हवाई उडान सम्बन्धि मापदण्ड तयार, यस्तो छ आन्तरिक उडानका लागि नियम



काठमाडौं । हवाई उडान गर्ने सरकारले निर्णय गरेपछि पर्यटन मन्त्रालयले हवाई उडान सम्बन्धि मापदण्ड तयार पारेको छ ।

सरकारले भदौ १ गतेदेखि आन्तरिक र बाह्य उडान गर्ने निर्णय गरेसँगै त्यसका लागि मापदण्ड बनाउन पर्यटन मन्त्रालयलाई निर्देशन दिएको थियो ।

मन्त्रालयले तयार पारेको ‘सीमित नियमित हवाई सम्बन्धि मापदण्ड– २०७७’मा आन्तरिक उडानको हकमा मापदण्ड पालना नगरी यात्रु ल्याएमा वायुसेवा कम्पनीलाई कारबाही गरिने उल्लेख छ ।

मापदण्डमा यात्रु विमानस्थलमा प्रवेश गर्नुपूर्व र विमानमा यात्रु चढाउनु पूर्व अनिवार्य रुपमा तापक्रम मापन गर्नुपर्नेछ ।

त्यसैगरी सबै यात्रुले अनिवार्यरुपमा हवाई यात्राभर मास्क र फेस शिल्ड लगाउनु पर्ने, विमान चढ्नुअघि र समय समयमा सबै यात्रुलाई हेन्ड सेनिटाइजर प्रयोग गराउने, सामाजिक दूरी कायम गरी यात्रु चेकइन र यात्रु चढाउने र उतार्ने व्यवस्था मिलाउनु पर्ने उल्लेख छ ।

त्यसैगरी तोकिए बमोजिम सम्पूर्ण प्रक्रिया पुगेको निश्चित गरेर मात्रै वायुसेवाले बोर्डिङ पास जारी गर्नुपर्ने छ भने कुनै एयरलाइन्सले कारणवश माथि उल्लेखित सर्त पूरा नभएका यात्रुलाई ल्याएमा वायुसेवालाई कारबाही गरिने मापदण्डमा उल्लेख छ ।

आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा सहभागी हुने कुनै पनि यात्रुको तापक्रम जाँच गर्दा असामान्य देखिएमा निजलाई तत्कालै आइसोलेसनमा पठाइ निर्धारित प्रक्रिया अवलम्बन गरिने उल्लेख छ ।

हवाई उडान सम्बन्धी मापदण्ड तयार, विदेशबाट आउने नेपालीलाई यस्तो छ नियम

मापदण्डमा अन्तर्राष्ट्रिय र आन्तरिक उडानका सन्दर्भमा माथि उल्लेख भएका व्यवस्था सहितका यस सम्बन्धि थप मापदण्ड नेपाल नागरिक उड्डयन प्राधिकरणले सम्बन्धित हवाई उडान शुरु हुने विमानस्थलको मापदण्ड एवम् सम्बन्धित वायुसेवाले निर्धारण गरे बमोजिम हुने मापदण्डमा उल्लेख छ ।

त्यसैगरी मापदण्डको अन्तिम बुँदामा जुनसुकै बेला स्थगित हुन सक्ने जनाएको छ ।

‘देशमा कोभिड १९ को संक्रमणको अवस्था बढ्दै गएमा सीसीएमसीको सिफारिसमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट पूर्व सूचना दिएर वा नदिएर जुनसुकै बेला सीमित व्यवसायिक उडान स्थगित हुन सक्नेछ,’ मापदण्डमा उल्लेख छ ।

उक्त मापदण्डमाथि बिहीबार पर्यटन, परराष्ट्र, गृह र स्वास्थ्य मन्त्रालयका मन्त्री, सचिव तथा विभागीय प्रमुखहरुले छलफल गरेका थिए ।


क्लिकमान्डु