हवाई उडान सम्बन्धी मापदण्ड तयार, विदेशबाट आउने नेपालीलाई यस्तो छ नियम



काठमाडौं । हवाई उडान गर्ने सरकारले निर्णय गरेपछि पर्यटन मन्त्रालयले हवाई उडान सम्बन्धि मापदण्ड तयार पारेको छ ।

सरकारले भदौ १ गतेदेखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्ने निर्णय गरेसँगै त्यसका लागि मापदण्ड बनाउन पर्यटन मन्त्रालयलाई निर्देशन दिएको थियो ।

त्यसपछि मन्त्रालयले ‘सीमित नियमित हवाई सम्बन्धि मापदण्ड-२०७७’ तयार पारेको हो । उक्त मापदण्डमाथि बिहीबार पर्यटन, परराष्ट्र, गृह र स्वास्थ्य मन्त्रालयका मन्त्री, सचिव तथा विभागीय प्रमुखहरुले छलफल गरेका थिए ।

जसमा गृह मन्त्रालयले तत्कालका लागि विदेशीलाई ‘अन अराइभल भिसा’ नदिने प्रस्ताव गरेको थियो । अहिले पनि बन्द रहेको अन अराभइल भिसालाई कायम राख्ने प्रस्ताव गृह मन्त्रालयले गरेको थियो ।

बैठकमा काठमाडौं उपत्यकामा कोरोना भाइरसको जोखिम बढेको अवस्थामा भदौ १ गतेदेखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान कसरी गर्ने भन्ने विषयमा छलफल भएको थियो ।

पर्यटन मन्त्रालयले तयार पारेको मापदण्डमा नेपाली नागरिक नेपाल आउन चाहेको अवस्थामा पीसीआर रिपोर्ट नेगेटिभ भएको प्रमाणपत्र अनिवार्य गरिएको छ ।

आफू रहेको मुलुकको मान्यताप्राप्त ल्यावोरेटरी/स्वास्थ्य संस्थाबाट स्वास्थ्य चेकजाँचको नेपाली/अंग्रेजी भाषामा भएको वा अनुवाद गरेको प्रतिवेदन साथमा लिइ आउनु पर्ने मापदण्डमा उल्लेख छ ।

हवाई उडान सम्बन्धि मापदण्ड तयार, यस्तो छ आन्तरिक उडानका लागि नियम

जसमा सम्बन्धित यात्रुको नाम, लिंग, उमेर र सम्भव भएसम्म पासपोर्ट नम्बर, यात्रा गर्ने समयसम्म भन्दा बढीमा ७२ घण्टाभित्र आरटी पीसीआर परीक्षणको नतिजा नेगेटिभ रहेको र परीक्षण भएको ल्यावोरेटोरी÷हेल्थ इन्स्टिच्युसनको नाम, ठेगाा र स्वास्थ्य परीक्षण गर्ने प्राविधिक कर्मचारीको स्पष्ट विवरण खुलेको हुनुपर्ने उल्लेख गरिएको छ ।

त्यसैगरी नेपाल आउनु पूर्व सम्भव भएसम्म अडान गर्नु अघि नै ccmc.gov.np वेबसाइटमा रहेको फारम अनलाइन भरेको हुनुपर्ने । कुनै कारणवश यात्रा गर्नु अघि अनलाइन विवरण भर्न नसकेको अवस्थामा विमानमा वा विमानस्थलमा रहेको हेल्थ डिक्लियरेसन फारम भरी बुझाउनु पर्ने उल्लेख छ ।

नेपाल आएसकेपछि शुरुको ७ दिन होटल क्वारेन्टिनमा र १४ दिन होम क्वारेन्टिमा बस्नुपर्नेछ र होटल क्वारेन्टिमा बस्ना पीसीआरमा नतिजा नेगेटिभ आएपछि मात्रै होम क्वारेन्टिमा जान पाइनेछ । होटलमा बस्ने खर्च यात्रु आफूले बेहोर्नु पर्नेछ । त्यसैगरी होम क्वारेन्टिमा बस्नुपूर्व र क्वारेन्टिन अवधि सकिएपछि विवरण अनिवार्यरुपमा स्थानीय तह/एसीसीएमसीलाई जानकारी गराउनु पर्नेछ ।

त्यसैगरी यात्रा शुरु हुने मुलुकमा आरटी पीसीआर टेस्ट उपलब्ध नभएको खण्डमा उक्त मुलुकसँग प्रमाणीकरण/सह-प्रमाणिकरण भएको नेपाली नियोगको सिफारिस आवश्यक पर्ने मापदण्डमा उल्लेख छ ।

यात्रुहरुले कम्तीमा ७ दिनका लागि होटल बुक गरेको प्रमाण यकिन गरेर मात्र सम्बन्धित वायुसेवाले बोर्डिङ पास जारी गर्नुपर्नेछ ।

त्यसैगरी प्रक्रिया पूरा गरी नेपाल प्रवेश गरेका यात्रुहरुको राहदानी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन डेस्कले संकलन गरी अध्यागमन विभागमा बुझाउनु पर्नेछ ।

पर्यटन मन्त्रालयले तयार पारेको मापदण्डबारे अहिले छलफल भइरहेको छ । पर्यटन सचिव केदारबहादुर अधिकारीका अनुसार सम्भवतः आइतबारसम्ममा पारित हुनेछ ।

‘अहिले मापदण्डबारे छलफल गरिरहेका छौं, बिहीबार पनि यस विषयमा छलफल भयो, सम्भवतः आइतबारसम्म निर्णय हुनेछ,’ उनले भने ।


क्लिकमान्डु