गरिदिन्छ । जसका आधारमा बैंक तथा वित्तीय संस्थाहरुले ऋण प्रवाह गरेको हुन्छन् ।

यसरी त्रासका कारण लगानीकर्ताहरुले सुरक्षित भनिएको सम्पत्ति कम मूल्यमा बेच्न गर्न थालियो भने बैंक तथा वित्तीय संस्थालाई संकटमा पार्छ ।

तसर्थ सम्पत्तिको मूल्यमा गिरावट आउने गरी कारोबार नगरौं । सेयर बजार वा अन्य पुँजी क्षेत्रका कुरा गर्दा यो समय धैर्यका साथ आफ्ना सुरक्षित सेफ हेभन लगानीलाई समय दिने हो ।

चौटा खान गएकी बुढी झोलमा डुबेर मरी भन्ने कथन सावित हुनबाट बचौं ।


पुष्प दुलाल